Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अर्थतन्त्रमा कारोना प्रभाव : सरकारले ल्यायो पुनर्स्थापना योजना

२०७६ चैत्र ७ गते

अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना प्रभावित अर्थतन्त्र पुनर्स्थापना योजना अघि सारेका छन्। आपूर्ति शृंखलाको अवरोध, पर्यटन र वैदेशिक रोजगारमा परेको असरको मार खेपिरहेको नेपाली अर्थतन्त्र छिट्टै पुनस्र्र्र्थापना गर्न सकिने उनले बताए।

पर्यटन उद्योगलाई राहत दिने तथा वैदेशिक रोजगारको असर न्यूनीकरण गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमबाट बढी अवसर सिर्जना गर्ने तथा कल्याणकारी कोष परिचालन गरिने उनले बताए। यसका अतिरिक्त बैंक तथा वित्तीय संस्थामार्फत कर्जा परिचालन गरी अर्थतन्त्रलाई सही ट्र्याकमा ल्याउन सकिने विश्वास व्यक्त गरे।

वैदेशिक रोजगारबाट फर्किने श्रमिकका हितमा कल्याणकारी कोषको रकम परिचालन गर्ने अर्थमन्त्री खतिवडाले जानकारी दिए। उनले त्यस्ता श्रमिकलाई स्वदेशमा रोजगार दिन प्रधानमन्त्री रोजगार कार्यक्रममा अवसर प्रदान गर्ने बताए।

उनले श्रमिकलाई आग्रह गर्दै भने, ‘म सानो काम गर्दिन, टेवल वर्क मात्रै गर्छु नभन्नु होला। तर रोजगारी अवश्य पाउनुहुनेछ।’ वैदेशिक रोजगारीमा उत्पन्न समस्याले विप्रेषणमा केही समस्या आए पनि छिटो सुधार गर्न सकिने उनले बताए। ‘बैंकसँग लगानीयोग्य रकम ६०/७० अर्ब लगानीयोग्य रकम छ। संक्रमण सकिएपछि विप्रेषण आफ्नो आकारमा आउन थाल्छ।’

राजस्व प्रणालीमा पनि ठूलो असर नपर्ने उनको भनाइ छ। उनका अनुसार फागुनमा ४ प्रतिशतले आयात बढेको छ। उनले भने, ‘भन्सारमा रोकिएका सामान छुटाउने प्रयास भइरहेको छ।’ आन्तरिक राजस्वमा क्रमशः सुधार भइरहेको अवस्थामा विकास खर्च बढाउने चुनौती रहेको उनले बताए।

विदेशी ठेकेदार, कामदार आबद्ध भएको परियोजना प्रभावित भएकाले निर्माण क्षेत्रमा समस्या परेको उनले बताएका छन्। ‘मुख्य चिनियाँ ठेक्का प्रभावित भएका कारण हो’, उनले भने, ‘निजी क्षेत्र खासगरी हाइड्रोपावरमा केही समस्या छ। कतिपय सेवामा हामीले कडाइ गरेका छौं। तर त्यसलाई हामीले दीर्घकालीन असर नपार्ने गरी काम अघि बढाएका छौं।’

अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित समाचार ।

Ad