केही दिनयता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।
बिहीबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय १८ रुपैयाँ १२ पैसा (बिक्रीदर) तोकेको छ । मंगलबार र बुधबार यस्तो दर क्रमश: १ सय १८ रुपैयाँ ८४ पैसा र १ सय १८ रुपैयाँ ९० पैसा थियो । यसअघिको न्यून विनिमयदरको तुलनामा बिहीबार नेपाली मुद्राको विनिमय दर करिब ८ रुपैयाँले कमजोर (अवमूल्यन) भएको हो । यसको अर्थ सोही दरले डलर बलियो (अधिमूल्यन) भएको भन्ने हो ।
करिब डेढ वर्षअघि (०७५ असोज २४ मा) अमेरिकी डलरको विनिमय दर १ सय २० रुपैयाँ (१ सय १९ रुपैयाँ ३३ पैसा) हाराहारीमा थियो । यसअघिको उच्च विन्दुको तुलनामा बिहीबारको विनिमय दर ०.४३ पैसाले मात्र कम हो । तर, पछिल्लो न्यून विन्दु १ सय १० रुपैयाँको तुलनामा करिब साढे ७ रुपैयाँले बढी हो । यसअघि ०७५ साउन २७ मा डलरको विनिमयदर १ सय १० रुपैयाँ ४३ पैसा थियो ।
त्यसो त अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । यसअघि भारु बलियो हुँदा नेरु पनि बलियो भएको थियो ।
पछिल्ला वर्षहरूमा भारतीय अर्थतन्त्रले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन । कहिले जम्मु कस्मीर त कहिले हिन्दु र मुस्लिमबीचको विवादको प्रत्यक्ष प्रभाव भारतीय अर्थतन्त्रमा परेको छ । पछिल्लो समयमा नागरिकता विधेयकलाई लिएर भारतमा हिन्दु र मुस्लिमबीचको विवाद अझै साम्य भएको छैन । यी विवादका कारण पछिल्ला महिनाहरूमा भारतमा विदेशी लगानी बढेको छैन । केही परिमाणमा पुराना लगानी पनि फिर्ता भएका छन् ।
यसकारण विश्वबजारमा भारतीय मुद्रा कमजोर भएको छ । अमेरिकी डलरको तुलनामा भारु कमजोर भएको र त्यसको प्रत्यक्ष असर नेरुमा पनि परेको राष्ट्र बैंकका पूर्व कामु गभर्नर कृष्णबहादुर मानन्धरले बताए । ‘अहिले विश्वबजारमा फैलिएको कोरोना र कमजोर भारतीय अर्थतन्त्रका कारण भारु कमजोर भएको छ,’ उनले भने, ‘त्यसको प्रत्यक्ष असर नेरुमा पनि परेको हो ।’
अमेरिकी डलर बलियो बन्दै गए पनि केही दिनयता अमेरिकामा पनि कोरोना प्रभावित व्यक्ति बढ्दै गएका छन् । नियन्त्रणका लागि त्यहाँको सरकारले भरपूर प्रयास गरिरहेको छ । अपेक्षित रूपमा कोरोना नियन्त्रण नभएको खण्डमात्यसको असर अमेरिकी अर्थतन्त्रमा पर्ने र त्यसले डलर कमजोर हुने प्रक्षेपण पनि गर्न थालिएको छ । प्रक्षेपणअनुसार नै डलर कमजोर भए भारु केही बलियो बन्ने भएकाले नेरु पनि अधिमूल्यन हुनेछ ।
कोरोनाको कारण चीनको अर्थतन्त्र प्रत्यक्ष प्रभावित भएको छ । चीनबाहेकका राष्ट्रमा पनि कोरोना फैलिइरहेको छ । यसले विश्वबजारमा ठूलो प्रभाव पार्ने विश्लेषणहरू भएका छन् ।ठूलो अर्थतन्त्रका कारण विश्वबजारमा मन्दी आउँदा भारतीय बजार छिट्टै प्रभावित हुन्छ ।
त्यसो भएको खण्डमा भारु झनै कमजोर हुने र त्यसले नेरुलाई पनि कमजोर बनाउने बताइएको छ ।
कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।