Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव अध्ययन गर्दै अर्थ मन्त्रालय र राष्ट्र बैंक

२०७६ फाल्गुन २५ गते
 

सरकारले कोरोना भाइरस (कोभिड–१९) ले नेपालको अर्थतन्त्रमा पारेको प्रभावको अध्ययन सुरु गरेको छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले छुट्टाछुट्टै रूपमा अर्थतन्त्रमा कोरोना भाइरसले पारेको प्रभावको अध्ययन तथा मूल्यांकन थालेका हुन् । 

कोरोना भाइरसका कारण अहिले नेपालको उत्तरतर्फका दुईवटै नाका बन्द छन् । होटेलको अकुपेन्सी ८० प्रतिशतले घटेको व्यवसायीले बताएका छन् । जलविद्युत्, सडक, एयरपोर्ट, सुक्खा बन्दरगाहलगायत पूर्वाधार निर्माण प्रभावित भएका छन् । पर्यटन आगमन सुस्त भएको छ भने अन्तर्राष्ट्रिय उडान कटौती भएका छन् । देशैभरका मेला तथा महोत्सव स्थगित भएका छन् । यसबाट अर्थतन्त्रमा गम्भीर असर परेको सरोकारवालाले बताएका छन् । 

‘विश्व अर्थतन्त्रमा उत्पादन, व्यापार र रोजगारी व्यापक रूपमा घटेको तथा घट्ने तथ्यहरू आइरहेका छन्,’ योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले भने, ‘हाम्रो अर्थतन्त्र पनि ‘स्लो डाउन’ (मन्द गति) हुने निश्चित छ, के–कति असर पर्छ, त्यसको अध्ययन आवश्यक छ ।’ 

कोरोना भाइरसबाट छिमेकी मुलुक चीन र भारतका साथै विश्व अर्थतन्त्र नै प्रभावित भएकाले नेपालमा यसको असरको विषयमा अध्ययन थालिएको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए । ‘अहिले सम्बन्धित सरकारी निकायबाट उत्पादन, आयात–निर्यात, भन्सार राजस्व संकलन, पर्यटन आगमन, पूर्वाधार निर्माणलगायतको तथ्यांक संकलन गरिरहेका छौँ,’ उनले भने, ‘त्यसको मूल्यांकन गरेर अर्थ मन्त्रालयले प्रारम्भिक चरणको अध्ययन प्रतिवेदन तयार गर्नेछ ।’ 

यता, राष्ट्र बैंकले पनि अध्ययन थालेको छ । ‘अर्थतन्त्रका कुन–कुन क्षेत्रमा के–कति असर परेको छ, थप प्रभाव के–कति पर्न सक्छ भन्नेबारे अध्ययन गरिरहेका छौँ,’ कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले भने, ‘अहिले तथ्यांक संकलन गरिरहेका छौँ, कपितय विषयमा परिकल्पनासमेत गर्नुपर्ने हुन्छ ।’ राष्ट्र बैंकले चिनियाँ आबद्ध भएका आयोजना मात्रै नभई सबै क्षेत्रलाई समेटेर अध्ययन गर्ने उनले जानकारी दिए । 

अर्थतन्त्रलाई कोरोना चुनौतीपूर्ण : अर्थमन्त्री

डा. युवराज खतिवडाले अर्थमन्त्रीमा पुनर्नियुक्ति पाएर बुधबार पदबहाली गर्दै कोरोना भाइरसले अर्थतन्त्रमा चुनौती थपेको बताएका थिए । उनले बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थतन्त्रमा परेको कोरोना भाइरसको असर देखिन थालिसकेको बताए । ‘के–कति आर्थिक असर पर्‍यो, त्यसको अध्ययन गर्दै छौँ,’ उनले भने । 

विश्व अर्थतन्त्रको वृद्धिदर ०.५ प्रतिशत बिन्दुले खुम्चिने

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण विश्व अर्थतन्त्रको वृद्धिदर ०.५ प्रतिशत बिन्दुले खुम्चिने अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले जनाइसकेको छ । आइएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिभाले कोरोना भाइरसकै कारण विश्व अर्थतन्त्रको वृद्धिदर २.९ प्रतिशतबाट २.४ प्रतिशतमा खुम्चिने बताइसकेकी छिन् । 

अध्ययनसँगै पूर्वतयारी आवश्यक : विज्ञ

अर्थतन्त्रमा कोरोना भाइरसको प्रभावको अध्ययन तथा मूल्यांकन गर्नुका साथै न्यूनीकरणका लागि पूर्वतयारीसमेत गर्नुपर्ने विज्ञहरू बताउँछन् । वरिष्ठ अर्थशास्त्री विश्वम्भर प्याकुरेलले छुट्टै कार्यदल बनाएर अध्ययन तथा मूल्यांकन गर्नुपर्ने बताए । ‘विश्व अर्थतन्त्रको वृद्धिदर नै खुम्चिने प्रक्षेपण आइसकेको छ, कोरोनाबाट हाम्रो अर्थतन्त्रसमेत प्रभावित हुने देखिइसकेको छ,’ उनले भने, ‘अर्थतन्त्रका कतिपय क्षेत्रहरू अहिल्यै खस्किन थालिसकेका कारण सरकारले त्यसको पनुर्रुत्थान तथा प्रभाव न्यूनीकरणका लागि छुट्टै कोष खडा गरेर अघि बढ्नुपर्छ ।’ 

योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले कोरोना भाइरसका कारण पर्यटन र आयात व्यापार प्रभावित हुन सक्ने बताए । तर, अध्ययनपछि मात्रै क्षति तथा प्रभावको यकिन गर्न सकिने उनको भनाइ छ । ‘अहिलेको संकट समाधानका लागि सतर्कता अपनाउँदै सरकारले यसलाई अवसरका रूपमा समेत लिनुपर्ने देखिन्छ,’ उनले भने, ‘आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन सरकारले छुट्टै प्याकेज ल्याउनुपर्छ ।’ भारतले नकाबन्दी लगाउँदा उत्तरतर्फका नाखा खोल्ने अवसर मिलेको भन्दै उनले कोरोनाको महामारीबाट समेत नेपालले आन्तरिक उत्पादन वृद्धि तथा स्वास्थ्यका थप पूर्वाधार निर्माणको अवसर उपयोग गर्नुपर्ने बताए । 

विश्व बैंकद्वारा १२ अर्ब डलरको आर्थिक प्याकेज घोषणा

यसैबीच विश्व बैंकले कोरोना भाइरससँग जुधिरहेका सदस्य मुलुकको सहायताका लागि आर्थिक प्याकेजको घोषणा गरेको छ । विश्व बैंक समूहले प्रारम्भिक सहयोगस्वरूप १२ अर्ब अमेरिकी डलर (करिब १४ खर्ब रुपैयाँ) प्रारम्भिक सहायता घोषणा गरेको हो । यो सहायता प्याकेज ‘फास्ट ट्रयाक’ माध्यमबाट विकासशील मुलुकको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन प्रयोग गरिने बैंकले जाएको छ ।  यस्तो सहयोग कम आयस्रोत भएका मुलुकलाई अनुदान र सहुलियतपूर्ण कर्जाका रूपमा उपलब्ध गराइनेछ । अर्थतन्त्रलाई चलायमान बनाउन तथा निजी क्षेत्रको व्यापार–व्यवसायलाई जीवित राख्न भने अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) मार्फत सहायता उपलब्ध गराउने विश्व बैंकले जनाएको छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार 

Ad