अबदेखि विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको मूल्य भुक्तानी गर्दा कर छुट पाइने भएको छ । मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवाको खरिद गर्दा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा त्यसमा लाग्ने करको १० प्रतिशत रकम सरकारले फिर्ता दिनेछ ।
उदाहरणका लागि यदि उपभोक्ताले १ हजार रुपैयाँको सामग्री खरिद गरेको छ भने त्यसमा १ सय ३० रुपैयाँ मूल्य अभिवृद्धि कर जोडिएको हुन्छ । उक्त १ सय ३० रुपैयाँको १० प्रतिशत हुन आउने रकम अर्थात् १३ रुपैयाँ उपभोक्ताले आफ्नो बैंक खातामा फिर्ता पाउनेछन् । तर, यसका लागि उपभोक्ताले उक्त वस्तुको मूल्य विद्युतीय माध्यम (डेबिट–क्रेडिट कार्डलगायत)बाट भुक्तानी गर्नुपर्ने हुन्छ । एकपटकमा १ हजारदेखि १ लाखसम्मको वस्तु वा सेवाको खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरूले यो सुविधा उपभोग गर्न सक्नेछन् ।
मंगलबार आन्तरिक राजस्व विभागले तयार गरेको प्रणालीको अर्थमन्त्री डा. युवराज खतिवडाले शुभारम्भ गरेका हुन् । अहिलेलाई यस्तो सुविधा भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल प्रालिको त्रिपुरेश्वर शाखा तथा केकेएफसी न्युरोड शाखाबाट पाउन सकिनेछ । त्यसका लागि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको विद्युतीय भुक्तानी कार्ड प्रयोग गर्नुपर्ने हुन्छ । विद्युतीय भुक्तानीसम्बन्धी उपकरणका माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताको खाताबाट विक्रेताको बैंक खातामा र विक्रेताको खाताबाट पुनः उपभोक्ताको बैंक खातामा रकम जम्मा हुने गरी प्रणाली बनाइएको छ । त्यस्तै, फोन पे, इ–सेवा, खल्ती, सेल पे, कनेक्ट आइपिएसजस्ता भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवाप्रदायक संस्थासँग आबद्ध विक्रेता तथा उपभोक्ताहरूमा पनि यस्तो व्यवस्था लागू गरिएको विभागले जनाएको छ ।
नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।
