Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

जोखिम विश्लेषण गरी बिमा कम्पनीको वर्गीकरण गरिने

२०७६ माघ २१ गते

बिमा समितिको ‘जोखिममा आधारित गैरस्थल सुपरिवेक्षण कार्यविधि २०७६’ पारित

बिमा समितिले बिमा कम्पनीहरूको सूक्ष्म निगरानीका लागि जोखिममा आधारित सुपरिवेक्षण गर्ने भएको छ । ‘जोखिममा आधारित गैरस्थल सुपरिवेक्षण कार्यविधि २०७६’ पारित भएपछि समितिलाई बिमा कम्पनीहरूको जोखिम सुपरिवेक्षण गर्ने बाटो खुलेको हो । 

कार्यविधिमा बिमा कम्पनीहरूको सम्भावित मुख्य जोखिमको सूचक पहिचान गरिनेछ । सोही सूचकका आधारमा समितिले कार्यलयमा बसेर कम्पनीहरूको सूक्ष्म सुपरिवेक्षण गर्नेछ । सुपरिवेक्षणपछि अत्यधिक जोखिम देखिएको क्षेत्रमा सुधार गर्न सुझाब दिने वा कारबाही गर्न सक्ने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए । 

समितिले सुपरिवेक्षणका लागि बिमा कम्पनीहरूको पाँच जोखिमको पहिचान गरेको छ । बिमा जोखिम, क्रेडिट (ऋण) जोखिम, लिक्विडिटी (तरलता) जोखिम, मार्केट (बजार) जोखिम र अपरेसनल (सञ्चालन) जोखिम पहिचान गरिएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । उनका अनुसार बिमा जोखिममा बिमा कम्पनीले गरेको अन्डरराइटिङ, बिमा पोलिसीको मूल्य, पुनर्बिमाको अवस्था, रणनीति, दाबी भुक्तानीलगायतका अवस्थाको सुपरिवेक्षण गरिनेछ । त्यस्तै, क्रेडिट जोखिममा बिमा कम्पनीले गरेको कर्जाको प्रवाह र असुलीको अवस्थालाई हेरिनेछ । 

लिक्विडिटी जोखिममा भने कम्पनीले गरेको लगानीको सीमाको सुपरिवेक्षण गरिनेछ । बिमा कम्पनीहरूलाई लगानीका लागि बिमा समितिले निश्चित क्षेत्र र प्रतिशत तोकिदिएको छ । सो सीमाअनुसार कम्पनीहरूले लगानी गरे–नगरेको सुपरिवेक्षण गरिने समितिका अध्यक्ष चापागाईंले जानकारी दिए । 

त्यस्तै, बजार जोखिममा कम्पनीलाई बाह्य आर्थिक गतिविधिले पार्ने प्रभावलाई हेरिनेछ । जस्तै, बैंकको ब्याजदर, विनियम दरमा आउने घटबढलाई कम्पनीले व्यवस्थापन गरे–नगरेको अनुगमन गरिनेछ । अपरेसनल जोखिममा भने कम्पनीको सञ्चालक समितिको अवस्था, कम्प्लायन्स अफिसर (अनुपालक अधिकृत)को व्यवस्था, कर्मचारीको सेवा–सुविधालगायतका विषयमा अनुगमन गरिनेछ । 

जोखिमका आधारमा बिमा कम्पनीको वर्गीकरण गरिने 

जोखिमका आधारित गैरस्थल सुपरिवेक्षणपछि बिमा कम्पनीहरूको वर्गीकरण गरिने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । समितिका अनुसार कम्पनीलाई शून्यदेखि ४ अंकको दिइनेछ । कुनै पनि जोखिम नदेखिएका कम्पनीलाई शून्य दिइनेछ । सामान्य जोखिम भएका कम्पनीलाई १, मध्यम खालको जोखिम भएका कम्पनीलाई २, उच्च जोखिम भएका कम्पनीलाई ३ र अत्यधिक जोखिम देखिएका कम्पनीलाई ४ अंक प्रदान गरिनेछ । शून्य प्राप्त गरेका कम्पनीलाई समितिले ग्रिनकार्ड प्रदान गर्नेछ । १ अंक पाएको कम्पनीलाई निगरानीमा राख्नेछ । २ अंक पाएकालाई नजिकबाट निगरानी गर्नेछ । ३ अंक प्राप्त गरेकालाई छिटो–छिटो अनुगमन गर्नेछ । ४ अंक प्राप्त गरेकालाई ऐनबमोजिम कारबाही गरिनेछ ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।  

 

Ad