२०७६ माघ १७ गते

बैंकिङ : हिजो, आज र भोली

खडक रोकाया –
नेपालको आधुनिक बैंकिङको ईतिहास १९९४ मा नेपाल बैंकको स्थापना भएसंगै सुरु भएको हो । नियामकको रुपमा नेपाल राष्ट्र बैंकको स्थापना बैंकिङ क्षेत्रको बिकासको अर्को ब्यबस्थित चरणमा जाने र अर्थतन्त्रलाई थप ब्यबस्थित गर्ने कदम थियो । त्यसपछि क्रमश राष्ट्रिय बाणिज्य बैंक र कृषि बिकास बैंक यस क्षेत्रमा थप बिकास र प्रतिस्पर्धात्मक वातावरण स्थापना गर्न स्थापना भएका हुन । बि.स. २०४१ सालमा नबिल बैंकको स्थापना संगै नेपालको बैकिङ क्षेत्रले निजीकरणको यात्रा तय गरेको हो । बैंकिङ क्षेत्रमा निजि क्षेत्रको प्रवेश संगै यस क्षेत्रको तीब्र बिकास र चुनौती संगै आएको हो ।

हिजो
हिजोका दिनमा बैंकिङ क्षेत्र परम्परागत र कागजी काममा निर्भर थियो । तर पेशाका कोणबाट एकदमै सम्मानजनक, बिस्वसनीय र कम जोखिमपुर्ण थियो । मैले सुनेको पनि छु गाँउमा ठुलै झगडा हुदा पनि बैंक कर्मचारी नै मिलाईदिन्थे । हिजोको बैंकिङ केही मान्छेको पहुँचमा मात्रै थियो । प्रतिस्पर्धी, क्षमतावान र ईमान्दार ब्यक्ति नै बैंकरका रुपमा चिनिन्थे । हिजोको बैंकिङ शहर केन्द्रित थियो । बैंकहरुको संख्या तथा शाखा संख्या र सेवाग्राहीको संख्या पनि थोरै थियो ।

आज
आजको बैंकिङ अत्याधुनिक र विश्वस्तरको प्रबिधियुक्त भइसकेको छ । रोजगारीका प्रशस्त अवसर भएको क्षेत्र नै बैकिङ भएको छ । तर पेशागत कोणबाट हिजोको भन्दा पनि कम गुणस्तरको छ । बजारमा ब्याप्त तीब्र प्रतिस्पर्धा र दुरदर्शीताको अभावले गर्दा बैकिङ पेशा हिजो भन्दा पनि कम बिश्वसनीय र बढी जोखिमयुक्त भएको छ । बैंकिङ पेशामा आबद्ध भएकाहरुको दैनिकी हेर्दा दयनीय छ । यसले हाम्रो बैंकिङ कता जादैछ भन्ने प्रश्न जन्माएको छ, परिश्रम गर्दागर्दै पनि, पुरै हप्ता बैंककै काममा ब्यस्तहरु जीन्दगी यस्तै त रहेछ भन्दै अर्को बिकल्प पनि सोच्न नपाएर सानै उमेरमा दीर्घरोगी हुन बाध्य छौं । पर्याप्त तालिम तथा सिकाइबिना जिम्मेवारी दिदा अन्र्तनिहित जोखिम संगै अन्य संचालन जोखिमहरु हिजोभन्दा बढेको छ । बैकिङ प्रबिधिको बिश्वसनीयता बढाउनु र त्यसका जोखिमहरु न्युनीकरण गर्नु आजको चुनौती हो । सरकार तथा नियामक निकायहरुको नीति नियमहरुको परिवर्तनबाट आउने परिबर्तनले पनि केही चुनौती थपेको छ । बैंकिङ पहुच बढेको भएपनि बित्तिय साक्षरता अझै निकै तल रहेको छ ।अहिले गाउ गाउ सम्म पनि बैंकहरु पुगिसकेका छन । आधारभुत पुर्बाधार नहुदा संचालनमा कठिनाई र जोखिम दुबै छ । समग्रमा आजको बैंकिङ संक्रमणकालीन अवस्थामा छ ।

भोली
नेपालको बैंकिङ आजको अवस्थाबाट अगाडी जान प्रबिधिमैत्री सेवाग्राही नै चाहिन्छ । बैकिङ प्रबिधि अरु क्षेत्रको तुलनामा निकै अगाडी पुगिसकेको छ । तर प्रयोगकर्ताहरु पुर्ण बिश्वस्त हुन सकेका छैनन । त्यसका लागि बैंकिङ क्षेत्रले बिशेष अभियान नै चलाउनु पर्ने बेला भएको छ । जति हामी प्रबिधि बिस्तारमा जोड दिदै अगाडी बढीरहेका छौ त्यति नै बित्तिय प्रविधि साक्षरतामा जोड दिनु पर्ने बेला आएको छ । बैकिङ क्षेत्र पुर्णरुपमा प्रविधिमा आधारित हुदा रोजगारीका धेरै अवसरहरु पनि कटौती हुने छन त्यसले समाजमा र अर्थतन्त्रमा पार्ने प्रभाव पनि सोचनिय नै छ । अबको यात्रा राष्ट्रिय उत्पादनमा बृद्दी गर्न बैकिङ क्षेत्रले नै नेतृत्व गर्नुपर्ने छ । समग्र अर्थतन्त्रको स्वास्थ्य नै बित्तिय क्षेत्रका कृयाकलापमा निर्भर हुन्छ । भोलिको बैकिङ सहज, सरल र पारदर्शी बनाउनु हामी सबैको दायित्व पनि हो ।

रोकाया कुमारी बैंकमा कार्यरत छन् ।