नेपाल राष्ट्र बैंकले मुलुकभरका ८९ वटा लघुवित्त वित्तीय संस्थाले २७ लाख ५५ हजार ४ सय २५ जनालाई ऋण प्रवाह गरेको तथ्यांक सार्वजनिक गरेको छ। यो वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको कुल ऋणीको करिब दोब्बर संख्या हो। राष्ट्र बैंकले नै केही साताअघि सार्वजनिक गरेको ‘नेपालमा वित्तीय पहुँचको स्थिति’ सम्बन्धी प्रतिवेदनले ठूला बैंक र वित्तीय संस्थामा करिब १४ लाख ४० हजार निक्षेप खाता रहेको उल्लेख छ ।
यसले कर्जामा पहुँच स्थापित गर्ने काममा ठूला संस्थाभन्दा लघुवित्त कम्पनीले अत्यधिक सहयोग गरेको देखाउँछ। निक्षेपकर्ताले भने ठूला बैंक तथा वित्तीय संस्थालाई नै बढी विश्वास गर्ने गरेको देखिएको छ। वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा करिब १ करोड ८० लाख मानिसको निक्षेप खाता छ। लघुवित्तले भने ४४ लाख ३३ हजार ५ सय ४० जनासँग बचत संकलन गरेका छन्। यस आधारमा ठूला बैंक वित्तीय संख्याको कुल ग्राहकको एक चौथाई जनसंख्यामा लघुवित्तको पहुँच स्थापित भएको देखिएको छ।
बिहीबार राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार लघुवित्त संस्थाले हालसम्म ९१ अर्ब ४५ करोड ५६ लाख रुपैयाँ बचत संकलन गरेका छन्। यस्तै, हालसम्म लघुवित्त कम्पनीले ११ खर्ब ८४ अर्बभन्दा धेरै कर्जा वितरण गरिसकेको उल्लेख छ। त्यसमध्ये २ खर्ब ४४ अर्ब ३७ करोड रुपैयाँ कर्जा उठ्न बाँकी रहेको राष्ट्र बैंकले बताएको छ। यो रकम गएको असोज मसान्तमै वाणिज्य बैंकले स्वदेशी मुद्रामा प्रवाह गरेको कर्जाको १० प्रतिशत हो। वाणिज्य बैंकले २५ खर्ब ४७ अर्ब कर्जा प्रवाह गरेको नेपाल बैंकर्स संघले बताएको छ।
लघुवित्त वित्तीय संस्थाले बिना धितो दिइने लघु व्यवसाय कर्जामा ६५ प्रतिशत ऋण परिचालन गरेका छन्।
धितोमा आधारित लघुउद्यम कर्जामा १५ प्रतिशत र अरु किसिमका कर्जामा २० प्रतिशत लगानी गरेका छन् । ७७ वटै जिल्लामा सेवा पुर्याएका लघुवित्त कम्पनीले ३ हजार ६ सय ९१ शाखा, २ लाख ८६ हजार ५सय २४ सेवा केन्द्र र ९ लाख ६१ हजार समूहमार्फत ४४ लाख ६१ हजार ९ सय १४ जनालाई संगठित गरेको राष्ट्र बैंकले बताएको छ। उक्त प्रतिवेदनले लघुवित्त कम्पनीले १८ हजार ३ सय ७९ जनालाई रोजगारी दिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार