Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बैंकर्स संघको पत्रमाथि राष्ट्र बैंकको अध्ययन शुरू

२०७६ माघ १५ गते

नेपाल बैंकर्स संघले ब्याजदर अन्तर गणना विधि (स्प्रेड दर) पुनरवलोकन गर्न बुझाएको पत्रमाथि नेपाल राष्ट्र बैंकले अध्ययन शुरू गरेको छ । बैंकहरूको नाफा बढ्न नसकेको भन्दै संघले स्प्रेड दर पुनरवलोकन गर्न माग गर्दै शुक्रवार राष्ट्र बैंकलाई पत्र पठाएको थियो । यसै हप्तादेखि नै उक्त पत्रमाथि अध्ययन शुरू गरिएको राष्ट्र बैंकले बताएको छ । 

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले उक्त पत्रमाथि प्रक्रियागत रूपमा छलफल भइरहेको बताए । ‘संघको पत्रमाथि वर्कआउट गर्दै छौं । सो पत्र नियमन समिति हुँदै गभर्नरको कार्यालयसम्म पुग्छ । यदि, संघले गरेको माग बजारअनुकूल भएमा सम्बोधन हुनसक्छ,’ उनले भने । 

राष्ट्र बैंकका सह प्रवक्ता गोविन्द नागिलाले संघको माग मौद्रिक नीतिमार्फत सम्बोधन गर्न सकिने बताए । उनले भने, ‘संघको मागले बजारलाई असर नगर्ने देखिएमा छलफलपछि बोर्डमा पठाउँछौं । बोर्डले पनि पारित ग¥यो भने उक्त माग मौद्रिक नीतिमार्फत सम्बोधन हुनसक्छ ।’ शाखा विस्तार गर्दा, सफ्टवेयरमा लगानी बढाउँदा पछिल्लो समय बैंकहरूको खर्च बढेको अवस्था छ । यस अवस्थामा राष्ट्र बैंकले सम्बद्ध नीतिगत व्यवस्थामा लचकता अपनाउनुपर्ने बैंकर्स संघको आग्रह थियो । 

नीतिगत व्यवस्थाका कारण नाफा घटेको बताउँदै संघका अध्यक्ष भुवनकुमार दाहाल भन्छन्, ‘केन्द्रीय बैंकले स्प्रेड रेट  गणनाविधिमा ऋणपत्रको लगानीलाई जोड्न नपाउने व्यवस्था गर्‍यो । फलस्वरूप स्प्रेड रेट घट्ने र सञ्चालन खर्च बढ्दै जाँदा बैंकको नाफा घट्न सक्छ । त्यसैले अब ब्याजदर अन्तर गणना सूत्रमा ऋण र लगानी तथा निक्षेप र ऋणपत्रको जोडलाई समेत राख्ने व्यवस्था गर्नुपर्छ ।’ परिवर्तित ब्याजदर गणनाविधिले गर्दा आगामी आर्थिक वर्षदेखि बैंकहरूको खुद ब्याज आम्दानी घट्न सक्ने उनको भनाइ छ । यसको फलस्वरूप लगानीको प्रतिफलसमेत १०/११ प्रतिशतमा झर्ने संकेत देखिएको उनले बताए । 

राष्ट्र बैंकको पुरानो विधिअनुसार बैंकको अन्तर ब्याजदर अनुपात ५ प्रतिशतसम्म हुने गर्दथ्यो । तर, नयाँ विधिले यस्तो अन्तर घटेर कर्जाको ब्याजदरमा समेत दबाब पर्ने स्थिति आएको संघको भनाइ छ । संघले पत्रमार्फत ऋणीलाई कर चुक्ताको प्रमाणपत्र पेश गर्ने व्यवस्थालाई आक्रामकभन्दा पनि समय तथा सीमा तोकेर विस्तारै लागू गर्नुपर्ने माग राखेको थियो । साथै, सहुलियतपूर्ण कर्जालाई बैंक तथा वित्तीय संस्थाबीच सापटी लेनदेनको अधिकार दिने व्यवस्था गर्न पनि संघले अनुरोध गरेको छ । यसैगरी राष्ट्र बैंकलाई अनिवार्य रूपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था पनि हटाउन संघले पत्रमार्फत आग्रह गरेको छ । संंघले काउन्टर साइक्लिकलबफरको व्यवस्था गर्नुपर्ने, निगरानीमा रहेका कर्जासम्बन्धी खुकुलो नीति ल्यानुपर्ने लगायत माग राष्ट्र बैंकसँग गरेको छ । 

गत सातामात्र संघले बैंकका समसामयिक समस्याबारे  अर्थ मन्त्रालयमा अर्थमन्त्री डा.युवराज खतिवडा, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलगायतसँग छलफल गरेको थियो । उक्त छलफलमा अर्थमन्त्रीले जायज माग कार्यान्वयन गर्न राष्ट्र बैंकलाई निर्देशन दिने आश्वासन दिएका थिए । आर्थिक अभियान दैनिकमा प्रकाशित 

Ad