१५ वटा वाणिज्य बैंकहरुको २२ अर्ब ८० करोड १० लाख रुपैयाँ बराबरको हकप्रद शेयर पाइपलाइनमा रहेको छ । ०७४ असार मसान्तसम्म चुक्ता पुँजी न्युनतम ८ अर्ब रुपैयाँ हुनु पर्ने वाध्यात्मक व्यवस्था केन्द्रीय बैंकले गरेपछि यी बैंकहरु हकप्रद सेयर निष्कासनको अन्तिम तयारीमा जुटेका हुन् ।
हकप्रद निष्काशनको अन्तिम तयारीम रहेका बैंकहरुमध्ये एनआईसी एसिया बैंकको हकप्रद शेयर खरिद गर्नका लागि आवेदन दिने मिति बुधबारदेखि सकिँदैछ । बैंकले २५ प्रतिशत हकप्रद सेयर जारी गरेको छ । यसैगरी, सिटिजन्स बैंकले चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । बैंकको हकप्रद सेयर खरिदका लागि साउन ९ गतेभित्र फाराम बुझाइसक्नु पर्नेछ ।
कुन बैंकको कति हकप्रद आउँदै ?
हालसम्म सबैभन्दा धेरै बढी लक्ष्मी बैंकले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ भने सबैभन्दा कममा हिमालयन बैंकको १४.२८ प्रतिशत छ । नेपाल एसबिआई बैंकले प्रिमियममा २ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय गरेको छ । नेपाल बगांलादेश बैंकले चुक्ता पुँजीको ८० प्रतिशत, सानिमा, कृषि विकास र माछापुच्छ्रे बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेका छन् । सनराइज, प्राइम, सेन्चुरी बैंकले चुक्ता पुँजीको ३० प्रतिशत तथा सिद्धार्थ र मेगा बैंकले २५ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्दै छन् । नेपाल बैंकले २३.७४ प्रतिशत हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी बढाउँदै छ । सनराइज बैंकले नारायणी नेसनललाई खरिद गर्ने प्रक्रिया सकिएपछि हकप्रदको अनुुपात बढाउने बताएको छ ।


