Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

बीमा अभिकर्ता पेशामा आकर्षण बढ्दो

२०७६ मंसिर ३० गते

बजारमा पौने २ लाख सक्रिय अभिकर्ता

पछिल्लो २ वर्षमा जीवन बीमा कम्पनी बढेसँगै बीमा बजारमा सक्रिय बीमा अभिकर्ताको संख्या बढ्दै गएको छ । पहिले इजाजतपत्र लिएकामध्ये अत्यन्त कम अभिकर्ताले मात्र नवीकरण गर्ने गरेकोमा हाल नयाँ इजाजतपत्र लिने र नवीकरण गर्ने दुवैको संख्या बढ्दै गएको बीमा समितिको तथ्यांकले देखाउँछ ।

समितिका अनुसार हाल बजारमा करीब पौने २ लाख अर्थात् १ लाख ७३ हजर ३०८ अभिकर्ता सक्रिय छन् । २०७५ को अन्त्यसम्म कायम अभिकर्तामध्ये ९३ हजार १७३ जनाले इजाजतपत्रको नवीकरण गरेका छन् भने यो वर्ष ८० हजार १३५ जना नयाँ अभिकर्ता थपिएका छन् । 

विसं २०७४ मा ९९ हजार र विसं २०७५ मा १ लाख ४४ हजार बीमा अभिकर्ता सक्रिय थिए, जसअनुसार पछिल्लो समय बीमा अभिकर्ता पेशामा आकर्षण बढ्दै गएको देखिन्छ ।

पछिल्लो २ वर्षमा १० जीवन बीमा कम्पनी थपिँदा पनि अभिकर्ताको संख्या बढेको हो । साथै, बीमा कम्पनीहरूले अभिकर्तालाई कमिशनबाहेकका विदेश भम्रण, स्वदेश भम्रण, विभिन्न उपहारलगायत सुविधा दिँदा पनि यसमा आकर्षण बढेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले पनि बीमा अभिकर्ता पेशामा आकर्षण बढ्दै गएको बताए । ‘पछिल्लो समय स्वतःस्फूर्त रूपमा बीमा अभिकर्ताको व्यवसाय गर्छु भन्ने व्यक्ति पनि आउन थालेका छन् । साथै, यसको व्यावसायिक सम्भावनाले पनि आकर्षण बढेकोजस्तो लाग्छ,’ उनले भने, ‘साथै, कम्पनीहरूले पनि व्यवसाय बढाउन अभिकर्ताको संख्या बढाउने जोड दिँदै आएका छन् ।’

बीमा कम्पनीका लागि अभिकर्ता नभई नहुने जनशक्ति हो । आम मानिसलाई बीमा कम्पनीसँग जोड्ने भूमिका नै अभिकर्ताको हुन्छ । अभिकर्ताहरूले विभिन्न ठाउँमा पुगेर आम मानिसको बीमा गराई कम्पनीलाई व्यवसाय दिइरहेका हुन्छन्, त्यसबापत उनीहरूले  १० वर्षसम्म बीमितको पहिलो वार्षिक किस्ताबाट २५, दोस्रो किस्ताबाट १५ र त्यसपछिको किस्ताबाट ५ प्रतिशत कमिशन पाउँछन् । 

हालसम्म बीमा समितिबाट ५ लाख ६० हजारओटा बीमा अभिकर्ताको इजाजतपत्र जारी भएको छ । तर, नवीकरण नगरेपछि अन्यको इजाजतपत्र खारेज गरिएको बीमा समितिको भनाइ छ । 

बीमा कम्पनीहरूले व्यवसाय बढाउने होडमा जबर्जस्ती इजाजतपत्र प्रदान गर्दा पनि अधिकांश अभिकर्ताले इजाजतपत्र नवीकरण गर्दैनन् । यसैगरी कम्पनीहरूले दिने तालीम प्रभावकारी नहुँदा पनि अभिकर्ताले इजाजतपत्र नवीकरण नगर्ने समितिको भनाइ छ । 

बीमा अभिकर्ताहरूले हरेक वर्षको चैत मसान्तभित्र इजाजतपत्रको नवीकरण गरिसक्नुपर्ने हुन्छ । उक्त अवधिमा इजाजतपत्र नवीकरण नगरेमा असोज मसान्तभित्र तोकिएको दस्तुर तिरेर इजाजतपत्र नवीकरण गर्न सकिन्छ । यदि, असोज मसान्तसम्ममा पनि नवीकरण गरिएन भने इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था छ । 

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीले अब अभिकर्ता पेशा गरेर बाँच्ने आधार बनाउन सम्बद्ध निकाय सकारात्मक हुनुपर्ने बताए । ‘पछिल्लो समय बीमा अभिकर्ताप्रति आकर्षण बढ्दै गएको थियो । तर, बीमा समितिले फेरि शाखारहित घुम्ती बीमा सेवासम्बन्धी नीति ल्याएर कम्पनीका कर्मचारीलाई नै बीमा गराउन दिने व्यवस्था ल्याएको छ । 

यसले अभिकर्ताको पेशा खोस्ने संकेत देखियो,’ उनल भने, ‘साथै, अब समितिले नै तालीम दिएर अभिकर्तालाई इजाजतपत्र दिने व्यवस्था गर्नुपर्छ । कम्पनीहरूले बिना तालीम घरघरमा गएर इजाजतपत्र प्रदान गर्दा विकृति फैलिएको छ ।’ बीमा कम्पनीहरूले दिने तालीम मापदण्ड विपरीत हुने गरेको उनको भनाइ छ ।

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।

Ad