Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

शाखारहित बीमा सेवा सञ्चालन गर्न बाटो खुला

२०७६ मंसिर २७ गते

लघुबीमालाई प्राथमिकता दिनुपर्ने

बीमा कम्पनी (बीमक)ले अब शाखारहित घुम्ती बीमा सेवा सञ्चालन गर्न पाउने भएका छन् । बीमा समितिले बिहीवार ‘शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन, २०७६’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार अब बीमा कम्पनीले नजीकको शाखा कार्यालयसँगको समन्वयमा बीमितको घरमा नै पुगेर बीमालेख विक्री गर्न सक्नेछन् । यद्यपि, यसलाई अनिवार्य भने गरिएको छैन । घुम्ती बीमा सेवा सञ्चालन गर्न चाहने कम्पनीका लागि नीतिगत रूपमा बाटो खुला गरिदिएको समितिको भनाइ छ । 

तर, निर्जीवन बीमा कम्पनीले कृषिबीमा व्यवसाय गर्ने जिम्मेवारी पाएको जिल्लामा अनिवार्य रूपमा घुम्ती बीमा सेवा सञ्चालन गर्नुपर्ने छ । घुम्ती बीमा कारोबारबाट संकलन भएको बीमाशुल्क सोही दिन वा त्यो दिनपछिको बैंक खुलेको दिनमा कम्पनीको खातामा जम्मा गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

कम्पनीले घुम्ती बीमा सेवा सञ्चालन गर्न सञ्चालक समितिको स्वीकृति लिनुपर्ने छ । साथै, सूचना प्रविधिलगायत पूर्वाधारको तयारी गर्नुपर्ने छ । साथै, कम्पनीले अभिकर्ताबाट नभई कर्मचारीमार्फत घुम्ती बीमाको व्यवस्थापन गर्नुपर्ने बताइएको छ । घुम्ती बीमा सेवा सञ्चालनमा संलग्न कर्मचारीको दुर्घटना बीमा गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

घुम्ती बीमा सेवा सञ्चालन गर्दा लघुबीमालाई प्राथमिकतामा दिनुपर्ने मार्गदर्शनमा उल्लेख छ । जीवन बीमा कम्पनीले यसमा सावधिक र म्यादी जीवन बीमा बीमालेखलाई प्राथमिकतामा दिनुपर्ने छ । यद्यपि, कम्पनीले रू. ५ लाखभन्दा बढीको बीमांकमा जीवन बीमा गराउन पाउने छैनन् । साथै, घुम्ती बीमा सेवामार्फत वैदेशिक रोजगारी म्यादी जीवन बीमा पनि गराउन नपाइने समितिको भनाइ छ ।

यस्तै, निर्जीवन बीमा कम्पनीले घुम्ती बीमा सेवाअन्तर्गत कृषि, दुर्घटना र ५० लाखसम्मको घर बीमा गराउने सक्नेछन् । यसअन्तर्गत उनीहरूलाई हवाई, इन्जिनीयरिङ र मोटर बीमा गराउन भने रोक लगाइएको छ । 

मार्गदर्शनअनुसार बीमा कम्पनीहरूले महानगरपालिका र उपमहानगरपालिकामा घुम्ती बीमा सेवा सञ्चालन गर्न पाउने छैैनन् । यद्यपि, जीवन बीमा कम्पनीले त्यस्ता स्थानीय तहभित्र रहेका सीमावर्ती वडाहरूमा घुम्ती बीमा सेवा सञ्चालन गर्न सक्नेछन् । 

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले ग्रामीण क्षेत्रलाई लक्षित गरेर यस्तो व्यवस्था ल्याइएको बताए । ‘हुन त, अभिकर्ताहरू त्यस्ता ठाउँमा पुगेर बीमालेख विक्री गरेका छन् । तर, उनीहरूले सेवाभन्दा बढी व्यवसायलाई प्राथमिकतामा राख्दा तल्लो वर्गका व्यक्तिहरू बीमाको दायरामा आउन सकेनन्,’ उनले भने, ‘तसर्थ, त्यस्ता समुदायका व्यक्तिलाई बीमाको दायरामा ल्याउने उद्देश्यसहित यस्तो व्यवस्था गरेका हौं ।’

पौडेलका अनुसार लघुबीमाका पोलिसीहरू अन्यन्त कम मात्रामा विक्री हुने गरेका छन् । यदि कम्पनीले घुम्ती बीमा सेवा सञ्चालन गरेमा लघुबीमा गर्नेको संख्या बढ्ने उनको भनाइ छ । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले यो व्यवस्था स्वागतयोग्य बताए । उनले भने, ‘बीमा समितिले ल्याएको यो व्यवस्था राम्रो छ । यसले ग्रामीण क्षेत्रमा बीमासम्बन्धी जनचेतना बढाउनुका साथै बीमाको दायरा पनि बढाउँछ ।’

आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार ।

Ad