Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

शेयर बजारमा ‘डिम्याट प्रणाली’ले पारेका चार प्रमुख प्रभावहरु

२०७३ असार १४ गते

dematशारदा भण्डारी । लगानीमा वैकल्पिक स्रोतहरुको अभाव भएसँगै शेयर बजार र यसको कारोबारको विषयमा चासो बढ्दै गईरहेको छ । सबै तह तप्काका मानिसहरुलाई यसले आकर्षित मात्र गरेको छैन, कतिपय सर्वसाधारणले त यसमा गरेको लगानीबाट आर्थिक चमत्कार नै गरेर देखाएका छन् । सरकारले शेयर बजारका लागि त्यस्तो कुनै नियम बनाएको छैन, जुन व्यवसायका लागि उमेर, लिङ्ग, पेशा, ओहदा आदि कुनै पनि कुराले रोकावट गरोस् । जानेर होस् या नजानेर शेयर कारोबारलाई व्यवसायका रुपमा अंगाल्नेहरु बढिरहेका छन् । अझ धितोपत्र बोर्डले ल्याएका राम्रा राम्रा कार्यनीतिहरुले त पुँजी बजारको दायरालाई अझ फराकिलो बनाएको छ । गत वर्षको कार्तिकमा बोर्डको अध्यक्षमा नियुक्त भएका पँजी बजार विज्ञ डा. रेवत बहादुर कार्कीले आफ्नो कार्यकालको उत्तरार्धको समयमा नै शेयर बजारका धेरै पक्षको सुधार गर्ने प्रतिबद्धता दिएअनुरुप कार्यान्वयनमा लागेका छन् । उनको भनाइअनुसार सबैभन्दा प्रभावकारी कार्य बनेको छ, डिम्याट प्रणाली । 

के हो डिम्याट प्रणाली ?
डिम्याट प्रणालीले नेपाली शेयर बजारलाई आधुनिकीकरणतर्फ लाने र भोलीका दिनमा नेपाली पुँजी बजार दक्षिण एसियामै सबैभन्दा उत्कृष्टका रुपमा चिनिने कुरामा विश्वस्त छन् डा. कार्की । ०६४ देखि सुरु भएको आंशिक स्वचालित प्रणालीलाई ०७२ माघदेखि पूर्ण स्वचालित सेवाका रुपमा यसलाई आरम्भ गरिएको हो । डिम्याट प्रणालीको पूर्ण सञ्चालन पश्चात् शेयर बजारमा कारोबार गर्दै आएका लगानीकर्ताहरुले कारोबार सञ्चालनमा आफुलाई धेरै सहज भएको बताएका छन् । शेयर बजारको अवस्थाबारे सम्पुर्ण जानकारीहरु घरमै बसिबसि थाहा पाउन सकिने प्रावधान डिम्याट प्रणालीको छ ।

लगानीकर्तामा उत्साह
शेयरधनी तथा लगानीकर्ताले धितो बन्धकी राख्दा त्यसलाई रोक्का तथा फुकुवा गर्नुपर्दा सम्बन्धित बैंकमा खोलिएको डिम्याट खातामार्फत काम गर्न सकिन्छ । सम्बन्धित कम्पनीले शेयरधनीलाई उपलब्ध गराउने लाभांश तथा बोनस शेयर लिनका लागि फरक–फरक कम्पनिमा धाइरहनुपर्ने अवस्थाको अन्त्य भई डिम्याट खाता मार्फत कार्य हुँदै आइरहेको छ । 

बिना डिम्याट खाता शेयर कारोबार गर्न नपाइने भएपछि प्रायः शेयरधनीले डिम्याट खाता खोलिसकेका छन् । सँगसँगै वाणिज्य बैंकबाहेक अन्य विभिन्न कम्पनी तथा शेयरधनीहरु डिम्याट खाताको लागि दर्ता हुने क्रम बढिरहेको छ । हालसम्म डिम्याट खाताका लागि दर्ता गर्ने  कम्पनीको सङख्या २ सय १ पुगेको छ । “शेयर बजारमा लगानी गर्नका लागि भएको जागिर पनि छोड्नु पर्दैन न त आफ्नो अन्य व्यवसाय नै । यसमाथि डिम्याट प्रणालीको कार्यान्वयन हाम्रा लागि त असाध्यै खुसिको कुरा हो ।” सोमबार राजधानीको जाउलाखेलस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा भेटिएका एक लगानीकर्ताले भने । 

धितोपत्र राफसाफ र फछ्र्यौटमा सहजता
विगत ७ वर्ष देखि नै धितोपत्रको राफसाफ तथा फछ्र्यौट कार्यलाई पूर्ण स्वचालित गराउने उद्देश्य लिई केन्द्रिय निक्षेप प्रणालीको स्थापना तथा संचालनका लागि निकै ठुलो लगानी भइसकेको भएतापनि यसको पूर्ण रुपमा संचालन हुन नसक्दा धितोपत्रको राफसाफ र फछ्र्यौट कार्य स्पष्ट हुन सकेको थिएन । बोर्डका अध्यक्ष कार्कीले डिम्याट कारोबार पश्चात् धितोपत्रको कारोबार, राफसाफका साथै फछ्यौट कार्य दक्ष एवं प्रतिस्पर्धी हुँदै जाने कुरामा विश्वास लिएका छन् । 

धितोपत्र विवरण हराउने समस्याको अन्त्य
देशको पुर्व, पश्चिम तथा उत्तर, दक्षिणका सम्पूर्ण लगानीकर्ताहरुले धितोपत्र बजार तथा यसको कारोबारबारे सम्पुर्ण जानकारी उपलब्ध गराउन, लगानीकर्तालाई सुरक्षित र विश्वसनीय महशूस गराउनका लागि डिम्याट कारोबारले निकै ठुलो सहयोग गरेको छ । साथै, कारोबारको विवरण हराउने, च्यातिने चोरी हुने जस्ता डरहरुबाट पाएको छुटकारा लगानीकर्ताहरुका लागि अमुल्य सम्पति भएको छ । 

शेयर बजारको ऐतिहासिक गति
डिम्याट कारोबार अघि औसत दैनिक ४०–५० करोड रुपैयाँको कारोबार हुने गरेकोमा डिम्याट पश्चात् हाल औसत दैनिक ७०–८० करोड रुपैयाँभन्दा माथिको कारोबार हुन थालेको छ । आगामी माघदेखि डिम्याट प्रणालीलाई काठमाडौँ बाहिर पनि लागु गर्ने ब्यवस्था गरेको छ, यसकार्यले पुँजी बजार विकाशमा अझ टेवा पुग्ने, र प्रतिस्पर्धी बजारमा स्थान ओगट्न सफल हुँदै जाने कुरा सम्झँदा पनि खुसी मान्छन् डा. कार्की । 

नेपालमा पुँजी बजारको सुरुवात भएको दुई दशक भइसकेता पनि अरु मुलुकको तुलनामा यसको विकास र विस्तार भने प्रारम्भिक चरणमा नै छ । हाल नेपालको शेयर कारोबार डिम्याट प्रणालीमा गएपछि एसियाली मुलुकमा नेपाल पाचौं स्थानमा रहेको छ ।      

विशेषगरी पुँजी बजार पुर्वाधार, सुचिकृत कम्पनिहरुको संख्या, बजार मुल्य तथा शेयर कारोबार रकमको आधारमा दक्षिण एसियाली पुँजी बजारको तुलना गरिन्छ । जसरी बजारमा एउटा मात्र अनलाइन सिस्टम “डिम्याट” को प्रयोगबाट नेपाली शेयर बजार अन्य देशहरुजस्तै आधुनीकिकरण तर्फ प्रवेश गर्यो, विदेशी प्रविधि, पुँजी र नेपाली नागरिकको साथ र सहयोगबाट भविष्यको नेपाली पुँजीबजार एसियाली मुलुकमा मात्र नभएर विश्वमै प्रवेश गराई यसको विकास र विस्तार गराउनेतर्फ अर्थविद् तथा धितोपत्र वोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीको दृढ विश्वास छ ।