अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले मंहगो ब्याजदरमा कर्जा दिएर व्यापार गर्ने दिन सकिएको बताएका छन् ।
ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल मर्ज भएपछि शुक्रबार एकिकृत कारोबारको सुरुवात गर्दै अर्थमन्त्री खतिवडाले ठूलो बैंक बनेपछि ब्याजदरलाई मात्र हेर्न नहुने बताएका हुन् । उनले अर्थतन्त्रको संरचना परिवर्तन भएको अवस्थामा व्यापारमा मात्र लगानी गर्ने भन्दा मध्यकालिन र दिर्घकालीन लगानी बढाउन ध्यान दिनुपर्ने बताए । त्यसका लागि ठूलो आकारको बैंक हुँदा सहज हुने उनको भनाई थियो । उनले अल्पकालिन लगानीबाट दिगो आर्थिक विकास लिन नसकिने बताउँदै ठूलो पूँजी निर्माणका लागि ठूलो बैंक आवशयक रहेको समेत बताए ।
उनले ठूलो बैंकले विदेशी वित्तीय संस्थाबाट पूँजी भित्र्याउने क्षमता बढाउन सक्ने उल्लेख गर्दै अब कर्मचारीको वृद्धि विकास र सूचना प्रविधिमा लगानी बढाउन समेत आग्रह गरे । उनले ठूलो बैंक भएपछि ठूलो परियोजनामा मात्र लगानी गर्ने र साना तथा मझौला उद्यमीहरुमा कर्जा प्रवाह कम गर्ने अवस्था आउन नदिन बैंकहरुले साना तथा मझौला कर्जा प्रवाह गर्ने (एसएमई) डेस्कलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले मर्जरपछि बैंकहरु ठूलो बन्दै जानु अर्थतन्त्रका लागि सकारात्मक भएको बताए । उनले बैंकहरुले प्रविधिमा लगानी बढाई पछिल्लो समय देखिएका चुनौतिलाई कम गर्नुपर्नेमा जोड दिए । गभर्नर नेपालले बैंकमा रहेका कर्मचारीलाई चेकबुक कसलाई दिनुपर्छ भन्नेसम्म थाहा नहुने अवस्था आउन नदिन क्षमतावान कर्मचारी छनोटमा ध्यान दिन आग्रह गरे ।
ग्लोबल आइएमई बैंक र जनता बैंक गाभिएपछि देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । ठूलो बैंकले अर्थतन्त्रमा विषेश महत्व राख्ने भन्दै अर्थमन्त्री खतिवडाले पूँजी निर्माणकालागि बैंकका अन्य सूचकहरुमा ध्यान दिन समेत आग्रह गरे ।
एकिकृत कारोबार सुरु
ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले एकआपसमा गाभिएर शुक्रबारदेखि एकिकृत कारोबारको सुरुवात गरेका छन् ।
अर्थमन्त्री खतिवडाले शुक्रबार बिहान एकिकृत कारोबारको सुरुवात गरेपछि दुई बैंकहरुले औपचारीक रुपमा एक भएको घोषणा गरेका हुन् । मर्जरपछि बनेको बैंकको अध्यक्ष ग्लोबल आइएमईका चन्द्रप्रसाद ढकाल बनेका छन् ने बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका पर्शुराम कुँवर क्षेत्री रहेका छन् । बैंकको नाम भने ग्लोबल आइएमई बैंक रहेको छ ।
नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।