बैंक तथा वित्तीय संस्थामा रहेका सर्वसाधारणको गोप्य विवरण चोरी गरेर रकम झिकेको भेटिएपछि प्रहरीले १९ वटा बैंक/फाइनान्सका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र कर्मचारीमाथि अनुसन्धान सुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले तीन विकास बैंक, तीन फाइनान्स र १३ वटा वाणिज्य बैंकका सञ्चालक तथा कर्मचारीमाथि अनुसन्धान थालेको हो ।
‘सर्वसाधारणको गोप्य खाता कर्मचारी र सञ्चालकको मिलेमतोबिना गिरोहको पहुँचसम्म पुग्नै सक्दैन, यस विषयमा हामीले सूक्ष्म अनुसन्धान गरिरहेका छौं,’ डीएसपी बोगटीले कान्तिपुरसँग भने, ‘पक्राउ परेका व्यक्तिका साथबाट बरामद कागजात तथा अन्य तथ्य र प्रमाणका आधारमा १९ बैंक/वित्तीय संस्थाका सञ्चालक र कर्मचारी अनुसन्धान दायरामा छन् ।’
प्रहरीले बैंकको रकम चोरीमा संलग्नबाट सेञ्चुरी बैंक, आईसीएफसी फाइनान्स, लक्ष्मी बैंक, मञ्जुश्री फाइनान्स, ज्योति विकास बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, जनता बैंक, एनआईसी एसिया बैंक, सिभिल बैंक, बैंक अफ काठमान्डु, गोर्खाज फाइनान्स, कैलाश विकास बैंक र युनाइटेड फाइनान्सका गोप्य कागजात बरामद गरेको छ । त्यस्तै एनसीसी बैंक, एभरेस्ट बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंकका एटीएम, चेकबुक, खाता खोल्न प्रयोग गरिने कागजात, २ हजारभन्दा बढी व्यक्तिका नागरिकताको फोटोकपी, ६ सयभन्दा बढी व्यक्तिका बैंक खाताको हस्ताक्षर बरामद गरिएको प्रहरीले जनाएको छ ।
छानबिनमा परेका बैंकबाट सीसीटीभी फुटेज उपलब्ध गराउनसमेत प्रहरीले पत्र पठाइसकेको छ । राष्ट्र बैंकले अनुसन्धानमा कुनै कसर बाँकी नराख्न प्रहरीलाई आग्रह गरेको छ । ‘गोप्य विवरणसम्म पहुँच बनाएर गिरोहले बैंकबाट रकम अनधिकृत रूपमा झिक्नु गम्भीर अपराध हो, यसमा जुनसुकै ओहदाका कर्मचारी वा सञ्चालक भए पनि अनुसन्धान दायरामा पर्छन्,’ डीएसपी बोगटीले भने, ‘राष्ट्र बैंकले पनि बैंकका महत्त्वपूर्ण कागजात कसका कारणले बाहिरियो भन्नेबारे सूक्ष्म रूपमा अनुसन्धान गर्न भनेको छ, हामी यसबारे छिट्टै एउटा निष्कर्षमा पुग्छौं ।’ प्रहरीले अनुसन्धान दायरामा परेका बैंकबाट नगद कारोबार विवरण (बैंक स्टेटमेन्ट) समेत झिकाइसकिएको जनाएको छ ।
अनुसन्धानमा परेका बैंक/फाइनान्स
– सेञ्चुरी बैंक
– आईसीएफसी फाइनान्स
– लक्ष्मी बैंक
– मञ्जुश्री फाइनान्स
– ज्योति विकास बैंक
– सिद्धार्थ बैंक
– सानिमा बैंक
– जनता बैंक
– एनआईसी एसिया बैंक
– सिभिल बैंक
– बैंक अफ काठमान्डु
– गोर्खाज फाइनान्स
– कैलाश विकास बैंक
– युनाइटेड फाइनान्स
– एनसीसी बैंक
– एभरेस्ट बैंक
– प्रभु बैंक
– माछापुच्छ्रे बैंक