नेपालका लागि अधिक विकेन्द्रीकरणले जोखिमपूर्ण हुन सक्ने विश्व बैंकका प्रमुख अर्थशास्त्री डा. हान्स टिमरले बताएका छन् । विश्व बैंकको प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै टिमर भने, ‘नेपालको अर्थतन्त्र अन्य देशको तुलनामा फरक छ । थोरै निर्यात र धेरै आयात चुनौतीपूर्ण छ ।’
त्यस्तै, नेपालस्थित विश्व बैंकका नेपाल निर्देशक फारिस हाडाज जेभोर्सले प्रतिवेदनले नेपालसहित विकेन्द्रीकरणमा गएका दक्षिण एसियाली मुलुकको अवस्थाबारे चित्रण गरेको बताए । नेपालको सन्दर्भमा संघीय संरचनाको अवसर रहे पनि थुप्रै चुनौती रहेको भन्दै उनले स्थानीय तहको क्षमता अभिवृद्वि गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं आइआइडिएसका अध्यक्ष डा. स्वर्णिम वाग्लेले भारतसँगै श्रीलंका र पाकिस्तानमा समेत आर्थिक वृद्धिदरमा आएको गिरावटका विषय अध्ययनमा समेटिएको बताए ।
लगातारको उच्च व्यापार घाटाले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्रको जोखिम बढाएको विश्व बैंकको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले आप्रवासी प्राप्त देशहरूमा भौगोलिक तनाव र तेलको अनिश्चितताले मूल्यमा पार्ने प्रभावका कारण रेमिट्यान्समा प्रभाव पार्न सक्ने जनाएको छ । रेमिट्यान्स वृद्धिमा कमी आएमा वित्तीय प्रणालीमा असर गर्न सक्ने जनाएको छ । त्यस्तै, मौसम प्रतिकूलताको प्रभाव पनि नेपालको अर्थतन्त्रमा चुनौती रहेको औँल्याइएको छ ।
जुम्ला चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवाललले स्थानीय तहमा नीति–नियम बने पनि कार्यान्वयनमा चुनौती रहेको बताइन् । संघ, प्रदेश र स्थानीय तहबीच समन्वयनको अभावमा दिगो विकास लक्ष्य हासिल गर्न सचेत बन्नुपर्ने उनले बताइन् । नयाँ पत्रिका दैनिकमा प्रकाशित