कामचलाउ वर्गीकरण प्रक्रिया, कम्पनीहरूले न्यूनतम प्रावधान पनि पूरा गर्न सकेनन्
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत बिहीबार सार्वजनिक गरेको पहिलो त्रैमासिक वर्गीकरण सूचीअनुसार कुल २ सय ९ कम्पनीमध्ये समूह ए र बीमा एक–एक कम्पनी मात्र पर्न सफल भएका छन् ।
सबैभन्दा काम नलाग्ने समूह मानिएको जेड समूहमा १ सय ७१ कम्पनी छन् भने ३६ कम्पनीहरू समूह जीमा छन् । ‘अधिकांश कम्पनीको रेटिङको वैधानिकता सकिएको र कतिपय कम्पनीले समयमै साधारणसभा नगरेकाले पनि खराब समूहको सूचीमा परेका हुन्,’ नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने ।
कम्पनीहरूले ऋणपत्र वा सेयर निष्कासनका क्रममा मात्र रेटिङ एजेन्सीहरूमार्फत रेटिङ गराउनुपर्ने प्रावधान छ । तर, एकपटक गरिएको रेटिङको वैधता एक वर्षका लागि मात्र हुने गर्छ । कम्पनीहरूले वार्षिक रूपमा रेटिङ गराउनैपर्ने बाध्यता नभएकाले पनि अधिकांश कम्पनी खराब समूहमा परेका हुन् ।
हुन त वर्गीकरण प्रणाली सामान्य प्रकृतिको छ । तैपनि, राम्रा कम्पनीहरूसमेत उत्कृष्ट सूचीमा पर्न सकेनन् । केही सामान्य प्रावधानहरू पूरा नगर्दासमेत कम्पनीहरू खराब सूचीमा परेका हुन् । आर्थिक वर्ष समाप्त भएको ६ महिना पूरा भएर पनि साधारणसभा नगर्ने कम्पनीहरूसमेत जी समूहमा पर्ने गरेका छन् । यही कारण नै वर्षौँदेखि लगानीकर्ता ठगेर अस्तित्वमा रहे वा नरहेको ज्ञातसमेत नभएका कम्पनीहरू र बजारमा राम्रा मानिएर मूल्य उच्च रहेका कम्पनीहरूसमेत एकै समूह (जेड समूह) मा अटाएका छन् ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार चुक्ता पुँजी १ अर्ब रुपैयाँ भए, सूचीकरण भएको तीन वर्ष पुगेमा, तीन वर्षदेखि लगातार नाफामा रहेको र लाभांश बाँडेको भएमा समूह एमा पर्न सक्छन् । त्यस्तै, क्रेडिट रेटिङ कम्पनीबाट आधारभूत पक्ष औसतभन्दा माथिको रेटिङ पाएका, समयमै साधारणसभा गरेका र तोकेको ढाँचामा वित्तीय विवरण प्रकाशित गरेमा पनि समूह एमा पर्न सक्छन् ।
समूह बीमा पर्न पनि सामान्य प्रावधान छ । चुक्ता पुँजी ५० करोड, सूचीकरण भएको ३ वर्ष पुगेमा, लगातार दुई वर्ष नाफामा भए, आधारभूत पक्ष औसतभन्दा एक स्तरसम्म तल भए पनि कम्पनीहरू यो समूहमा पर्न सक्छन् । त्यस्तै, समयमै साधारणसभा गरेका र सञ्चित नोक्सानी नभएका कम्पनीहरू पनि समूह बीमा पर्छन् ।
सूचीकरण भएको दुई वर्ष नपुगेका कम्पनीहरूलाई भने जी समूहमा राख्ने गरिन्छ । ए, बी र जी समूहमा नपर्ने कम्पनी स्वतः जेड समूहमा पर्छन् । नेपालमा सूचीकृत कम्पनीहरूको वर्गीकरणका लागि सामान्य प्रक्रिया अपनाइने भएकाले यसै आधारमा लगानीको निर्णय लिन सकिने अवस्था छैन । ‘तीन–चार वर्ष अड्किएर बल्ल वर्गीकरण विनियमावली आयो,’ नेप्सेका एक अधिकारीले भने, ‘तर, अहिले नै वर्गीकरण प्रणाली अद्यावधिक गर्नुपर्ने अवस्था भइसकेको छ ।’
यद्यपि, सूचीकृत कम्पनीहरूले समेत साधारणसभा समयमै नगर्ने, तोकिएको मापदण्डका आधारमा वित्तीय विवरण प्रकाशित नगर्ने गरेका छन् । यसो गर्नु भनेकै कम्पनीहरू लगानीकर्ताप्रति उत्तरदायी नहुनु हो ।
भारतकै उदाहरण हेर्ने हो भने पनि त्यहाँ पनि यस्तै नामकरण गरेर कम्पनी वर्गीकरण गरिन्छ । तर, त्यहाँको वर्गीकरण प्रक्रिया भने वैज्ञानिक देखिन्छ । कम्पनीहरूको सेयर किनबेच गर्न कत्तिको सहज (लिक्विड छन्) छ, हरेक दिन नै कारोबार राफसाफ हुने खालका कम्पनी (नेटिङ प्रक्रिया नअपनाइने सेयर/यो व्यवस्था नेपालमा भने हालसम्म लागू भएकै छैन) हुन्–होइनन्, कम्पनीको सम्पत्तिको आकार, लगानीकर्ताका लागि पूरा गर्नुपर्ने प्रावधान पूरा गरे–नगरेका आधारमा पनि कम्पनीहरू वर्गीकरण गरिएका हुन्छन् । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार