मुलुकमा व्यवसाय गर्न सजिलो अथवा अप्ठ्यारो अवस्था बुझाउने ‘डुइङ बिजनेस प्रतिवेदन २०२०’ मा नेपालले उत्साहजनक सुधार गरेको छ । विश्व बैंकले संसारभरका १ सय ९० मुलुकबीच तुलना गरेर प्रकाशन गर्ने प्रतिवेदनमा नेपालले ९४औँ स्थान हासिल गरेको छ । ५ वर्षअगाडि सन् २०१५ मा समेत नेपाल ९४औँ स्थानमै थियो । गत वर्ष १ सय १०औँ स्थानमा रहेको नेपालले यस वर्ष उत्साहजनक रूपमा १६ स्थान सुधार गरेको हो । नेपालले कुल १ सय अंकमा ६३ दशमलव २ अंकसहित सो स्थान प्राप्त गरेको हो ।
विश्वका १ सय ९० देशहरूमा व्यवसायसँग सम्बन्धित नियम–कानुनहरूको अवस्था मूल्यांकन गरेर हरेक वर्ष डुइङ बिजनेस प्रतिवेदन प्रकाशन गर्ने गरिन्छ । विदेशी लगानीकर्ताले कुनै पनि देशमा लगानी गर्ने निर्णय गर्नुअघि डुइङ बिजनेस प्रतिवेदनमा सम्बन्धित मुलुकको अवस्थालाई समेत हेर्ने गर्छन् ।
प्रतिवेदन तयार गर्दा विभिन्न १० सूचक र त्यसभित्र पनि अनेकौँ उपसूचकका आधारमा व्यवसाय गर्ने वातावरण कस्तो छ भनेर तुलना गर्ने गरिन्छ । व्यवसाय दर्तादेखि बन्द गर्दासम्म पूरा गर्नुपर्ने प्रक्रियामा लाग्ने अवधि, लागत, जनशक्ति, कागजपत्रका आधारमा कुन देशमा व्यवसाय गर्न कति सजिलो हुन्छ भनेर तुलना गर्ने गरिन्छ । प्रतिवेदनका अनुसार नेपालले गत वर्षको तुलनामा निर्माणको अनुमति लिने, ऋण लिने, विदेशमा व्यापार गर्ने तथा करार कार्यान्वयन गर्ने प्रक्रियाहरूमा सुधार गरेको छ ।
‘नेपाल सरकारले व्यवसाय गर्न सहज होस् भनेर विभिन्न कानुन तथा प्रक्रियागत सुधारहरू गरिरहेको छ, खासगरी भवन निर्माण अनुमति, कर्जा सूचना, सीमापार व्यापार र करार सम्झौताको कार्यान्वयनमा सरकारले गरेका सुधारका कारण नेपालले उल्लेखनीय प्रगति गर्न सकेको हो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिरकुमार ढुंगानाले बताए ।
कुन क्षेत्रमा सुधार ?
सम्पत्ति दर्तासम्बन्धी सूचकमा सुधार आएको छ । सम्पत्ति दर्ता गर्दा लाग्ने समय एक दिन बढे पनि लागत भने कुल मूल्यको १४ दशमलव ८ प्रतिशतबाट घटेर ८ दशमलव ६ प्रतिशतमा झरेको छ । अस्थायी भवन निर्माणको अनुमति लिने लागत घटेको हो । त्यस्तै, भवनको गुणस्तर नियन्त्रण सूचकमा सुधार आएको छ । त्यस्तै, ऋण लिनेसम्बन्धी सूचकमा पनि नेपालले सुधार गरेको छ । खासगरी, कर्जा सूचनाको गहिराइसम्बन्धी सूचकमा उल्लेख्य सुधारका कारण ऋण लिन सजिलो भएको प्रतिवदेनको ठहर छ । त्यस्तै, सीमापार व्यापारमा लाग्ने अवधि र लागत घटेका कारण सोसम्बन्धी सूचकमा पनि नेपालले सुधार गरेको छ ।
दक्षिण एसियामा तेस्रो
डुइङ बिजनेस प्रतिवेदनका अनुसार दक्षिण एसियामा नेपाल व्यवसाय गर्न सजिलो मुलुकमध्ये तेस्रोमा परेको छ । नेपालभन्दा अगाडि भारत ६३औँ र भुटान ८९औँ स्थानमा छन् । नेपालभन्दा पछाडि श्रीलंका ९९औँ, पाकिस्तान १ सय ८औँ स्थानमा छन् ।
व्यवसाय गर्न सजिलो बनाउने सन्दर्भमा उल्लेख्य सुधार गर्नेमा दक्षिण एसियाली मुलुकहरू परेका छन् । दक्षिण एसियाका भारत, पाकिस्तान र अफगानिस्तान डुइङ बिजनेसमा सबैभन्दा सुधार गर्ने २० मुलुकमध्येमा परेका छन् । व्यवसाय गर्ने हिसाबले विश्वमा सबैभन्दा सजिलो मुलुक न्युजिल्यान्ड बनेको छ । त्यसपछि क्रमशः सिंगापुर, हङकङ, डेनमार्क र दक्षिण कोरिया परेका छन् ।
कुन क्षेत्र झनै खस्कियो ?
व्यवसाय सुरु गर्ने र सम्पत्ति दर्ता गर्ने प्रक्रिया अझै खराब भएको प्रतिवेदनले उल्लेख गरेको छ । व्यवसाय सुरु गर्ने वेला सामाजिक सुरक्षा कोष तथा स्थानीय तहको वडामा पनि दर्ता गर्ने व्यवस्थाका कारण अवधि र लागत बढेकाले त्यसमा नेपालको स्तर खस्केको हो । वडा कार्यालयमा व्यवसाय दर्ता गर्दा २ दिन तथा सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा ५ दिन समय थप लाग्छ । त्यस्तै, सामाजिक सुरक्षा कोषमा निःशुल्क आबद्ध हुन सकिने भए पनि वडामा भने २ हजार शुल्क तिर्नुपर्छ । ‘त्यस्तै, सम्पत्ति दर्ता गर्दा अनलाइनमार्फत नै निवेदन दिन सकिने भए पनि पास गर्न भने कार्यालयमा उपस्थित हुनुपर्छ, त्यसलाई पनि अनलाइनमार्फत गर्न सकियो भने यसमा पनि सुधार हुन्छ,’ सचिव ढुंगानाले भने ।
बिजुली जोड्ने, अल्पसंख्याक लगानीकर्ताको संरक्षण गर्ने, कर तिर्ने र टाट पल्टेको समस्या समाधान गर्नेसम्बन्धी व्यवस्थामा भने कुनै परिवर्तन नभएको प्रतिवेदनले उल्लेख गरेको छ । गत वर्ष डुइङ बिजनेस प्रतिवेदनमा नेपालको स्थान कमजोर हुँदा त्यसलाई सरकारले प्रतिष्ठाको विषय बनाएको थियो । त्यसो हुँदा यसबीचमा व्यवसायसम्बन्धी कानुन सुधारमा सरकारले उल्लेखनीय कदम चालेको प्रतिवेदनले औँल्याएको छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।