Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

१९ महीनापछि फेरि घट्यो विप्रेषण शोधनान्तर स्थितिमा सुधार, घट्यो आयात

२०७६ कार्तिक ७ गते

नेपाल भित्रिने रेमिट्यान्स (विप्रेषण) आप्रवाह १९ महीनापछि फेरि घटेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको आँकडाअनुसार विप्रेषण आप्रवाह भदौ महीनामा शून्य दशमलव ३ प्रतिशतले घटेको हो । यसअघि २०७४ पुसमा पनि विप्रेषण प्रवाह घटेको थियो । तर, त्यसपछिका १९ महीनामा विप्रेषणको वृद्धि निरन्तर सकारात्मक रहेको थियो ।

गत आर्थिक वर्ष (आव) मा वैदेशिक रोजगारमा जानेको संख्या उल्लेख्य रूपमा घट्दा त्यसको असर विप्रेषणमा परेको हुनसक्ने रेमिट्यान्स व्यवसायमा संलग्न व्यवसायीहरूको भनाइ छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले भने विप्रेषण आप्रवाहमा घटबढ भइरहने बताए । ‘भदौमा विदेशी विनिमय दरमा केही कमी आएको थियो । विनिमय दरमा आएको कमीले पनि विप्रेषण वृद्धिदर घट्न गएको हो । यसअघिको ट्रेन्डलाई हेर्दा दशैं र त्यसपछिका चाडपर्वमा विप्रेषण बढेको देखिन्छ,’ उनले भने । राष्ट्र बैंकका अनुसार आव २०७६/७७ को पहिलो २ महीनामा आयात १ दशमलव २ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा आयात ३८ दशमलव ५ प्रतिशतले बढेको थियो । यस अवधिमा हवाईजहाज तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायत वस्तुको आयात घटेको राष्ट्र बैंकले बताएको छ । त्यस्तै, मुलुकको निर्यात २५ दशमलव ९ प्रतिशतले वृद्धि भई रू. १८ अर्ब ५० करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा निर्यात ८ प्रतिशतले वृद्धि भएको थियो । 

शोधनान्तरमा सुधार 
देशबाट बाहिरिने रकमभन्दा भित्रिने रकम बढेपछि चालू आवको भदौसम्ममा शोधनान्तर स्थिति रू. ८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा शोधनान्तर स्थिति रू. २५ अर्ब ४५ करोडले घाटामा रहेको थियो । यस आवको पहिलो महीनादेखि शोधनान्तर  बचत हुन थालेको हो । तर, चालू खाता घाटामा भने केहि कमी आए पनि अझै यो घाटामै छ । चालू आवको भदौसम्ममा चालू खाता घाटा रू. २१ अर्ब ७९ करोड रहेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो घाटा रू. ३५ अर्ब १६ करोड रहेको थियो । 

बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८ दशमलव ४ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । वस्तु मात्रै आयात गर्दा भने ९ दशमलव ६ महीनालाई धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ ।

मुद्रास्फीति ६ दशमलव १६ प्रतिशत
भदौसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव १६ प्रतिशत रहेको छ । समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६ दशमलव ५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलव ८९ प्रतिशत रहेको छ । गत भदौसम्ममा महीनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा माछा र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको राष्ट्र बैंकले बताएको छ । त्यसैगरी गैरखाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः लुगा तथा जुत्ता, घरायसी उपयोगिताका वस्तु तथा सेवा र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।    आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार । 

Ad