२०७३ असार १० गते

ब्रिटेनको हलचलले विश्व बजारमा मच्चायो हंगामा : ठूलो झट्का भारतलाई

eu stockनवराज कुँवर – ब्रिटेन यूरोपेली संघ (इयू) बाट बाहिरिने निश्चित भएसंगै दुनियाँभरकै वित्तीय क्षेत्रमा त्यसको प्रभाव परेको छ । बिहिबार भएको जनमतसंग्रहको परिणाम शुक्रबार बिहान आएपछि नेपालसहित दुनियाँका धेरै मुलुकको वित्तीय क्षेत्र प्रभावित बनेको हो ।

ब्रिटेनको वित्तीय क्षेत्रमा कस्तो प्रभाव पर्यो ? 
पहिलो कुरा त डलरको तुलनामा पाउण्डमा तीन दशकयताकै भारी गिरावट आएको छ । डलरको तुलनामा ब्रिटिस पाउण्डको मुल्य १० प्रतिशतसम्मले घटेको हो । सन १९८५ पछि पाउण्डको मूल्यमा यति धेरै गिरावट आएको यो पहिलो पटक भएको ब्रिटेनका संचार माध्यमले जनाएका छन् । युरोको तुलनामा पाउण्डको मूल्यमा ७ प्रतिशतको गिरावट आएको छ भने युरोको मूल्य पनि डलरको तुलनामा ३.३ प्रतिशतले झरेको छ । जनमतसंग्रह हुँदै गर्दा सम्म पाउण्डमा खासै त्यसको प्रभाव देखिएको थिएन । तर जब इयुबाट ब्रिटेन हट्नुपर्छ भन्ने पक्ष बलियो बन्दै गयो, त्यसपछि पाउण्डमा गिरावट आउन सुरु भयो र शुक्रवार पाउण्ड डलरको तुलनामा १० प्रतिशतले घट्यो । बिहिवार जनमत संग्रह हुँदै गर्दा १.५ डलर बराबर एक पाउण्डको सटही दर थियो तर परिणाम सार्वजनिक भएपछि एक डलर ३५ सेन्टमै एक पाउण्ड साट्न सकिने भएको छ । बैंक अफ इंग्ल्यान्डले वित्तीय क्षेत्रमा परेको प्रभावलाई ध्यानमा राखेर मुद्रा स्थिरताका लागि आवश्यक कदम चाल्ने बताएको छ । यसको मतलब अब मुद्रा स्थितरता कायम गर्न केन्द्रीय बैंकले हस्तक्षेप गर्ने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ ।  
 
ब्रिटेनको शेयर मार्केटमा आएको प्रभाव
लन्डन स्टक मार्केट अन्तर्गत शेयरको मुल्यमा ८ प्रतिशतको गिरावट आएको छ । बीबीसीका अनुसार लन्डन स्टक एक्सचेन्जको सूचीमा रहेका १०० ठूला कम्पनी ‘फुटसी’का मूल्यमा ५०० अंकको गिरावट आएको छ । ब्रिटेनका बैंकहरु बारक्लिजÞ र आरबिएसको शेयर मूल्यमा ३० प्रतिशतको गिरावट आएको छ ।
ब्रिटेन मात्र नभएर दुनियाँ भरिकै शेयर बजार प्रभावित भएको छ । ब्रिटिस बजार बन्द भएका कारण अहिलेसम्म शेयर बजारमा परेको प्रभावको पूर्ण विवरण त आइसकेको छैन तर अहिलेसम्म देखिएका लक्षणहरुले केही दिन हंगामा मच्चाउने देखिएको छ ।

एशियाली मुलुकहरुमा परेको प्रभाव
भारतको सेसेक्स ९४० अंकको गिरावटसहित खुलेको थियो । तर पछि २१५ अंक रिकभर गरेको छ । त्यसैगरी निफ्टी पनि ३०० अंकको गिरवाटसहित खुलेको थियो अहिले त्यसमा ७० अंकको रिकभर भएको छ । चीनको बेञ्चमार्क इन्डेक्स ०.५० अंकको गिरावटसहित २८७७ अंकमा झरेको छ । हङकङको बेञ्चमार्क इन्डेक्स दुई प्रतिशत झरेर २०४५४ अंकमा आएको छ । बीबीसीले जनाएअनुसार शुक्रबार जापानको बेञ्चमार्क इन्डेक्स निक्केइमा आठ प्रतिशतको गिरावट अर्थात १२ सय अंकको गिरावट आएको छ ।
 
नेपाली रुपैयाँमा यस्तो प्रभाव पर्यो  
व्रिटेनको हलचलपछि डलरको तुलनामा पाउण्डमात्र घटेन, नेपाली रुपैयाँमा पनि त्यसको ठूलो प्रभाव देखिएको छ । अब १ डलर साट्न १ सय ९ रुपैयाँ २० पैसा तिर्नुपर्छ । व्रिटेनमा भएको जनमतसंग्रहको मतपरिणाम आउनुअघिसम्म १०७ रुपैयाँ ९६ पैसामा १ डलर साट्न सकिन्थ्यो । ‘नेपाली मुद्रामा आएको गिरावटको कारण हो’, भारतीय मुद्रा राष्ट्र बैंकका एक अधिकारीले भने, ‘भारतीय मुद्रामा गिरावट आएपछि स्वतः नेपाली मुद्रामा गिरावट आएको हो ।’

भारतको वित्तीय क्षेत्रमा ठूलो झट्का  
इयु छाड्ने ब्रिटेनी नागरिकको निर्णयपछि भारतको वित्तीय क्षेत्रमा ठूलो झट्का लागेको छ । शुक्रबार बिहानदेखि भारु पनि ओरालो लागेको छ । यूरोपेली युनियनबाट ब्रिटेन बाहिरिने फैसला भएसंगै त्यसको प्रभाव भारतीय र नेपाली मुद्रामा पनि परेको हो । भारुमा त मार्च महिनायताकै ठूलो गिरावट आएको छ । भारतीय मुद्रामा अहिले डलरको तुलनामा ६६ पैसा गिरावट आएको हो । यसअघि ६७ रुपैयाँ २५ पैसा बराबर एक डलर हुन्थ्यो भने अब एक डलर साट्न ६७ रुपैयाँ ९१ पैसा तिर्नुपर्ने हुन्छ । बीबीसी हिन्दीले भारतीय रुपैयाँमा आएको गिरावट रोक्न केन्द्रीय बैंकले डलरको विक्री बढाएको जनाएको छ । अहिले भारतको केन्द्रीय बैंकले बैंकहरुमार्फत डलर विक्री गर्न थालिसकेको छ । मुम्बई स्टक एक्सचेन्जको संवेदी सूचकांक सेंसेक्समा ९५० भन्दा बढी अंकको गिरावट आएर खुलेको छ । त्यही नेशनल स्टक एक्सचेन्जको सूचकांक निफ्टीमा समेत ३ प्रतिशतको अत्याधिक गिरावट आएको छ ।

भारतका वित्त मन्त्री र गभर्नरले बोले
ब्रिटेनी जनताले लिएको ऐतिहासिक निर्णय र त्यसपछिको प्रभावबारे भारतीय वित्त मन्त्री अरुण जेटली र भारतीय रिजर्भ बैंकका गभर्नर रघुराम राजनले समेत आफ्नो राय प्रस्तुत गरेका छन् । वित्त मन्त्री जेटलीले भनेका छन्, ‘हामी जनमत संग्रहबाट ब्रिटिस जनताले लिएको निर्णयको कदर गर्दछौँ । यो बेला, हामी हाम्रा बैंक तथा वित्तीय क्षेत्रमा पर्न सक्ने प्रभावप्रति अवगत छाँै ।’ त्यस्तै आरबीआईका गभर्नर राजनले आरबीआई कुनै पनि आकस्मिक स्थितिसंग लड्न तयार रहेको बताएका छन् । उनले भनेका छन्, ‘जरुरी परेको खण्डमा हामी मद्रा बजारमा हस्तक्षेप गर्नेछाँै । रुपैयाँको मूल्यमा अन्य मुद्राको तुलनामा कम गिरावट आउनेछ ।’

सुनको मूल्यमा ऐतिहासिक प्रभाव
त्यस्तै युरोपेली युनियन(ईयु) बाट बेलायत छुट्टिने निर्णयसँगै सुनको भाउ तोलामै ३ हजार रुपैयाँले बढेको छ । यो बृद्धि ऐतिहासिक हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि  एकैदिन १९ सय रुपैयाँसम्म वृद्धि भएको थियो । महासंघका अनुसार शुक्रबार प्रतितोला छापावाला सुन ५९ हजार रुपैयाँमा कारोबार भएको छ । बिहीबार प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्र्तराष्ट्रिय बजारमा पनि प्रति औसत सुन ७३  अमेरिकी डलरले बढेको छ । शाक्यका अनुुसार ईयुबाट बाहिरिने निर्णय लगत्तै अन्र्तराष्ट्रिय बजारमा शेयर भाउ घटेको छ । यस्तै, चाँदीको भाउ ३० रुपैयाँले  बढेको छ । महासंघका अनुसार बिहीबार प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार  बढेर ८ सय २० रुपैयाँ खरिदबिक्री भएको छ ।