अर्थमन्त्री डा.युवराज खतिवडाको नाम जोडेर दुई पटकसम्म सेयर बजार उकालो लाग्ने प्रयास भए पनि त्यसो हुन सकेन। बुधबार नेप्से ४ दशमलव ९८ अंक घटेर ११ सय ४० अंकमा झरेको छ। नेपाल स्टक एक्सचेन्जमा कारोबार रकम पनि ओरालो लाग्न थालेको छ। यसले बजार अझै घट्नसक्ने सम्भावना देखाउँछ। दुई साताअघि अर्थमन्त्रीले सेयरमा लगानी गर्न आह्वान गरेकोभन्दै नेप्से परिसूचक दुई दिनमा ५० अंकको ‘बाउन्स ब्याक’ भएको थियो।
तीनदिन यता अर्थमन्त्रीको कार्यकाल नथपिने र उनलाई हटाउने सोचमा प्रधानमन्त्री रहेको भन्ने समाचार आएपछि बजार पुनः उकालो लाग्यो। यसपटक भने दुई दिनमै २० अंकमात्रै बढेर ओरालो लागेको छ। ‘अहिले एकाथरी लगानीकर्ता कुनै पनि नाममा बजार बढाएर नाफा सुरक्षित गर्ते योजनामा छन्,’ एक ब्रोकर भन्छन्, ‘अर्काथरी लगानीकर्तालाई चाहिँ दसैंले छोइसकेको छ। उनीहरूलाई सेयर बजारको वास्तै छैन।’ त्यसै पनि घट्दो बजारमा लगानीकर्ताको आकर्षण कमजोर हुने गर्छ। यस्तो बेला बजारबारे लगानीकर्ताको ध्यान केन्द्रित नहुने उनी बताउँछन्।
बैंक तथा वित्तीय संस्थामा देखिएको लगानीयोग्य पैसाको अभाव र चार्डपर्वको माहोलले अहिलेको अवस्थामा बजार उकालो लाग्ने आधार प्रशस्त नगर्ने ब्रोकर बताउँछन्। बुधबार म्युचुअल फन्ड र ‘अन्य’ बाहेक सबै समूहगत परिसूचक ओरालो लागेका छन्। बजार खुलेको केही मिनेटपछि नै ओरालो लाग्न थालेको नेप्से लगातार घट्दो प्रक्रियामै बन्द भएको छ। यसले आगामी दिनमा पनि बजार ओरालो लाग्ने सम्भावना बलियो देखिन्छ। अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित समाचार ।