September 21st, 2019

दशैँका नयाँ नोट : अधिकतममा १८ हजारसम्म साट्न पाइने

नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि १७ गतेसम्म नयाँ तथा सुकिलो नोट सटही गर्ने भएको छ । वालुवाटार स्थित केन्द्रिय बैंककोे मुद्रा व्यवस्थापन विभागले आगामी असोज २१ गतेको बडादशैँलाई लक्षित गर्दै यस्ता नोट सटही गर्न लागेको हो । 

केन्द्रिय बैंकले औपचारिक रूपमा यस पटक कुल सटही रकम भने तोकेको छैन । तर सर्वसाधारणलाई रू. ५, रू. १०, रू.२०, रू.५० र रू. १०० दरका एक–एक पाकेट गरी प्रति व्यक्ति अधिकतम रू. १८ हजार ५०० का नयाँ तथा सफा नोट सटही सुविधा उपलब्ध गरेको छ । तर गत वर्षको दशैंको तुलनामा प्रतिव्यक्ति अधिकतम नोट सटही सुविधा घटाइएको छ । गत वर्ष सबै दरका नोट प्रतिव्यक्ति अधिकतम २७ हजारसम्मका सफा तथा नयाँ नोट साट्ने सुविधा दिएको थियो ।

उक्त नोट सर्वसाधारणले वालुवाटार स्थित केन्द्रिय बैंकको मुद्रा व्यवस्थापन विभागबाहेक विराटनगर, जनकपूर, बीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट साट्न पाउने छन् । यसका साथै, केन्द्रिय बैंकको नोट कोष रहेका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका देशभरका सबै शाखामार्फत सीमित रूपमा सर्वसाधारणले सुकिला र नयाँ नोट साट्न पाउने छन् । 

यसबाहेक सर्वसाधारणले आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट समेत सो अवधिमा नयाँ नोट साट्न सकिने राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताए । गत वर्ष कात्तिक २ गतेको बडादशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले असोज २१ गतेदेखि सर्वसाधारणलाई नयाँ तथा सफा नोट सटहि गरेको थियो । गत वर्षको दशैंमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले करीब १३ अर्ब रुपैयाँको नयाँ नोट सटही गर्ने लक्ष्य लिए पनि करीब १२ अर्ब रुपैयाँ नयाँ नोट सटही गरेको थियो । विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले यस पटक तोकिएको अवधिमा करीब साढे १२ अर्ब रूपैयाँ सटही हुनसक्ने अनुमान गरेका छन् ।

नेपाल राष्ट्र बैंकले काठमाण्डौं उपत्यकामा तोकेका मुख्य स्थानहरू :

  • नेपाल बैंक लिमिटेडको शाखा कार्यालयहरू : न्यूरोड, किर्तिपूर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपूर शाखा
  • राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालयहरू : सिंहदरबार प्लाजा (केन्द्रिय कार्यालय), सिंहदरबार परिसर, टेकु, नयाँ बानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा
  • कृषि विकास बैंक लिमिटेडका शाखा कार्यालयहरू : गौशला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखा ।

नोटको जतन नगरे कारबाही
आम सर्वसाधारणलाई राष्ट्र बैंकले टिका लगाइ दक्षिणा दिँदा पूजा आजा गर्दा वा अन्य कुनै धार्मिक वा साँस्कृतीक कार्य गर्दा रंग लागेका वा मैलिएका हातहरूले नोट छुदा त्यस्ता नोट चलनचल्तीमा आउन नसक्ने भएकाले यस्ता कार्य नगर्ने अनुरोध गरेको छ । 

साथै, आफूलाई आवश्यक पर्नेभन्दा बढी रकम बैंकमा जम्मा गर्न सुझाएको छ । नेपाली नोटमा कुनै वहानामा रंग लगाउने, लेख्ने, केरमेट गर्ने , नोटको आकार विगार्ने जस्ता कार्य गरी नेपाली नोटको दुरुपयोग गर्ने तथा गराउनेलाई प्रचलीत कानूनअनुसार कारबाही गरीने बारे सचेत हुन राष्ट्र बैंकले जानकारी दिएको छ ।  आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]