September 11th, 2019

बैंकमा कर्मचारी भर्ना गर्न अलगै कार्यविधि बनाउनुपर्ने

बैंक तथा वित्तिय संस्थाहरूले कर्मचारी भर्ना गर्दा अब अलगै कार्यविधि व्यवस्था गर्नुपर्ने भएको छ । सोही कार्यविधिअनुसार उत्कृष्टताको आधारमा निष्पक्ष र पारदर्शी हुने गरी कर्मचारी भर्ना गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । यसअघि छुट्टै कार्यविधि बनाउने व्यवस्था थिएन । बैंकका सञ्चालक लगायतले आफ्ना मान्छे कर्मचारीमा राख्ने गरेकोे गुनासो आएपछि केन्द्रिय बैंकले यस्तो व्यवस्था गरेको हो ।

केन्द्रिय बैंकको एकीकृत निर्देशन, २०७६ मा कर्मचारीहरुले पालना गर्नु पर्ने आचरण सम्बन्धी यसअघिको व्यवस्थालाई खारेज गरिएको छ । उक्त व्यवस्थामा तालीम तथा वृत्ति विकास खर्चको गणना गर्दा गत वर्षको कुल कर्मचारी खर्चलाई आधार लिनु पर्ने व्यवस्था थियो ।

यसैगरी बैंकका सञ्चालकको संयोजकत्वमा गठित समिति तथा उप– समितिका सदस्यहरुको बैठक भत्ता सञ्चालक समिति सरह र अन्य पदाधिकारीहरुको भत्ता सञ्चालककोभन्दा कम हुने गरी सञ्चालक समितिले तोके बमोजिम हुने भएको छ । यसअघि समितिका सदस्यहरुको बैठक भत्ता सञ्चालक समितिका सदस्यले पाउने बैठक भत्ताभन्दा बढी नहुने गरी तोक्नु पर्ने व्यवस्था थियो ।

बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक बीच कुनै किसिमको कारोबार भएमा अब उक्त कारोबारको विस्तृत विवरणसहितको जानकारी मासिक रुपमा केन्द्रिय बैंक सुपरिवेक्षण विभागमा बुझाउनु पर्ने भएको छ । उनीहरूले यस्तो जानकारी महीना समाप्त भएको १५ दिन भित्र पेश गर्नुपर्ने भनिएको छ । यसअघि यस्तो व्यवस्था थिएन ।

साँवा र ब्याज नियमित तिरेका ऋणीले कर्जा नविकरण गर्न सक्ने
कालोसूचीमा परेका तर साँवा, ब्याज नियमित तिरेका ऋणीले कर्जा नविकरण गर्न सक्नेछन् । तर कालोसूचीमा समावेश भएका ऋणीलाई बैंक तथा वित्तिय संस्थाबाट कर्जा प्रदान गर्नमा बन्देज छ ।

गैरकोषमा आधारित सुविधा वा क्रेडिट कार्डबाट सृजना भएको कर्जा (फोर्स कर्जा)को हकमा कर्जा शीर्षकमा लेखांकन भएको ९० दिन नाघेमा उक्त ऋणीलाईसमेत कालोसूचीमा समावेश गरिने छ । यसअघि उक्त शीर्षकको र सो अवधिकालाई कालोसूचीमा राख्ने व्यवस्था थिएन ।

बैंकले रू. १ लाखसम्मको क्रेडिट कार्ड कर्जा प्रवाह गर्दा ऋणीको बारेमा कर्जा सूचना केन्द्रबाट जानकारी लिन नपर्ने व्यवस्था गरेको छ । साथै, सुनचाँदी, मुद्दति रसिद र सरकारी सुरक्षणपत्र धितो कर्जा दिंदा ऋणीको सूचना लिनु पर्दैन । यस बाहेकका कर्जा प्रवाहमा भने ऋणीको बारेमा केन्द्रबाट जानकारी लिनुपर्ने छ । आर्थिक अभियान दैनिकमा प्रकाशित समाचार 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]