Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सेयरमा लगानी गर्न इच्छुकले ५० प्रतिशतसम्म ऋण पाउने, बढीमा एक वर्षभित्र तिर्नुपर्ने

२०७६ भाद्र २० गते

लामो समयदेखिको बहुप्रतीक्षित रहेको सेयर ब्रोकरले पनि सेयर लगानीकर्तालाई कर्जा प्रवाह गर्न सक्ने व्यवस्थाका लागि सम्बन्धित निकायले सम्पूर्ण तयारी पूरा गरेका छन् ।

अब केही साताभित्रैदेखि सेयर लगानीर्ताकलाई ‘मार्जिन लेन्डिङ’ कर्जा प्रवाह गर्न थालिने सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)का प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले जानकारी दिए । ‘हामीले प्राविधिक सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ,’ गुप्ताले भने, ‘अब आगामी सञ्चालक समितिको बैठकले पारित भएलगत्तै सेवा सुरु हुनेछ ।’

कारोबार राफसाफ गर्न मिल्ने ‘मार्जिन कारोबार पुल खाता’ तयार गर्न नसकेकाले यो सेवा सुचारु हुन सकेको थिएन । लगानीकर्ताले मार्जिन कारोबारअन्तर्गत खरिद गरेको धितोपत्र जम्मा हुने गरी छुट्टै हितग्राही खाता ‘मार्जिन कारोबार पुल खाता’ हुनुपर्नेमा यो व्यवस्था नभएका कारण यो सेवा सुचारु हुन सकेको थिएन । मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधिले लगानीकर्ताले मार्जिन कारोबारअन्तर्गत खरिद गरेको धितोपत्र जम्मा हुने गरी छुट्टै हितग्राही खाता हुनुपर्ने व्यवस्था गरेको छ । तर, सिडिएससीको विनियमावलीमा यस्तो व्यवस्था थिएन । यसमा पाँचौँ संशोधन गरी उक्त व्यवस्था कायम गरिएको छ । 

अब सिडिएससीले केही नमुना (मक टेस्ट) कारोबार गरेर परीक्षण गर्नेछ । नमुना कारोबार सफल भएसँगै नियमित कारोबार गर्न थालिने गुप्ताले जानकारी दिए । यता, धितोपत्र ब्रोकरहरूले पनि मार्जिन कर्जा प्रदान गर्न सम्पूर्ण पूर्वाधार तयार भइसकेको जनाएका छन् । ‘हामीले अनुमति पाएको ३ महिना भयो,’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले भने, ‘हामी तयारी अवस्थामा छौँ । अब सिडिएससीलाई अलग्गै खाता बनाउन १–२ दिन मात्र लाग्ला । त्यसपछ हामी पनि कर्जा दिन सक्ने हुन्छौँ ।’

कसरी पाइन्छ कर्जा ? 
सुरुमा कर्जा लिने वेलामा सेयर मूल्यको ५० प्रतिशत रकम ऋणीले जम्मा गर्नुपर्ने हुन्छ । कर्जा पाइसकेपछि भने ४० प्रतिशत मात्र पुर्‍याइराख्नुपर्छ । त्योभन्दा कम भएमा ब्रोकरले ऋणीलाई सूचित गरेर रकम थप गर्न आग्रह गर्नेछ । यस्तो आग्रहलाई मार्जिन कल भनिन्छ । मार्जिन कल आएको तीन दिनभित्र रकम जम्मा गर्नुपर्ने हुन्छ । तीन दिनभित्र त्यसो गर्न नसके  ब्रोकरले लगानीकर्ताको मन्जुरीमा ग्राहकको मार्जिन खातामा रहेको सेयर बिक्री गरेर ४० प्रतिशत मार्जिन पुर्‍याउन सक्छ । तर, मूल्य घटेका कारण वास्तविक मार्जिन ३० प्रतिशतभन्दा कम भएमा ब्रोकरले ग्राहकको अनुमति नै नलिई ब्रोकरले सेयर बिक्री गरेर ४० प्रतिशत मार्जिन पुर्‍याउन सक्छ ।

कस्ता ब्रोकरले कर्जा प्रदान गर्न सक्नेछन् ? 
मार्जिन कर्जा प्रवाह गर्न धितोपत्र ब्रोकर कम्पनीको चुक्ता पुँजी कम्तीमा ५ करोड रुपैयाँ हुनुपर्छ । यस्ता कम्पनीले बैंकसँग ऋण ल्याएर र आफ्नो स्वपुँजीबाट कुल नेटवर्थ (सम्पत्ति) को दुई गुणासम्म मात्र ग्राहकलाई कर्जा दिन सक्नेछन् । यसका लागि नेप्से र राष्ट्र बैंकबाट २१ ब्रोकरमध्ये १४ वटाले अनुमति पाइसकेका छन । ७ ब्रोकर कम्पनी प्रक्रियामा छन् । ब्रोकर कम्पनीले नेटवर्थमध्येबाट कम्तीमा २ करोड रुपैयाँ नियमित सञ्चालन र राफसाफका लागि जगेडामा राख्नुपर्छ । 

ब्याजदर ब्रोकरले नै तोक्ने 
ब्रोकरले आफ्नो पुँजी वा बैंकबाट ऋण लिएर लगानीकर्तालाई ऋण दिन सक्छ । यस्तो कर्जाको ब्याजदर तोक्ने अधिकार अहिले ब्रोकरलाई नै दिइएको छ । ब्रोकरहरूले कति ब्याज लिन पाउने भनेर कार्यविधिमा तोकिएको छैन । ‘तत्काललाई यो तोकेका छैनौँ,’ धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले भने, ‘पहिलो चरणमा ब्रोकरको काम हेर्नेछौँ, आवश्यक देखिएमा मात्र हस्तक्षेप गर्नेछौँ ।’ 

ब्रोकरले एक ग्राहकलाई नेटवर्थको १० प्रतिशत मात्र ऋण दिन सक्ने 
ब्रोकरहरूले एक ग्राहकलाई आफ्नो नेटवर्थको १० प्रतिशतभन्दा बढी लगानी गर्न पाउँदैन । त्यस्तै, ग्राहकले एकभन्दा बढी ब्रोकरबाट मार्जिन कर्जा लिएर कारोबार गर्न पाउँदैनन् । यस्तो कर्जा दीर्घकालीन लगानीकर्ताले नभई छोटो अवधिमा नाफा देख्ने लगानीकर्ताले लिने गर्छन् । ‘यस्तो कर्जा नियमित कारोबार गर्ने (ट्रेडस)ले लिन्छन्,’ ब्रोकर नरेन्द्रराज सिजापतिले भने, ‘बजारमा उच्च नाफा देख्ने लगानीकर्ताले यस्तो कर्जा लिन्छन् ।’ कार्यविधिमा यसको अवधि तोकिएको छैन । तर, साधारणतया एक वर्षका लागि मात्र यस्तो कर्जा दिने गरिन्छ । अहिले ब्रोकरहरूले भने ३–३ महिनाका लागि मात्र प्रवाह गर्ने मनस्थिति बनाएका छन् । 
  
निश्चित कम्पनीको सेयर हुनेलाई मात्र कर्जा 
कारोबार हुने सबै कम्पनीको सेयरमा ग्राहकले कर्जा पाउनेछैनन् । कार्यविधिले यसका लागि निश्चित मापदण्ड पुगेको कम्पनी तोक्न सक्ने व्यवस्था गरेको छ । कम्तीमा १० हजार सेयरधनी भएको, चुक्ता पुँजीभन्दा खुद सम्पत्ति कम नभएकोलगायतका मापदण्ड तोकिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रत्येक आर्थिक वर्षका लागि यस्ता कम्पनीको सूची तयार पारेर सार्वजनिक गर्नुपर्छ । यस्तो सूचीलाई आव सकिएको ७ महिनाभित्रमा अद्यावधिक गर्नुपर्छ । 

मार्जिन कारोबार सुरु भइनसके पनि नेप्सेले मार्जिन कर्जा लिएर सेयर किनबेच गर्न सकिने कम्पनीहरूको सूची सार्वजनिक गरिसकेको छ । सूचीमा ११ वाणिज्य बैंक, ९ लघुवित्त, ६ विकास बैंक, ३ जलविद्युत् कम्पनी, एउटा होटेल र एउटा सञ्चार कम्पनी छन् । 

के हो मार्जिन कर्जा

सेयरमा लगानी गर्न चाहने इच्छुक व्यक्तिले सेयर ब्रोकरबाट लिन पाउने कर्जालाई ‘मार्जिन कर्जा’ भनिन्छ । त्यसका लागि सेयर लगानीकर्ताले आफूले लगानी गर्न चाहेको ५० प्रतिशत रकम जम्मा गर्नुपर्छ र बाँकी ५० प्रतिशत रकम सेयर ब्रोकरबाट ऋण पाउनेछन् । सेयरको बजार मूल्यको ५० प्रतिशत रकम कर्जास्वरूप पाइनेछ ।   

अहिले पनि बैंकहरूले सेयरधनीलाई कर्जा दिने व्यवस्था छ । तर, बैंकहरूले सेयर प्रमाणपत्र भएका सेयरधनीलाई मात्र त्यही प्रमाणपत्र धितो राखेर कर्जा दिने गर्छन् । र, यसरी लिएको कर्जा रकम जुनसुकै कामका लागि पनि प्रयोग गर्न सकिन्छ । 

तर, यो मार्जिन लेन्डिङमा ब्रोकरले सेयरमा लगानी गर्न चाहने सम्भावित लगानीकर्तालाई मात्र कर्जा उपलब्ध गराउनेछ । ऋणीले सेयरमा मात्र लगानी गर्नुपर्छ । अन्यत्र गर्न पाइँदैन । 

यो कर्जा विशेष गरी छोटो अवधिका लागि मात्र प्रदान गरिने हुन्छ । कति अवधिका लागि ऋण प्रदान गरिने भन्ने तोकिएको छैन । तर, सेयरमा छोटो अवधिमा नाफा कमाएर तिरिहाल्ने मनसाय भएका व्यक्तिले यस्तो ऋण लिन सक्नेछन् । नयाँपत्रिका दैनिकमा प्रकाशित समाचार 

Ad