June 20th, 2016

७ अर्बभन्दा बढी अमेरिकी लगानी भित्रिँदै : कुन क्षेत्रमा कति ? (विवरणसहित)

dollarसंयुक्त राज्य अमेरिकाका ३ सय २२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा ७ अर्ब ३३ करोड ३० लाख रुपैँया लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । अमेरिकाका सबैभन्दा बढी १ सय ४८ उद्योगको लगानी नेपालको सेवा क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार अमेरिकी उद्योगको आकर्षण स्वफ्टवयर क्षेत्रमा देखिन्छ । 

लगानी गर्न स्वीकृति प्राप्त गरेका अमेरिकी उद्योगमध्ये सेवा क्षेत्रमा १ सय ४८ उद्योगको २ अर्ब ६९ करोड ७० लाख रुपैँया, उत्पादनमूलक क्षेत्रमा ७० उद्योगको २ अर्ब १० करोड ३० लाख रुपैँया, पर्यटन क्षेत्रमा ८० उद्योगको १ अर्ब २ करोड १० लाख रुपैँया लगानी रहेको छ । त्यस्तै ऊर्जा क्षेत्रमा तीन उद्योगको १ अर्ब २८ करोड ७० लाख रुपैँया, कृषि तथा वनजन्य क्षेत्रमा २० उद्योगको २१ करोड २० लाख रुपैँया र निर्माण क्षेत्रमा एक उद्योगको १ करोड रुपैँया लगानी छ । विसं २०७३ जेठ मसान्तसम्म स्वीकृत पाएका अमेरिकी उद्योगको उक्त लगानीबाट मुलुकका विभिन्न क्षेत्रमा १६ हजार २ सय ९३ रोजगारी सिर्जना हुने विभागले जनाएको छ ।

विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र छिट्टै सञ्चालनमा आउने विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए । विदेशी उद्योग दर्ता प्रक्रियाको सहजतासँगै मुलुकमा विदेशी लगानी बढ्ने क्रम जारी छ ।

नेपालमा २०४६ सालदेखि हालसम्म विश्वका ८७ देशका जम्मा ३ हजार ५ सय ७८ बढी उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् । त्यसमध्ये सबैभन्दा बढी लगानी भारतीय उद्योगको रहेको छ । भारतपछि दोस्रोमा चीन र तेस्रोमा अमेरिकाका उद्योगले नेपालमा लगानी गरेका बताइएको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]