आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमाससम्ममा १० वाणिज्य बैंकले कुल २१ अर्ब ८८ करोड ५९ लाख खुद नाफा आर्जन गरेका छन् । यो रकम आव ०७४/७५ को सोही अवधिको तुलनामा साढे २१ प्रतिशतले बढी हो । अघिल्लो आव यसै अवधिसम्ममा यी बैंकले १८ अर्ब १ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
सोमबारसम्ममा अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्ने १० वाणिज्य बैंकमध्ये प्रभु बैंकको खुद नाफा वृद्धिदर सबैभन्दा बढी देखिन्छ । अघिल्लो आवको तुलनामा बैंकको नाफा १ सय १२ दशमलव शून्य ५ प्रतिशत बढेको छ । अघिल्लो आव (०७४/७५) मा ९६ करोड ७० लाख नाफा कमाएको सो बैंकले गत आवको अन्त्यसम्ममा २ अर्ब ५ करोड ६ लाख नाफा कमाउन सफल भएको छ ।
समीक्षा अवधिमा नेपाल बैंकको खुद नाफा भने १८ दशमलव ७७ प्रतिशत घटेको छ । अघिल्लो आवको ३ अर्ब २१ करोड नाघेको सो बैंकको नाफा गत आव २ अर्ब ६१ करोडमा सीमित भयो ।
रकमका आधारमा सबैभन्दा धेरै नाफा एभरेष्ट बैंकको रहेको छ भने सबैभन्दा कम कुमारी बैंकको रहेको छ । एभरेष्टले गत असार मसान्तसम्ममा ३ अर्ब ४ करोड खुद नाफा कमाएको छ । सो अवधिसम्ममा कुमारी बैंकको नाफा १ अर्ब ३३ करोड रहेको छ । २१ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेका यी १० वाणिज्य बैंकको वितरणयोग्य मुनाफा भने १८ अर्ब ८ करोड ४५ लाख रुपैयाँ छ । सबैभन्दा बढी वितरणयोग्य मुनाफा नेपाल बैंक लिमिटेडको छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४५ करोड रुपैयाँ छ । सबैभन्दा कम वितरणयोग्य मुनाफा भने कुमारी बैंककै छ । उक्त बैंकको वितरणयोग्य मुनाफा ९६ करोड ७१ लाख छ ।
बैंकहरूको खुद ब्याज आम्दानी भने समीक्षा अवधिमा २५ दशमलव शून्य ६ प्रतिशत बढेर ४४ अर्ब ४५ करोड ५ लाख पुगेको छ । अघिल्लो आवको अन्त्यसम्ममा यी बैंकको ब्याज आम्दानी ३५ अर्ब ५४ करोड ३७ लाख थियो । सो अवधिमा प्रभु बैंकको खुद ब्याज आम्दानी ६२ दशमलव १५ प्रतिशत बढेको छ । नेपाल बैंकको यस्तो आम्दानी ३ दशमल २७ प्रतिशत घटेको छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार