Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मूल्य बढेपछि बैंकमा सुन थुप्रियो

२०७६ श्रावण ६ गते

पछिल्लो समय लगातार मूल्य बढेपछि बैंकमा सुन थुप्रिएको छ । मूल्य बढेसँगै माग माग कम हुँदा व्यवसायीले खरिद गर्न छाडेपछि बैंकमा सुन थुप्रिएको हो । गत महिनादेखि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै आएको छ । बजारमा सुनको कारोबार न्यून भएपछि बैंकमा सुन थुप्रिएको हो । अमेरिका र इरानबीचमा भएको द्वन्द्वका कारणले सुनको मूल्य अकासिएको छ । सुनको मूल्य तोलामा ६५ हजार ५ सय रूपैयाँ पुगेपछि कारोबार अत्यन्त न्यून भएको छ ।
अहिले बजारमा सुनको कारोबार मुस्किलले दैनिक १० किलो हुने गरेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बताए । “कारोबार नभएपछि व्यवसायीसँग पर्याप्त मात्रामा सुन स्टक छ,” उनले भने, “बजारमा सुनको माग नै घटेपछि बैंकमा सुन थन्किएको छ ।” मूल्य बढेपछि बजारमा नयाँ सुन खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्ने क्रम बढेको उनको भनाइ छ ।

व्यवसायीका अनुसार चीन र अमेरिकाको व्यापार युद्धले सुन बजार प्रभावित भएको छ । इरान र अमेरिकाबीच भएको तनावले पनि लगानीकर्ताहरू सुरक्षित स्थान खोज्न थालेपछि पछिल्लो समय सुनको मूल्य लगातार बढ्दै गएको छ । नेपालमा बैंकहरूले सुन आयात गरेर व्यवसायीलाई बेच्ने कानुनी ब्यवस्था छ । बैंकले आयात गर्ने तर व्यवसायीले नकिनिदिँदा सुन थुप्रिएको हो ।
नेपाल बैंकर एसोसिएसनका अनुसार शुक्रबारसम्म बैंकमा ७ सय ४५ किलो सुन थुप्रिएको छ । अहिले बैंकले सुन आयात गर्न बन्द गरेका छन् । गत दुई हप्तादेखि सुन आयात लगभग ठप्पै छ । आर्थिक वर्षको अन्त्यमा सानिमा बैंकले न्यून मात्रामा सुन आयात गरेको थियो । प्रत्येक वर्ष सुन आयात गर्न बैंकहरूले निश्चित कोटा पाउँछन् । जुन आर्थिक वर्षका लगि तोकिएको कोटा हो त्यो कोटा बराबरको सुन सोही वर्ष आयात गरिसक्नुपर्छ । 
दैनिक २० किलो सुन बैंकले आयात गर्दै आएका छन् । माग बढेका बेला नेपालमा दैनिक २५ किलोसम्म सुन आयात हुने गरेको छ । असारको दोस्रो साताबाट सुनको माग लगातार घटेपछि सुन व्यवसायीको अनुरोधमा नेपाल सुनचाँदी व्यवसायी महासंघले केन्द्रीय बैंकलाई आयात कम गर्न सुझाएको थियो । 
स्थानीय बजारमा शुक्रबार सुनको मूल्य पुनः बढेको छ । असार १० गते ऐतिहासिक मूल्य छोएर घटेको सुनको मूल्यले पुनः त्यही मूल्य भेट्टाएको हो । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य ६५ हजार ५ सय रूपैयाँ कायम भएको छ । 
असार १० पछि सुनको मूल्य घटेर प्रतितोला ६४ हजार ३ सय रूपैयाँसम्म झरेको थियो । स्थानीय बजारमा अन्तर्राष्ट्रिय बजारमा कायम हुने मूल्यका आधारमा सुनको मूल्य तय गरिन्छ । व्यवसायीका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १४ सय ४३ डलर १० सेन्ट कायम भएको छ । यो हालसम्मकै सर्वाधिक उच्च मूल्य हो । कारोबार दैनिकबाट 

Ad