June 28th, 2019

अपांगता भएका विद्यार्थीलाई नेपाल टेलिकमद्धारा स्मार्टफोन वितरण

बैंकिङ खबर । नेपाल टेलिकमले सुनसरीमा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन कार्यमा सहयोग पुर्याउने उद्देश्यले सिमकार्डसहित एण्ड्रोइड स्मार्टफोन वितरण गरेको छ । सुनसरीको इटहरीमा एक कार्यक्रमको आयोजना गरी कम्पनीले दृष्टि सम्बन्धी अपांगता भएका बाह्र र स्नातक अध्ययनरत विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन उपलब्ध गराएको हो । कम्पनीका तर्फबाट दूरसञ्चार कार्यालय इटहरीका प्रमुख उप–प्रबन्धक ज्ञानेश दंगालले मोबाइल सेट हस्तान्तरण गरे ।

सो अवसरमा दंगालले मोबाइल सेट र उपलब्ध सञ्चार सुविधाहरुले विद्यार्थीहरुको पढाईमा सहयोग पुर्याउनुका साथै सहज जीवनयापनमा भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । उनले विद्यार्थीहरुले ब्रान्ड एम्बेसडरको रुपमा रहेर कम्पनीको सेवाको बारेमा जानकारी प्रवाह गर्ने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत घनश्याम पाण्डेले सरकारको लगानी र राष्ट्रियताले ओतप्रोत कम्पनीको तर्फबाट गरिएको सानो सहयोगले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सूचना प्रविधिमैत्री वातावरण प्रदान गर्न र थप योग्यता निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो कार्यक्रमका लागि सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्ने मैत्री समाज नेपालका अध्यक्ष प्रमेन्द्र ढकालले दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरुलाई नेपाल टेलिकमले सूचना प्रविधिमार्फत एउटा अवसरको सिर्जना गरिदिएको बताउँदै परीक्षणको रुपमा सहयोग प्रारम्भ गरेकोमा कम्पनीप्रति आभार प्रकट गरे ।

मोबाइल प्राप्त गरेका पदम ठटालले एमपी थ्री बोक्नुपर्ने वाध्यता हटेको र अध्ययनका लागि प्रयोग गर्नुपर्ने विभिन्न एप्सहरु अब एउटै उच्च क्षमताको मोबाइलबाट प्रयोग गर्न सकिने भएकाले निकै हौसला मिलेको बताए । उनी महेन्द्र बहूमुखी क्याम्पस धरानमा शिक्षा संकायतर्फ स्नातक चौथो वर्षका विद्यार्थी हुन् ।

‘आइसिटी फर द स्टुडेण्ट विथ भिजुअल डिसएबिलिटी’ कार्यक्रम मार्फत प्रदेश नम्बर १ मा सुनसरीको इटहरी र कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरुलाई सहयोग गर्ने कम्पनीको कार्यक्रम रहेको छ । यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका जम्मा २० जना दृष्टिविहीन विद्यार्थीहरुलाई कम्पनीको सिमकार्ड सहित एण्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर अत्याधुनिक सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गर्न लागिएको हो ।

विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गतको सुविधा उपयोग गरी ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिहरुका लागि कम्पनीले भ्वाइस सेवामा समेत विशेष सुविधा उपलब्ध गराइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]