बेइजिङ । चीनले अमेरिकी सामानमा करवृद्धि गरेपछि त्यसको असर विश्वबजारमा समेत देखिएको छ । चीनले करिब ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा आगामी जुन १ देखि लागू हुनेगरी करवृद्धि गरेको हो । यसले अमेरिका र चीनबीच लामो समयदेखि देखिदै आएको व्यापार युद्धले तनाव अझै बढ्ने देखिएको छ । चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी निर्णयको प्रतिक्रियास्वरुप भन्दै चीनले पनि करवृद्धि गरेपछि विश्व सेयर बजारमा भारी गिरावट आएको छ । यो गिरावटको सबैभन्दा बढी मार उच्च प्रविधिमा काम गर्ने कम्पनीले व्यहोरेका छन् । अमेरिकी कम्पनी एप्पल, इन्टेल र क्याटरपिलरका सेयर सबैभन्दा धेरै अंकले तल झरेको छ । एप्पलको सेयर एकैदिनमा ५.४ प्रतिशत, क्याटलपिलरको ५ प्रतिशत र इन्टेलको २.४ प्रतिशतले झरेका छन् ।
चीनले अमेरिकी सामानमा करवृद्धिको घोषणा गरेपछि त्यसको असर अमेरिकी शेयरबजारमा समेत देखिएको हो । चीनको निर्णय सार्वजनिक भएपछि अमेरिकाको शेयर बजारकोसूचक मानिने डाउ जोन्स २.४ प्रतिशतले तल झरेको छ । अमेरिकाले चिनियाँ सामानमा करवृद्धिको घोषणा गरेपछि त्यसको प्रतिउत्तरमा चीनले पनि अमेरिकी सामानमाथि थप कर लगाउने निर्णय गरेको हो ।
गत शुक्रवार अमेरिकाले दुई सय अर्ब डलर बराबरका सामानमा थप कर लगाउने घोषणा गरेको थियो । चिनियाँ निर्णयको प्रभावले अमेरिकी शेयर बजारमा पछिल्लो कारोबारको क्रममा डाउ जोन्स छ सय भन्दा कम बिन्दुमा आएर रोकिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा कर वृद्धि गरेर चीनलाई भने कर नबढाउन आग्रह गरेका थिए । तर चीनले ट्रम्पको चेतावनीलाई बेवास्ता गर्दै अमेरिकालाई जवाफ दिने भन्दै मासु, सागसब्जी, फलफूलको रस, खाने तेल, चिया र कफीजस्ता करिब पाँच हजार अमेरिकी सामानमा पाँचदेखि २५ प्रतिशतसम्म कर बढाउने निर्णय गरेको छ ।
चीनले अमेरिकालाई कमजोर नसम्झन चेतावनी दिँदै अन्तिम समयसम्म व्यापार युद्ध लड्ने चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता जेंग सुवाङले भनेका छन्, ‘चीनले पटक पटक करवृद्धिबाट समस्याको हल नहुने बताउँदै आएको छ । व्यापार युद्धले स्वयम् र अन्य देशका लागि पनि नोक्सानी पुग्छ । चीन व्यापार युद्धको पक्षमा छैन तर अमेरिकाले व्यापार युद्ध छेडेमा अन्तिम समयसम्म लड्नेछ । चीनलाई कुनै डर छैन ।’
उनले चीन कुनै बाहिरी दबाबमा नझुक्ने बताउँदै न्यायोचित अधिकारको रक्षाको संकल्प र सामथ्र्य राख्ने बताए । दुई देशबीच व्यापार युद्ध पुनः चर्किएपछि चीनले दिएको यो सबैभन्दा कडा प्रतिक्रिया हो । चीन र अमेरिकाबीच व्यापार युछ अन्त्यका लागि ११ औं पटकसम्म वार्ता भएपनि निश्कर्षमा पुग्न नसकिरहेका बेला शुक्रबार ट्रम्पले करवृद्धिको घोषणा गरेका थिए ।
चीन र अमेरिकाबीच व्यापार युद्ध चर्किएका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भने आगामी महिना जापानमा हुने जी–२० को बैठकका क्रममा भेट हुने अनुमान गरिएको छ । त्यसअघि ट्रम्पले चीनले अमेरिकाबाट धेरै रकम लगिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनले भनेका थिए, ‘चीनले अमेरिकाबाट निकै धेरै फाइदा लिँदै आएको छ । ओबामाको शासनकालभन्दा पनि पहिलेदेखि नै त्यस्तो हुँदै आएको थियो । अहिले पनि चीनले वर्षमा ४०० देखि ६०० अर्ब डलर अमेरिकाबाहिर लगिरहेको छ । अब हामी त्यस्तो हुन दिने छैनौं ।’ बेइजिङले भने अमेरिकी कदमको प्रतिक्रियास्वरूप सोही प्रकारको निर्णय गर्न बाध्य भएको प्रतिक्रिया दिएको छ । राजधानी दैनिकमा प्रकाशित समाचार