बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले ३ दिने सीपमूलक तालिम संचालन गरेको छ । वित्तीय संस्थाले शाखा कार्यालय टिकापुर कैलालीमा आबद्ध सदस्यहरु मध्ये ५० जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने सर्फ, स्याम्फु तथा अचार बनाउने तालिम प्रदान गरेको हो ।
तालिम कार्यक्रमलाई उद्घाटन गर्दै टिकापुर न.पा. वडा नं. ४ का अध्यक्ष श्री लाल बिर चौधरीले यस्तो किसिमको कार्यक्रमले महिलाहरु लाई उद्यमशिल बन्न थप सहयोग पुग्ने कुरा ब्यक्त गरे । कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा शाखा प्रमुख हिरा प्रसाद उपाध्यायले यस कार्यक्रम पश्चात सदस्यहरुको ब्यवसायमा बृद्धी भई यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा वृद्धि हुनुका साथै आत्मनिर्भरता तर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
वित्तीय संस्थामा कार्यरत कल्याणी खरेलले प्रशिक्षण दिएको उक्त कार्यक्रममा तालिमबाट सहभागीहरुले कम लागतमा लुगा धुने सर्फ, स्याम्फु तथा अचार बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए ।
हालै यस वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत झण्डै ६ सय ९६ जना विपन्न महिलाहरुलाई यस प्रकारका सीपमूलक तालिमहरु प्रदान गरिसकेको छ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहनेविचार व्यक्त गरे ।
हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४३ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब १ अर्ब ६१ करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ४० करोड भन्दा बढी निक्षेप संकलन गरेको छ