मिडिया इन्टरनेशलले आर्थिक क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थासंगको सहकार्यमा आइतबार विशेष आर्थिक कार्यक्रम समृद्धिको बाटो आयोजना गर्दैछ । ‘समृद्धि सम्भव छ, सुरुवात आफैँबाट गरौ’ भन्ने नारा दिईएको सो कार्यक्रम मिडिया इन्टरनेशनलको मुख्य आयोजना र उद्योग वाणिज्य महासंघ, नेपाल हस्तकला महासंघ, राष्ट्रिय व्यापार संघ र फुटवेयर एसोसियसन नेपालसंगको सहकार्यमा हुन लागेको हो । राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार बिहान ११ बजे सुरु हुने कार्यक्रमबारे आयोजक मिडिया इन्टरनेशनलका अध्यक्ष एवम् कार्यक्रम संयोजक माधव निर्दोषसंग बैंकिङ खबरका लागि सहकर्मी नवराज कुँवरले गरेको कुराकानी यहाँ प्रस्तुत गरिन्छ ।
यो कार्यक्रमको मुख्य उद्देश्य के हो ?
यो कार्यक्रमको मुख्य उद्धेश्य भनेको उर्जाशील जनशक्तिलाई उत्पादनमूलक क्षेत्रमा लाग्न उत्प्रेरित गर्ने हो । समृद्धिको बाटो देखाउनु हो । विशेष गरि कृषिको क्षेत्रमा सानो पुँजीबाट व्यवसाय सुरु गरी ठूला कृषक तथा उद्यमी बनेका उदाहरणीय व्यक्तिहरुको सफलताका कथा देखाइनेछ ।
नेपाल चौतर्फी रुपमा सिंगारिएको सुन्दर देशमात्र हैन, यो सम्भावनाहरुले भरिपूर्ण देश पनि हो । यहाँ ‘म गर्छु’ भनेर अठोट गरी लाग्ने हो भने समृद्धि सम्भव छ भन्ने कुरा हामी विभिन्न सफल उद्यमीहरुलाई हेरेर भन्न सक्छाँै । हेर्नुस्, विक्रम सम्बत २००७ सालदेखि मुलुकमा विभिन्न राजनीतिक क्रान्तिहरु भए, आन्दोलन् भए, शासन–व्यवस्था नै परिवर्तन भयो । तर आर्थिक क्रान्ति हुन सकेन । मुलुक समृद्ध हुन सकेन, न मुलुकबासी समृद्ध बन्न सके । त्यसैले अब राजनीति र सरकारको भर पर्ने हैन, समृद्धिको बाटो आफै पहिल्याउने र आजैबाट समृद्धि नामको उपलब्धिका लागि मैदान उत्रदै त्यसका लागि काम गर्न थाल्नुपर्छ भन्ने यो कार्यक्रमको सन्देश रहनेछ ।
कार्यक्रममा कस्ता–कस्ता व्यक्तिहरुको सहभागीता रहन्छ ?
खास गरी उत्पादनमूलक क्षेत्रमा लामो समय संघर्ष गरी सफल भएका व्यक्तिहरु मुख्य सहभागीका रुपमा रहनेछन् । यद्यपी आर्थिक बृत्तमा चासो राख्ने, उत्पादनशील क्षेत्रमा लाग्न चाहाने जो कोही पनि यस कार्यक्रममा सहभागी हुन सक्नेछन् ।
कार्यक्रमको मुख्य आकर्षण के हो ?
खासगरी औपचारिक स्वरुपका कार्यक्रमहरुमा कि त राजनीतिक दलका उच्च नेतालाई बोलाइयो भने कार्यक्रमको आकर्षण बढ्छ भन्ने मान्यता छ कि सरकारको कुनै मन्त्रीलाई । तर यस कार्यक्रममा कुनै नेता वा मन्त्रीलाई बोलाएर भाषण गराइनेछैन । यो कार्यक्रम नितान्त ती व्यक्तिहरुको हो, जो ‘ग्राउन्ड लेभल’बाट उत्पादनमूलक क्षेत्रमा क्रियाशील भएर ठूला कृषक वा उद्यमीका रुपमा स्थापित भएका छन्, जो विदेशीको नोकर हैन, यही देशमा पसिना बगाएर समृद्ध बन्न चाहान्छन् ।
अझै कार्यक्रमकै आकर्षणको रुपमा भन्नुपर्दा, चुनौतिका बाबजुत अस्ट्रिच पालेर उदाहरणीय सफलता हात पारेका सीपी शर्माजस्ता व्यवसायी, कफी, दूध उत्पादनमा लागेका कृषकहरु, झण्डै ४ सय गाई पालेर दिनकै दुई÷तीन हजार लिटर दूध उत्पादन गरिरहेका कृषकहरु यस कार्यक्रमका मुख्य आकर्षण हुन् । उनीहरुको सफलताको कथा डकुमेन्ट्रिमार्फत देखाइने छ । त्यसका साथै कार्यक्रममा राष्ट्र बैंकका गभर्नर, विभिन्न मन्त्रालयका सचिव, सम्बन्धीत सरकारी अधिकारी, बैंकर्स, सहकारीकर्मी, विभिन्न वित्तीय संस्थाका प्रतिनिधि, कृषक, व्यवसायी आदीको सहभागीता रहनेछ ।
सरकारको तर्फबाट गर्नुपर्ने कार्यक्रम तपाईहरुकै विशेष पहलमा गर्दैहुनुहुन्छ । के अपेक्षा गर्नुभाको छ यो कार्यक्रमबाट ?
अब सरकार नै जनता हो । हामीले सरकारको मुख धेरै ताक्यौँ । राजनीतिज्ञको आसा पनि धेरै गर्यौँ । तर के पायौँ त ? राजनीतिज्ञले झन् गरिब जनताको भोको पेटमाथी लामो समयसम्म राज गरे । उनीहरु धनी भए, जनता गरिबको गरिब नै भए । त्यसैले अब राजनीतिबाट हैन, समृद्धि आफ्नै मेहतनमा खोज्नुपर्छ ।
हामीले ‘सरकार सरकार’ भनेको २००७ सालको राजनीतिक क्रान्तीपछि नै हो । तर खै के भयो र देख्नेगरीको उपलब्धि ? व्यवस्था जुनसुकै आएपनि मुलुक समृद्ध छैन भने त्यो देशका नागरिक शान्तिसंग बस्न सक्छन ? त्यसैले समृद्धिको बाटो आफैँले कोर्नुपर्छ । आफैले आफ्नो भाग्य लेख्नुपर्छ । त्यसका लागि हामीले गर्न लागेको कार्यक्रमले बाटो देखाउनेछ । उत्प्रेरणा पैदा गर्नेछ ।
कार्यक्रममा कति जति सहभागीहरुको अपेक्षा गर्नुभएको छ ?
आर्थिक क्षेत्रमा क्रियाशील व्यक्तिहरुलगायत यस कार्यक्रममा पाँचहजारभन्दा बढीले सहभागीता जनाउने हाम्रो विश्वास छ । किनभने यहाँ विभिन्न सूचनामूलक स्टलहरु पनि रहनेछन् । कार्यक्रमबाट मानिसहरुलाई आवश्यक आर्थिक सूचनाहरुसमेत प्रदान गरिनेभएकाले सहभागी र अवलोकनकर्ता अझै बढी हुन सक्ने हाम्रो अनुमान छ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
भोली आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विहान ११ बजेदेखि ‘समृद्धिको बाटो’ नामक बृहत आर्थिक कार्यक्रम हामीले आयोजना गरेका छाँै । इच्छुक महानुभावहरुलाई गरिमामय उपस्थितिका लागि आग्रह गर्न चाहान्छु । कार्यक्रमबाट केही पक्कै प्राप्त गर्नुहुनेछ भन्ने विश्वास पनि दिलाउन चाहान्छु । हामीले राजनीतिज्ञलाई अघि बढायौँ, उनीहरुको आसा गर्यौँ । तर उनीहरुले हाम्रो भोटको अपमान गरे । हामीलाई समृद्धितर्फ लान सकेनन् । त्यसैले अब आउनुस् हातेमालो गरेर समृद्धिको यात्रामा सहकार्य गरौँ ।



