अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल दुई वर्षभित्र अति कम विकसित राष्ट्रको अवस्थाबाट स्तरोन्नति हुने भन्दै त्यसको दिगोपनाका लागि साथ दिन एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष ताकेहिको नकाओलाई आग्रह गरेका छन् । एडिबीको ५औँ बोर्डस् अफ गभर्नरको वार्षिक बैठकमा सहभागी हुन फिजी पुगेका अर्थमन्त्री खतिवडाले एडिबीका अध्यक्ष नकाओसँग फिजीको नादीमा भेट गर्दै नेपालको समृद्धिमा साथ दिन आग्रह गरेका हुन् ।
अर्थमन्त्री खतिवडा र एडिबी अध्यक्ष नकाओबीच भएको द्विपक्षीय बैठकमा अध्यक्ष नकाओले नेपालले राजनीतिक तहमा गर्नुपर्ने अधिकांश कार्य पूरा गरिसकेको भन्दै नेपाल आर्थिक तथा सामाजिक विकासमा परिसूचकहरूमा पनि राम्रो प्रगति गर्दै अगाडि बढिरहेको बताए । बैठकमा उनले भूकम्पपछिको पुनर्निर्माणका लागि भएको अन्तर्राष्ट्रिय सम्मेलनमा आफू सहभागी भएकोसमेत स्मरण गरे ।
अर्थमन्त्री खतिवडाले नेपालको वर्तमान समग्र आर्थिक अवस्थाको चित्रण गर्दै मुलुकले यस वर्ष पनि उच्च आर्थिक वृद्धि हासिल गर्न लागेको बताए । निरन्तर उच्च आर्थिक वृद्धि हासिल गर्न पुँजीगत सामग्रीहरूको आयात अत्यावश्यक रहेको भन्दै उनले भूकम्पपछिको पुनर्निर्माणका लागि एडिबीले गरेको सहयोगका लागि धन्यवाद दिए । सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारलगायत केही ठूला आयोजना तत्काल अगाडि बढाउन चाहेको भन्दै उनले त्यस्ता ठूला आयोजनामा सहयोग गर्न पनि एडिबीलाई आग्रह गरे ।
अर्थमन्त्री खतिवडाले हालै सम्पन्न लगानी सम्मेलनमा एडिबीका उपाध्यक्षकै सहभागिता रहनु आफैँमा महत्वपूर्ण भएको भन्दै वर्तमान सरकारले भूकम्पपछिको पुनर्निर्माण आगामी एक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखेको बताए । नयाँ पत्रिकाबाट ।