काठमाडौं : सरकारले खरिद प्रक्रिया सुरु नगर्दा यस वर्ष पनि किसानले समयमै रासायनिक मल नपाउने भएका छन्। आगामी जेठ अन्तिम सातासम्म धान बालीका लागि कम्तीमा डेढ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ। तर मल भित्र्याउन सरकारले पहल गरेको छैन।
धान र मकैलाई कम्तीमा ए चाहिने अनुमान कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ। पहाडी भेगमा जेठ अन्तिम साता र तराईमा असार पहिलो साता धान रोपाइँ सुरु हुन्छ। अर्थ मन्त्रालयको सर्तका कारण समयमा मल ल्याउन नसकिएको दाबी कृषि मन्त्रालयको छ। ‘अर्थले सर्त नराखेको भए बर्खे बालीलाई मल अभाव हुँदैनथ्यो,’ कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका उपसचिव नेत्र भण्डारीले भने, ‘आगामी असारमा कम्तीमा ५० हजार मेट्रिक टन मलको अभाव हुनेछ।’
सर्तकै कारण गत पुसमा अर्थले उपलब्ध गराएको तीन अर्ब रुपैयाँको मल खरिद गर्न नसकिएको उनले बताए। ‘बर्खे बालीको समयमा मल अभाव हुन नदिन अर्थसँग गत पुसमै तीन अर्ब रुपैयाँ माग गर्यौं,’ भण्डारीले अन्नपूर्णसँग भने, ‘तर उपलब्ध रकमबाट मल ल्याउन सर्तले दिएन।’
अर्थले मलमा उपलब्ध ७० प्रतिशत अनुदान ५० प्रतिशतमा झारेर अन्तर्राष्ट्रिय मूल्यका आधारमा बिक्री मूल्य समायोजन गर्न कृषि मन्त्रालयसँग सर्त राखेको थियो। त्यसपछि मल खरिद प्रक्रिया अवरुद्ध भएको हो। किसानको मागअनुसार ६ लाख मेट्रिक टन मल खरिद गर्न कम्तीमा १० अर्ब रुपैयाँ चाहिन्छ। कृषि मन्त्रालयले मल अभाव हुन नदिन अर्थसँग थप तीन अर्ब रुपैयाँ मागेको थियो। चालू वर्षका लागि रासायनिक मल खरिद गर्न ६ अर्ब रुपैयाँ विनियोजन भएको थियो। अन्नपूर्णमा प्रकाशित समाचार ।