Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लाहुरेले बनाए डाँडामा पार्क

२०७६ बैशाख २ गते

सुनसरी — भिक्टोरिया क्रस विजेता ८४ वर्षीय रामबहादुर बेघा लिम्बू दोस्रो पटक धरानको ब्रिटिस गोर्खा स्मृति पार्कमा आउँदा ऊ बेलाको जोस सम्झेर हौसिए । ‘अवकाश पाएर नेपाल आएपछि मैले पनि यस्तै पार्कको कल्पना गरेको थिएँ,’ दुई वर्षअघि आफैंले शिलान्यास गरेको गोर्खा स्तम्भ नियाल्दै उनले भने, ‘यसले गोर्खाको इतिहास र पहिचान जीवित राख्छ, नयाँ पुस्ताले पुर्खाका बारेमा थाहा पाउनेछन् ।’ 

बेघा यस पटक पार्कमा करिब ७५ लाख रुपैयाँ लागतमा तयार गोर्खा चमेना गृह उद्घाटन गर्न आएका थिए । पहिलो र दोस्रो विश्वयुद्धपछि पनि धेरै युद्ध लडेका वीर गोर्खाहरूको अलग इतिहास र पहिचान छ ।

तिनको सम्मान गर्दै इतिहास अभिलेखीकरण र नयाँ पुस्तालाई अध्ययन–अनुसन्धानमा सघाउन गोर्खा लाहुरेहरूले गोजीबाट पैसा हालेर धरान–२० विष्णुपादुकास्थित माछामारा डाँडामा स्मृति पार्क बनाएका हुन् । सिपाहीदेखि विभिन्न पदबाट अवकाश पाएका लाहुरेहरूले डाँडापाखालाई गोर्खाको इतिहास सम्झाउने संग्रहालयका रूपमा विकास गर्न खोजेकामा बेघाले प्रशंसा गरे । ‘यो पार्क पूर्ण रूपमा बने धरान मात्र नभएर प्रदेश १ कै सार्वजनिक सम्पत्ति बन्नेछ,’ उनले भने, ‘पूर्वको पर्यटकीय केन्द्र बन्नेछ ।’

बेलायती महारानीले समेत सलाम गर्ने बेघा एक मात्र जीवित भीसी विजेता हुन् । सन् १९६५ नोभेम्बर २१ मा लान्सकप्रोल पदमा रहेका उनले बोर्नियोको सारवाक युद्धमा देखाएको वीरताको कदरस्वरूप बेलायती महारानीबाट भिक्टोरिया क्रस र अरू उच्च सम्मान पाएका थिए । त्यति बेला उनी २६ वर्षका थिए । फेरि बेलायत गए त्यहाँको रक्षा मन्त्रालय (एमओडी) लाई पार्कका लागि आर्थिक, भौतिक सहयोगको अनुरोध गर्ने उनले बताए । बेघा अहिले झापाको दमकमा बस्छन् ।

 
लाहुरेहरू सामाजिक काम र विकास निर्माणमा जहाँ पनि सक्रिय रहेको र भरसक पारदर्शिता खोज्ने भए पनि प्रशासनिक प्रक्रियामा झन्झट बेहोर्नुपरेको उनको भनाइ छ ।

 
१२ बिघामा फैलिएको पार्कमा हालसम्म ३ करोड ५ लाख रुपैयाँ खर्च भइसकेको छ । दुइटा आकर्षक प्रवेशद्वार, गोर्खा स्तम्भ, दुई होमस्टे, चारतले चमेना गृह, हेलिप्याड, शौचालय, पानीका धारा र ट्यांकी, सवारी पार्किङस्थलजस्ता संरचना बनाइएको पार्क सञ्चालक समिति अध्यक्ष क्याप्टेन हरिबहादुर लिम्बूले बताए । कान्तिपुरमा प्रकाशित समाचार ।
Ad