अर्थतन्त्रलाई चलायमान बनाउनमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको बैंकिङ क्षेत्र पछिल्लो समयमा कर्जा लगानी नियन्त्रणको अवस्थामा छ । बैंक तथा वित्तीय संस्थाले निक्षेप बढाउन नसक्नु र कर्जाको माग उच्च हुनुले बैंकहरुले लगानी नियन्त्रण गरेका हुन् ।
आर्थिक वर्षको प्रारम्भमा बैंकहरुले आक्रामक रुपमा लगानी गरेको हुँदा अहिले कर्जा प्रवाहलाई नियन्त्रण गर्नुपरेको हो । पछिल्ला दिनहरुमा बैंकहरुले विगतमा सम्झौता गरेका कर्जालाई मात्र भुक्तानी गरेको अवस्था छ । बैंकहरुले नयाँ कर्जा नदिने मात्र होइन, आफुले सम्झौता गरेको कर्जा समेत अन्य बेंक तथा वित्तीय संस्थालाई विक्री गरेको अवस्था छ । फागुन महिनामा बैंक तथा वित्तीय संस्थाले ३ हजार १ सय ११ अर्ब निक्षेप संकलन गरी २ हजार ७ सय ८० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अवधिमा वाणिज्य बैंकहश्रले मात्र २ हजार ३ सय ९६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकिङ क्षेत्रमा करिब ३० अर्ब रुपैयाँ बराबरको अधिक तरलता अर्थात लगानीयोग्य रहेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । बैंकहरुले आगामी दिनमा कति लगानी गर्न सकछन भन्ने कुरा बैंकहरुको निक्षेपको स्रोतको अवस्थामा भर पर्ने बताउँदै थापाले भने “अहिले बैंकहरुले पूँजी कर्जा निक्षेप अनुपात औषतमा ७७ प्रतिशत छ ।”
यो अनुपातका आधारमा बैंकहरुमा कर्जा लगानीयोग्य रहेका अझै ३ प्रतिशतको सीमामा रहेको उनको भनाई छ । तर, केन्द्रिय बैंकले गत फागुनमा प्रकाशित गरेको तथ्याङ्कमा बैंकहरुको औषत कर्जा पूँजी तथा निक्षेप अनुपात ८० दशमलव ५३ प्रतिशत रहेको छ । कारोबारमा प्रकाशित समाचार ।