नियामक निकायले ऐन कार्यान्वयनमा चासो नदिँदा सहकारी ऐनविपरीत सहकारी संघसंस्थाहरूमा सञ्चालक समिति चयन हुन थालेको छ । सहकारी ऐन—२०७४ मा एउटै व्यक्ति एकैपटक दुईवटा सहकारी संघसंस्थामा सञ्चालक बस्न नपाउने व्यवस्था गरे पनि ऐन लागू भएयता साधारणसभा गरेका तीन वटा संघहरूमा कानुनविपरीत अध्यक्ष तथा सञ्चालक चुनिएका छन् ।
राष्ट्रिय सहकारी बैंकका साथै जिल्ला बचत तथा ऋण सहकारी संघ काठमाडौं र ललितपुरमा अध्यक्षलगायत अधिकांश सञ्चालकहरूले दोहोरो पद लिएर निर्वाचित भएका छन् । कानुनविपरीत अध्यक्ष तथा सञ्चालक चयन भए पनि नियामक निकाय सहकारी विभागले भने उजुरी नपरेको भन्दै कुनै कारबाही अघि बढाएको छैन ।
सहकारी ऐनको दफा ४१ को उफदफा ४ मा ‘कुनै सहकारी संस्थाको सञ्चालक सोही संस्थाको कर्मचारी वा आफ्नो संस्थाले सदस्यता लिएको सहकारी संस्था बाहेक अर्को कुनै सहकारी संस्थाको सञ्चालक बन्न नपाउने व्यवस्था छ । दफा ४१ को उपदफा ५ मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने उल्लेख छ । यसैगरी ऐनको परिभाषा सम्बन्धी दफा २ (फ) मा ‘सहकारी संस्था’ भन्नाले संस्था वा संघ सम्झनु पर्छ र सो शब्दले सहकारी बैंकलाई समेत जनाउँछ भन्ने व्याख्या गरिएको छ । ऐनका यी व्यवस्थाले एकै व्यक्ति एक भन्दा बढी प्रारम्भिक संस्था या संघमा सञ्चालक बन्न बन्देज लगाएपनि नियामकको वेवास्ताका कारण सहकारी संघसंस्थामा धमाधम ऐनविपरीत हुनेगरी सञ्चालक समितिको चयन भइरहेको छ ।
सहकारी ऐनको व्यवस्थालाई लत्याउदै सहकारी बैंकका साथै बचत संघ काठमाडौं र ललितपुरमा अध्यक्ष तथा सञ्चालकहरूको चयन भएको हो । सहकारी बैंकमा अध्यक्ष केबी उप्रेती र काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघमा दिपक पनेरु र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा रामहरि बजगार्इंको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ । तीनवटै संस्थाका अध्यक्षहरूले दोहोरो पद लिएका छन् ।
बैंकका अध्यक्ष उप्रेती सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षका रूपमा कार्यरत छन् । यसैगरी बचत संघ काठमाडौंमा अध्यक्ष भएका पनेरु नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून)को सञ्चालक समेत रहेका छन् । बचत संघ ललितपुरको अध्यक्षमा निर्वाचित बजगाईंले पनि दोहोरो पद ओगटिरहेका छन् । उनी बैंकको सञ्चालकमा चयन भएपछि बचत संघ ललितपुरको अध्यक्षमा समेत उम्मेदवारी दिएर विजेता भएका छन् । अध्यक्षबाहेक अधिकांश सञ्चालकहरू समेत दोहोरो पद लिइरहेका छन् ।
संघीय प्रणालीअनुसार तल्लो तहबाट प्रतिनिधित्व गर्दै माथिल्लो संघमा आउने भएकाले दोहोरो पदको व्यवस्था कार्यान्वयन नभएको सहकारीकर्मीहरू दावी गर्छन् । “समानान्तर तहका संस्थाहरूमा दोहोरो पद लिन नहुने हाम्रो धारणा हो,” राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेल भने, “ऐनमा असावधानीवस सबै तहका सहकारीलाई एउटै परिभाषामा राखिएकाले अव्यवहारिक व्यवस्था कार्यान्वयन गर्न सकिँदैन ।”
सहकारी विभागका उपरजिष्ट्रार नारायणप्रसाद अर्यालले अहिलेसम्म दोहोरो पद हुनेगरी सञ्चालक समिति निर्वाचित भएकोबारे जानकारी नभएको बताउँछन् । “हामीकहाँ कुनै उजुरी या गुनासो नआएकाले कारबाही नभएको हो,” उनले भने । एउटै व्यक्ति एकै समयमा एकभन्दा बढी संघसंस्थामा सञ्चालक बस्दा स्वार्थ बाझिने भएकाले दोहोरो पदमा बस्न नपाइने व्यवस्था राखिएको उनको भनाइ छ ।
कारोबारमा प्रकाशित समाचार ।