विश्व बैंकले दक्षिण एसियाले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न निर्यातलाई थप प्राथमिकतामा राख्नुपर्ने बताएको छ । निर्यात प्रवद्र्धन गर्न नसक्दा दक्षिण एसियाको आर्थिक अवस्था कमजोर भएको बैंकले जनाएको छ ।
सन् २०१९ मा ७ प्रतिशत तथा सन् २०२० र २०२१ मा ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि गरी दक्षिण एसिया विश्वको सबैभन्दा छिटो आर्थिक वृद्धि गर्ने क्षेत्रमा पर्ने लक्ष्य रहेको विश्व बैंकले जनाएको छ । यो उच्च वृद्धि कायमा राख्न निर्यातमा वृद्धि गर्नुपर्ने विश्व बैंकले जनाएको छ । यो एक वर्षमा दुईपटक गरिँदै आएको क्षेत्रीय आर्थिक अपडेटमा उल्लेख छ । ‘दक्षिण एसियाको निर्यात केही वर्ष यता क्षमताको तुलनामा घटे पनि वृद्धि भने अझै राम्रो देखिएको छ । तर, यो अवस्था कायम रहन्छ वा रहँदैन भन्ने कुरामा हाम्रो चासोे छ,’ दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग स्काफरले भनेका छन् ।
उनले दीर्घकालमा यो वृद्धिलाई सुनिश्चित गर्न दक्षिण एसियाका क्षेत्र अन्तर्राष्ट्रिय बजारमा समावेश हुने, रोजगारी सिर्जना गर्ने र मानिसको समृद्धि उकास्न काम गर्नुपर्नेे भनेका छन् ।
विगत दुई वर्ष यता दक्षिण एसियाभरि निर्यातभन्दा आयातको दर बलियो देखिएको विश्व बैंकले जनाएको छ । सन् २०१७ मा १४ दशमलव ९ प्रतिशत र सन् २०१८ मा १५ दशमलव ६ प्रतिशत आयातमा वृद्धि भएको थियो । सन् २०१७ मा निर्यात ४ प्रतिशत र सन् २०१८ मा ९ दशमलव ७ प्रतिशतले वृद्धि भएको विश्व बैंकको अपडेपले जनाएको छ ।
बैंकको रिपोर्टमा निर्यातमा देखिएको वृद्धि सन् २०१९ र त्यसपछिका वर्षमा पनि कायम रहने बताएको छ ।
सन् २०१७ मा निर्यातको अन्तर जीडीपीको २० प्रतिशत रहेको समेत विश्व बैंकको रिपोर्टमा उल्लेख छ ।
नेपालको सन्दर्भमा नेपालको कुल ग्रार्हस्थ उत्पादन ६ प्रतिशत हुने अनुमान सो रिपोर्टमा गरिएको छ । नेपाल पर्यटनबाट बढी लाभान्वित हुने तथा सबैभन्दा धेरै सिमेन्ट उद्योगबाट सहयोग पुग्ने विश्व बैंकले जनाएको छ । राजधानीमा प्रकाशित समाचार ।