Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लगानी सम्मेलन : १२ खर्ब लगानीको प्रारम्भिक आवेदन

२०७५ चैत्र १७ गते

१३ सरकारी परियोजनामा लगानी आवेदन, निजी क्षेत्रका पनि १५ परियोजनामा विदेशी लगानीको घोषणा र समझदारी

 

नेपाल दक्षिण एसियाको उदाउँदो तारा : सरकार

‘लगानी सम्मेलन २०१९’ मा प्रस्तुत गरिएका ७७ मध्ये १७ वटा परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ताले आवेदन दिएका छन् । दुई दिनसम्म चलेको लगानी सम्मेलनमा सहभागी विदेशी लगानीकर्ताले यातायातका ७, कृषिका ३, लजिस्टिकका १, शिक्षाका २ र ऊर्जाका ४ परियोजनामा लगानीका लागि आवेदन दिएका हुन् । यी परियोजनाको कुल लगानी १२ खर्ब १५ अर्ब रुपैयाँ (१० अर्ब ९५ करोड अमेरिकी डलर) छ । 

विदेशी लगानीकर्ताले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं बाहिरी चक्रपथ, काठमाडौं मेट्रो र बस र्‍यापिड ट्रान्जिट (बिआरटी) काठमाडौंका लागि लगानीको आवेदन दिएका छन् । त्यस्तै, पश्चिम सेती, तमोर, एकीकृत कृषि परियोजना, धुलिखेल मेडिसिटी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायत परियोजनामा पनि आवेदन परेको छ । सरकारले सूचीकृत नगरेका परियोजनामा समेत लगानीका लागि आवेदन आएको छ । विदेशी लगानीकर्ताले पाँच सय ५० मेगावाटको सोलार र लजिस्टिक ब्लक टर्मिनलमा लगानीका लागि आवेदन दिएका हुन् । 

सरकारले लगानी सम्मेलनमा सार्वजनिक क्षेत्रका ५० र निजीका १७ गरी ७७ परियोजनालाई सूचीकृत गरेको थियो । तर, शनिबारसम्म १७  परियोजनामा मात्रै लगानीका लागि आवेदन आएको छ । आवेदनको अन्तिम मिति भने २० अप्रिलसम्म छ । ‘बाँकी समयमा थप आवेदन आउनेछ,’ लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, ‘अहिल्यै कम आयो भनेर विश्लेषण गर्न नमिल्ला ।’ 

यस्ता छन् लगानीका सम्झौता/समझदारी र घोषणा

१. चौधरी ग्रुप र सराफ ग्रुपबीच संयुक्त लगानीमा मल्टिपर्पोज सेन्टर विकास गर्ने सम्झौता । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र सराफ ग्रुपका कार्यकारी निर्देशक सलाह सराफले सम्झौतामा हस्ताक्षर गरे । 

२. चौधरी ग्रुप र स्काई पावरबीच संयुक्त लगानीमा ६ सय मेगावाटको सोलार पावर स्थापना गर्ने सम्झौता । निर्वाण चौधरी र स्काई पावरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केरी एल्डरले सम्झौतामा हस्ताक्षर गरे । 

३. सिजी लाइफसेल र तुर्कसेलबीच  फाइभ–जी नेटवर्क सेवामा संयुक्त लगानी गर्ने सम्झौता । चौधरी ग्रुप ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी र तुर्कसेलका बिजनेस प्रमुख नेजत मुरातद्वारा हस्ताक्षर । 

४. १ सय ६४ मेगावाटको कालिगण्डकी जर्ज जलविद्युत् परियोजना संयुक्त विकास गर्न हाइड्रो सोलुुुसन ग्रुप, नेपाल र सांघाई इन्भेस्टिगेसन डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट कम्पनी लिमिटेडबीच सम्झौता । सम्झौतामा हाइड्रो सोलुसनका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सांघाई इन्भेस्टिगेसनका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख जु जेङसेङले हस्ताक्षर गरेका छन् ।

५. लगानी बोर्ड नेपाल (आइबिएन), इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी) र विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणबीच पिपिपी मोडलमा सिमरा सेज विकास गर्ने सम्झौता । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, सेज प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत चण्डिका भट्ट र आइएफसीका वरिष्ठ लगानी अधिकृत पंकज सिन्हाद्वारा हस्ताक्षर । 

६. सिन्सियर कन्सल्टिङ लिमिटेड र रिसोर्सेस हिमालय बुटिक भिलेज रिसोर्ट प्रालिबीच बनेपामा हिमालय बुटिक भिलेज रिसोर्ट विकास गर्ने सम्झौता । रिसोर्स हिमालयका कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र सिन्सियर कन्सल्टिङका प्रबन्ध निर्देशक एडिइ सियाद्वारा हस्ताक्षर । 

७. गैरआवासीय नेपाली संघ (एनआरएन) र उद्योग विभागबीच नेपालमा लगानी गर्नेगरी १० अर्ब रुपैयाँको कोष स्थापना गर्ने समझदारी । एनआरएनका अध्यक्ष भवन भट्ट र विभागका महानिर्देशक विनोद प्रकाश सिंहद्वारा हस्ताक्षर ।

८. भारतको नेसनल कल्चरल म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेयरहाउस कम्पनी लिमिटेडबीच ग्रेन वेयर हाउसमा संयुक्त लगानी गर्ने सम्झौता । सम्झौतामा नेपाल वेयरहाउसका प्रबन्ध निर्देशक आनन्द बगारिया र नेसनल कल्चरलका कार्यकारी अधिकृत अनुपम कौसिकले हस्ताक्षर गरेका छन् । 

९. नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) र म्यानमार लाइसेन्स्ड कन्ट्र्याक्टर एसोसिएसन (एमएलसिए)बीच पूर्वाधार विकासमा सहकार्य गर्ने समझदारी । महासंघका अध्यक्ष रवि सिंह र एमएलसिएका अध्यक्ष यु किवाद्वारा समझदारीपत्रमा हस्ताक्षर । 

१०. कोरियन इन्भेस्टर (कोसेप)ले २ सय १६ मेगावाटको अपर त्रिशुली–१ जलविद्युत आयोजनामा ६५ करोड अमेरिकी डलर लगानी गर्ने निश्चित गरेको छ । कोरियन इन्भेस्टरका उपाध्यक्ष हाक विन किमले लगानीको घोषणा गरे । 

११. भारतको मुथुट फाइनान्सले नेपालको युनाइटेड फाइनान्समा ३९ करोड ९० लाख रुपैयाँ लगानी गर्ने । मुथुटको नेपाल कन्ट्री हेड अनिल कार्कीले लगानीको घोषणा गरे । 

१२. लगानी बोर्ड नेपाल (आइबिएन) र इन्भेस्टमेन्ट बोर्ड, साउथ अफ्रिकाबीच आपसी सहकार्य गर्ने समझदारी । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र इन्भेस्ट साउथ अफ्रिकाका कार्यकारी प्रमुख युनुस हुसेनद्वारा समझदारीपत्रमा हस्ताक्षर । 

१३. अपि पावर कम्पनी लिमिटेड नेपाल र कँडेल ग्रुप अफ कम्पनी, युकेबीच सोलार पावर (१८ मेगावाट), जलविद्युत परियोजना (९८ मेगावाट) र विन्ड प्रोजेक्ट (१० मेगावाट) विकासमा लागनी गर्ने समझदारी । अपि पावरका अध्यक्ष गुरु न्यौपाने र कँडेल ग्रुपका अधयक्ष राजन कँडेलले समझदारीपत्रमा हस्ताक्षर गरे । 

१४. डोल्पा हिमालयन फाउन्डेसनले जलविद्युतमा ८ करोड डलर लगानी गर्ने । प्रबन्ध निर्देशक सन्दीप साहद्वारा लगानीको घोषणा । 

१५. प्रदेश दुई र सीजी इन्फ्रास्ट्रक्चर प्रालीबीच प्रदेश २ मा सोलार प्लान्ट स्थापना गर्ने समझदारी । निर्वाण चौधरी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु यादवद्वारा समझदारीपत्रमा हस्ताक्षर । 

१६. कुल १ खर्ब १२ अर्ब २८ करोड ८५ लाख रुपैयाँ लगातको ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धतापत्रमा भारतीय तथा नेपाली बैंक र आयोजना विकास गर्ने कम्पनी एसजिभिएनबीच हस्ताक्षर । अरुण ३ मा स्टेट बैंक अफ इन्डियाले ६५ अर्ब ६० करोड, एभरेस्ट बैंक लिमिटेड नेपालले ८ अर्ब १२ करोड ६१ लाख र नबिल बैंक लिमिटेड नेपालले ४ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ लगानी गर्नेछन् । प्रतिबद्धतापत्रमा एसजिभिएनका प्रमुख कार्यकारी अधिकृत सतिश कुमार शर्मा, स्टेट बैंक अफ इन्डियाकासहायक महाप्रबन्धक पिसारोती विनोद कुमार, एभरेस्ट बैंकका उपप्रबन्धक गिरिश कोहली र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरे । 

सम्मेलनमा विदेशी लगानीकर्ताले हालसम्म गरेको लगानीको आवेदन

परियोजना र अनुमानित लगानी (अमेरिकी डलरमा)

-निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (२ आवेदन) : ३ अर्ब

-काठमाडौं बाहिरी चक्रपथ (२ आवेदन) : १ अर्ब ८७ करोड १० लाख

-काठमाडौं मेट्रो रेल : ३ अर्ब

-बस र्‍यापिड ट्रान्जिट (बिआरटी), काठमाडौं : १४ करोड ९५ लाख

-तमोर जलाशय परियोजना (२ आवेदन) : १ अर्ब ३५ करोड

-पश्चिम सेती जलविद्युत् आयोजना : १ अर्ब ४८ करोड

-एकीकृत कृषि परियोजना, उर्लाबारी : ५४ लाख ५० हजार

-एकीकृत कृषि परियोजना, बनेपा र चितवन : ४४ लाख ३० हजार

-एकीकृत कृषि परियोजना, हेम्जा पोखरा : ५६ लाख ३० हजार

-धुलिखेल मेडिसिटी : ७ करोड ४० लाख

-अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (२ आवेदन) : १ करोड ४० लाख

-५५० मेगावाट सोलार (सोकेसबाहिरको) : लगानी नखुलेको

-लजस्टिक बल्क टर्मिनल (सोकेसबाहिरको) : लगानी नखुलेको

तथ्यांकमा लगानी सम्मेलन

-विदेशी पाहुना : ७३५

-स्वदेशी सहभागी : ६००

-विदेशी कम्पनी : ३००

-स्वदेशी कम्पनी : १००

-द्विपक्षीय वार्ता : ६९

-संयुक्त लगानी सम्झौता : ६ 

-लगानीको सम्झौता : ४

-लगानी घोषणा : ३

-लगानी प्रतिबद्धता : १

-सहकार्यको समझदारी : २

कसले के भने 

विदेशी लगानी स्वदेशी लगानीको परिपूरक : पुष्पकमल दाहाल ‘प्रचण्ड’, 
अध्यक्ष, नेपाल कम्युनिस्ट पार्टी 

सम्भवतः अहिले नेपालमा लगानीकर्ताका लागि सबैभन्दा सजिलो राजनीतिक वातावरण छ । हामीले राजनीतिक एजेन्डालाई पार लगाई आर्थिक एजेन्डालाई प्रधान बनाएका छौँ । कानुनी व्यवस्था लगानीमैत्री बनेको छ । विदेशी लगानीको कुरा गरिरहँदा हामीले घरेलु निजी क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिएका छौँ । विदेशी लगानी घरेलु निजी क्षेत्रको लगानीको प्रतिस्थापन होइन, परिपूरक हो ।

नेपाल दक्षिण एसियाको उदाउँदो तारा :डा. युवराज खतिवडा
अर्थमन्त्री तथा लगानी सम्मेलनका संयोजक

लगानीका लागि नेपालमा सर्वोत्कृष्ट क्षेत्रहरू छन्, साझेदारीका लागि सर्वश्रेष्ठ मानिस छन्, लगानी विस्तारका लागि सर्वोत्कृष्ट गन्तव्य छन् र तपाईंले लगानीको सबैभन्दा राम्रो प्रतिफल प्राप्त गर्नुहुनेछ । हामी लगानीकर्तालाई नेपालमा सर्वोत्कृष्ट र व्यावसायिक सहजीकरण र सेवा पनि प्रदान गर्नेछौँ । लगानीकर्ताको रुचि, प्रतिबद्धता र प्रस्ताव हेर्दा नेपाललाई हामी संसारकै उत्कृष्ट लगानी गन्तव्य बनाउन सक्छौँ भन्नेमा विश्वस्त छु । सम्मेलनका सहभागीले नेपाललाई दक्षिण एसियाको उदाउँदो ताराका रूपमा व्यवहार गरेका छन् । 

लगानी गर्न ढिला गर्नेहरू छुट्नेछन् : विनोद चौधरी 
अध्यक्ष, चौधरी ग्रुप

अब वास्तविक काम सुरु हुनेछ । अहिले भएका सम्झौताको प्रगति कस्तो हुनेछ भनेर मानिसहरूले हेर्नेछन् । यहाँ आएका लगानीकर्तालाई ल्याउन सरकारले कस्तो काम गर्नेछ भनेर समेत लगानी गर्नेछन् । यहाँ सहभागी भएका विदेशी लगानीकर्ताहरू नेपालको प्रवक्ताका रूपमा प्रस्तुत हुनेछन् । र, चाँडोभन्दा चाँडो लगानी पनि गर्नेछन् । नेपाल अब तयार भएको छ । तपाईंहरू ढिलो हुनुभयो भने छुट्नुहुनेछ ।

नेपाल चाँडै संसारकै विकसित मुलुक बन्नेछ : केरी अड्लर, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, स्काई पावर
मेरो कम्पनी स्काई पावर सौर्य ऊर्जा विकास गर्ने संसारको सबैभन्दा ठूलो कम्पनी हो । चौधरी ग्रुपसँग मिलेर हामीले यहाँ लगानी गर्दै छौँ । हामी यहाँ ६ सय मेगावाटको सोलार प्लान्ट बनाउन चाहन्छौँ । त्यो मात्रै होइन, यहीँ एसेम्ब्ली प्लान्ट पनि बनाउँदै छौँ । यहाँका मानिसहरू अत्यन्तै लगनशील छन् । यो मुलुकलाई विकसित बनाउन चाहन्छन् । सन् २०३० सम्म नेपालीले मध्यम आय भएको मुलुक बन्ने चाहना राखेका छन् । म विश्वासका साथ भन्न चाहन्छु– नेपाल चाँडै नै विश्वको सबैभन्दा विकसित मुलुक बन्नेछ ।

उद्योगीले भने– लगानी सम्मेलन सफल भयो
सरकारले निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गरेको लगानी सम्मेलन २०१९ सफल भएको उद्योगी–व्यवसायीले बताएका छन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले लगानी सम्मेलन ‘ग्राण्ड सक्सेस’ भएको बताए । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले विदेशमा रहने नेपाली नेपालमा लगानी भित्र्याउन ‘शेर्पा’ बन्न तयार रहेको बताए । ‘सम्मेलनले नेपाललाई लगानी गन्तव्यको रुपमा प्रस्तुत गर्न सफल भएको छ,’ उनले भने । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको ब्रान्डिङमा लगानी सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको बताए । नेपालमा भएको लगानीको सम्भावनाका क्षेत्र, प्रतिफलको अवसर, सरकारको दृष्टिकोण र छुट तथा सुविधाका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिन सम्मेलन सफल भएको शर्माले भनाइ थियो । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार ।

 

Ad