बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले तनहुँको भानुमा सीपमूलक तालिम सम्पन्न गरेको छ । संस्थाले तनहुँ स्थित शाखा कार्यालय भानूुमा आबद्ध ७५ जना महिला सदस्यहरुलाई निःशुल्क रुपमा लुगा धुने साबुन बनाउने तालिम प्रदान गरेको हो । उक्त तालिम प्रशिक्षकमा कल्याणी खरेल रहेकी थिइन् ।
कार्यक्रममा बोल्दै, शाखा प्रमुख रिता श्रेष्ठले यस्ता सीपमूलक तालिमहरुबाट यस क्षेत्रका विपन्न महिलाहरुको आर्थिक क्रियाकलापमा सहयोग पुग्नुको साथै आत्मनिर्भरतातर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
तालिमबाट सहभागीहरुले कम लागतमा साबुन बनाउने तरिका, बजारीकरण लगायतका सम्बन्धमा जानकारी हासिल गरेका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले यस्ता सीपमूलक तालिमहरु सम्पूर्ण शाखा कार्यालयहरुबाट संचालन गरी सदस्यहरुको सीप अभिवृद्धि गरी आत्मनिर्भरता तर्फ उन्मुख गराउन वित्तीय संस्था क्रियाशील रहने विचार व्यक्त गरे ।
हालसम्म संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ४२ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा उपलब्ध गराउँदै आएको छ । लघुवित्तले ३८ करोड भन्दा बढी निक्षेप संकलन गरी करीब १ अर्ब ५७ करोड कर्जा लगानी गरेको छ ।