Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

योजना छ, पैसा छैन ? चिन्ता नगर्नोस् : स्टार्टअप कम्पनी स्टार्ट गर्न ‘अन्तरप्रेरणा’

२०७५ फाल्गुन २७ गते

काठमाडौं । तपाईंसँग आर्थिक उन्नतिको कुनै नयाँ योजना छ तर त्यसमा लगानी गर्ने पर्याप्त रकम छैन भने अब निराश हुनु पर्दैन । त्यसका लागि पैसा जोगाड गरिदिने कम्पनी विकसित देशहरूमा जस्तै नेपालमा पनि स्थापना भइसकेको छ ।

नयाँ विचार र योजनाका साथ शुरू गरिने व्यावसायिक कम्पनीलाई स्टार्टअप कम्पनी भन्ने गरिन्छ । यस्ता कम्पनीका लागि लगानी जुटाइदिने काम पनि निजी लगानीकै कम्पनीहरूले गर्छन् । कतिपय विकसित देशले त त्यस्तो कामका लागि भनेर बजेट पनि छुट्याउन थालिसकेका छन् ।

नेपालमा स्थापना भएकोे यस्तो कम्पनी हो अन्तरप्रेरणा प्रालि, जसले पुतलीसडक चोकबाट डिल्लीबजार जाने बाटोमा रहेको बाटुलेघरमा ‘वर्क इन नेपाल’ (नेपालमा काम गर्नुहोस्) को बोर्ड टाँगेर काम गरिरहेको छ । यसले रू.४० लाखसम्मको लगानी–योजनामा स्थापना हुँदै गरेका स्टार्टअप कम्पनीमा ४० प्रतिशतसम्म रकम लगानी गर्छ ।

‘हामी विशेषतः आर्थिक उन्नतिको नयाँ योजना लिएर आएका व्यक्तिहरूमाथि लगानी गर्छौं,’ अन्तरप्रेरणाका कार्यकारी निर्देशक नीरज खनाल भन्छन्, ‘नाफा भए हाम्रो शेयर हेरी केही नाफा लिन्छौं, व्यवसाय नोक्सानमा गए नोक्सानी पनि बाँड्छौं ।’ उनका अनुसार वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै स्वदेशमा नै रोजगारी सृजना गर्न यसको स्थापना गरिएको हो ।

चार वर्षअघि २०७१ सालमा उद्यमी ओम राजभण्डारी र नीरज खनालले संयुक्त रूपमा यस कम्पनीको स्थापना गरेका हुन् । ‘सानो उमेरदेखि व्यवसायमा हात हालेकाले व्यवसायका कठिनाइहरूबारे मलाई राम्रो ज्ञान थियो,’ घरजग्गा व्यवसायी तथा अन्तरप्रेरणाका अध्यक्ष ओम राजभण्डारी भन्छन्, ‘त्यसकारण पनि नवउद्यमीलाई सहयोग गर्नेगरी यो कम्पनी शुरू गरिएको हो ।’

उनका अनुसार, पहिलो चरणमा यसले नवउद्यमशाला कार्यक्रम अन्तर्गत नयाँ व्यवसायीलाई सशुल्क तालीम दिन्छ । यदि कुनै व्यक्तिसँग नयाँ र आर्थिक हिसाबले बलियो व्यवसायको योजना रहेछ भने थप तालीम दिएर उक्त व्यवसाय स्थापना गर्न लगानी गर्छ ।

लगानीका लागि शुरूमा खनाल र राजभण्डारी लगायतको निजी सम्पत्ति प्रयोग भइरहेकामा हाल कम्पनीले त्यस निम्ति ‘सफल पार्टनर’ नामक कम्पनीसँग सहकार्य गरेको छ । यसले व्यवसायका लागि नेपालमा नपाइने सामग्रीहरू विदेशबाट ल्याइदिने र विदेशी दक्ष व्यक्ति ल्याएर तालीम पनि दिने उनले बताए ।

खनालका अनुसार, अन्तरप्रेरणाले हालसम्म एडमाना नेट, कफी टु गो नेपाल, क्रिएटिभ सर्भिस प्रालि, ड्रोनेपाल, इकाउज इन भ्याली, इक्लिप्स ल्याब्स, इमिनेन्स वेज, हिमालयन एक्सेसरिज प्रालि, हिमर्स, कायो क्रिएटिभ स्टुडियो, लिटल थिंग्स, पाइला टेक्नोलोजी, सोनीटेक, स्रोथकोड गेम्स, वाच नेपाल डटकम आदिको स्थापना गराइसकेको छ ।

यसका साथै ७० उद्यमीमा उद्यमशीलताको विकास गराइसकेको र ६ ओटा कलेजसँग सहकार्य गरी विद्यार्थीलाई व्यवसायबारे जानकारी गराइरहेको उनले जानकारी दिए । अभियानमा प्रकाशित समाचार ।

Ad