Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

जग्गा प्लटिङ कारोबारमा सक्रिय नेपाली सेना

२०७५ फाल्गुन १ गते

सैनिक कल्याणकारी कोषको साढे पाँच अर्ब परिचालन गरेर नेपाली सेनाले विभिन्न नाफामूलक व्यवसाय बढाएको छ । पार्टी प्यालेस, पेट्रोलपम्प, सडक निर्माणदेखि सपिङ कम्प्लेक्स र जग्गा प्लटिङ गरेर बेच्ने कारोबारमा समेत सेना सक्रिय छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको तथ्यांकअनुसार गत मंसिर मसान्तसम्म सेनाले कल्याणकारी कोषमार्फत पाँच अर्ब ५७ करोड २४ लाख ३० हजार रुपैयाँ विभिन्न परियोजनामा लगानी गरेको छ ।

यतिखेर सेनाले इचंगुनारायणमा ४२ करोडको जग्गा खरिद गरी धमाधम प्लटिङ गरेर बिक्री–वितरणको अन्तिम तयारी गरिरहेको छ । उसले भक्तपुरको दुवाकोटमा एक सय २२ रोपनी र काठमाडौंको कीर्तिपुरमा दुई सय २६ रोपनी जग्गा खरिद गरी प्लटिङ गरेको छ । त्यस्तै, प्लटिङ गरेर सुनसरीको इटहरीमा ११ सय ८, पोखराको फूलबारीमा ७२, पोखराकै राधाकृष्ण टोलमा एक सय ५१ र चितवनको पिठुवामा दुई सय ८९ घडेरी सेनाले बिक्री गरिसकेको छ ।

प्लटिङ गरेर तयार पारिएका घडेरी बहालवाला, अवकाशप्राप्त तथा लडाइँमा मृत्यु भएका सैनिक परिवारलाई एकमुष्ठ भुक्तानी वा किस्ताबन्दीमा सेनाले बेच्दै आएको छ । किनबेचबाट हुने मुनाफा कोषमा स्वतः जम्मा हुने सेनाको दाबी छ । तर, सेनाले यसरी व्यवसायमा हात फैलाउँदै गएकोमा सेनाकै पूर्वअधिकारीहरूले समेत आश्चर्य व्यक्त गरेका छन् । पूर्वरथी शिवराम प्रधान भन्छन्, ‘यो राम्रो देखिएन । सेना यस्ता काम र आर्थिक विवादबाट टाढै बस्नुपर्छ ।’ त्यस्तै, पूर्वउपरथी बिनोज बस्न्यात भन्छन्, ‘मेडिकल कलेज स्थापनादेखि नै नेपाली सेना व्यापारउन्मुख देखिन्छ । संसारमा यस्तो बिरलै हुन्छ ।’

संविधानको धारा २६७ को उपधारा १ मा उल्लेख छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि यस संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेनाको एक संगठन रहनेछ ।’ राष्ट्रिय सुरक्षा प्राथमिक दायित्व भएको सेना एकपछि अर्को नाफामूलक व्यवसायमा सक्रिय भएकाले विवादमा परेको छ ।|

सेनाले पाँच अर्बभन्दा बढी लगानी गरेको त्रिचन्द्र मिलिटरी अस्पतालको साततले ‘हेरिटेज बिल्डिङ’ भाडामा लगाउने प्रयोजनका निम्ति प्रक्रिया अगाडि बढाइसकेको छ । त्यस्तै, बुटवलमा रहेको ऐतिहासिक महत्वको टक्सार भत्काएर भाडामा लगाउने प्रयोजनकै लागि व्यापारिक भवन निर्माण गरेको छ । भवनमा साढे ७ करोडभन्दा बढी रुपैयाँ लगानी भइसकेको सैनिक कल्याणकारी कोषको प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौंको भद्रकाली र ललितपुरको लगनखेलमा यसअघि नै सेनाका दुई पेट्रोलपम्प सञ्चालनमा छन् । सेनाले थप दुई पेट्रोलपम्प सञ्चालनका लागि तनहुँको खैरेनीटारमा २ करोड र बुटवलको रामनगरमा साढे २ करोड लगानी गरिसकेको छ । पछिल्लो समय पानी व्यवसायमा समेत सेनाले हात हालेको छ । अहिलेसम्म सेनाले सुन्दरीजलमा सञ्चालनको तयारीमा रहेको पानी उद्योगमा करिब ९ करोड लगानी गरिसकेको छ । सेनाले लामो समयदेखि सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिने सैनिक मुख्यालय परिसरमै सशुल्क ‘पार्टी प्यालेस’ चलाइरहेको थियो । २४ भदौदेखि सो स्थानलाई निजी भोजलाई अनुमति दिन छाडिएको छ ।

आफ्नै बैंक स्थापना गर्ने धोको पूरा नभएपछि सेनाले निजी क्षेत्रको बैंकसँगको सहकार्यमा कोषको पैसा ब्याजमा समेत लगाउन थालेको छ । ‘नेपाल इन्भेस्टमेन्ट बैकसँगको सहकार्यमा रोजगारीमूलक व्यवसाय सञ्चालन गरी आय आर्जन अभिवृद्धि गराउने उद्देश्यले सहुलियतपूर्ण ब्याजदरमा सञ्चालन गरिएको लघुवित्त कर्जा तथा विनाशकारी भूकम्पबाट पीडितका लागि सञ्चालन गरिएको सुलभ घर कर्जा कार्यक्रमबाट ०७५ असार मसान्तसम्म ३ अर्ब ७६ करोड ७८ लाख ७७ हजार कर्जा प्रवाह गरिएको छ,’ कोषको प्रतिवेदनमा छ । नयाँ पत्रिकामा प्रकाशित समाचार। 

Ad