Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

चिनियाँ बैंकका शाखा विस्तार गर्न अर्थमन्त्रीको आग्रह

२०७५ माघ २१ गते

अर्थमन्त्री डा. युवराज खतिवडाले चिनियाँ राजदूतसमक्ष नेपालमा चिनियाँ बैंकका शाखा विस्तार गर्न आग्रह गरेका छन् । हाल चिनियाँ बैंक नेपालमा नहुँदा भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न अप्ठ्यारो परेको भन्दै डा. खतिवडाले आइतवार अर्थ मन्त्रालयमा चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा सो आग्रह गरेका हुन् । राजदूत होउ यान्छीले यसबारे आवश्यक छलफल गर्न चीन सरकार तयार रहेको बताइन् ।

भेटमा अर्थमन्त्री डा. खतिवडाले दुई देशबीच हुने अनौपचारिक व्यापारलाई औपचारिक रूपमा रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन् । दुवै देशका आपसी पारस्परिक व्यापारिक सम्झौतालाई समयसापेक्ष परिमार्जन र सुधार्न आवश्यक भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा भएका सम्झौता अघि बढाउने विषयमा समेत चिनियाँ राजदूतको ध्यानाकर्षण गराए ।

सो क्रममा राजदूत यान्छीले चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनका अनुसार सम्मेलनमा धेरैभन्दा धेरै चिनियाँ लगानीकर्तालाई सहभागी गराउन आवश्यक सहयोग गर्न चीन सरकार प्रतिबद्ध छ । आर्थिक अभियानमा प्रकाशित समाचार ।

Ad