चालु आर्थिक वर्षको मंसिरसम्म उच्च आयातका कारण वैदेशिक मुद्रामा चाप परेपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ। मुलुकको मौद्रिक जिम्मेवारी सम्हालेको राष्ट्र बैंकले आयात उच्च हुँदा मुलुकको शोधनान्तर बचत खुम्चिँदै गएको भन्दै विलासीसहित अन्य केही वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउन सरकारलाई सुझाव दिएको हो।
राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले आयातित वस्तुले अर्थतन्त्रमा पारेको असरबारे विश्लेषण गरेर सरकारलाई आयातमा परिमाणात्मक बन्देज लगाउन सुझाव दिएको जानकारी दिए। ‘कुन वस्तुको आयात कति मात्रामा बढेको छ। र त्यसले अर्थतन्त्रमा कस्तो प्रभाव पारेको छ भन्ने विस्तृत विवरण सरकारलाई दिएका छौं,’ भट्टले आइतबार भने, ‘सरकारले थप हेरेर अनावश्यक र विलासी वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउन सक्नेछ।’
केही दिनअघि वाणिज्य मन्त्रालयले पनि सरकारलाई विभिन्न वस्तुको आयात रोक्न वा परिमाणात्मक बन्देज लगाउन सुझाव दिएको थियो। चालु आवको पाँच महिनामा मुलुकको शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोड घाटामा छ। माघमा यो एक खर्ब हाराहारी पुग्ने राष्ट्र बैंकको अनुमान छ। उच्च आयातकै कारण शोधनान्तर स्थितिमा चाप परेको हो। शोधनान्तर स्थितिमा चाप पर्दा विदेशी मुद्रा सञ्चिति घटेको छ। मंसिरसम्म चालु खाता घाटा १ खर्ब १९ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष मंसिरमा यस्तो घाटा ६४ अर्ब ११ करोड रुपैयाँ थियो।
राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले आयातित वस्तुले अर्थतन्त्रमा पारेको असरबारे विश्लेषण गरेर सरकारलाई विलासी वस्तु आयातमा परिमाणात्मक बन्देज लगाउन सुझाव दिएको जानकारी दिए ।
उच्च आयातले समस्या पार्न सक्ने अनुमान गरेर सरकारले राष्ट्र बैंकलाई अनुसन्धान गरी सुझाव दिन निर्देशन दिएको थियो। सरकारले अत्यावश्यकबाहेक विलासी र अन्य वस्तु आयात नियन्त्रण गर्न राष्ट्र बैंकसँग तथ्यांक मागेको थियो।
भट्टका अनुसार सवारीसाधन र पार्टपुर्जा, पेट्रोलियम पदार्थ, सुन, कस्मेटिक सामान, चामललगायत विभिन्न वस्तुको आयात उच्च देखिएको र त्यसैअनुसारको जानकारी सरकारलाई दिइएको छ। महँगा गाडी, महँगा मोटरसाइकल, खेलौना तथा कस्मेटिक्सका केही सामान, गुट्खा, खैनीजस्ता वस्तुको आयात नियन्त्रण गर्न पनि सुझाव दिइएको छ। नागरिक दैनिकमा प्रकाशित सामाचार।