Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

अर्थतन्त्र कमजोर बन्दा के गर्दै छ सरकार?

२०७५ माघ २० गते

बाह्य क्षेत्र कमजोर बन्दै गएपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ । लक्जरी गाडी, सुनचाँदी, मदिरा, कस्मेटिक्स, मोबाइललगायत विद्युतीय सामग्रीलगायतको आयातलाई निरुत्साहित गर्ने तयारी गरिरहेको अर्थ मन्त्रालयका सल्लाहकार रामशरण खरेलले बताए । 

खासगरी बाह्य क्षेत्र कमजोर हुँदै गएपछि सरकार केही अत्तालिएको देखिएको छ, जसका कारण विदेशबाट नेपालीले ल्याउने रक्सी, सुनचाँदी र गरगहना, मोबाइललगायत विद्युतीय सामग्रीलगायतमा समेत कडाइ गर्न थालेको छ । बाह्य क्षेत्र असन्तुलन बढ्दै गएपछि सरकारले विदेशी लगानी तथा ऋण भित्र्याउन विशेष पहल गरिरहेको छ । आगामी मार्चमा सरकारले लगानी सम्मेलन गर्दै छ । त्यस्तै, केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामार्फत विदेशी ऋण भित्र्याउन समेत जोड दिइरहेको छ ।

आर्थिक वृद्धिलाई सघाउने आयात बढेको छ 
 -डा. गुणाकर भट्ट, कार्यकारी निर्देशक 
तथा अनुसन्धान विभाग प्रमुख, नेपाल राष्ट्र बैंक

चालू खाता तथा शोधनान्तर अवस्थालाई हेर्दा हाम्रो बाह्य क्षेत्रमा केही दबाब परेको देखिन्छ । तर, आधारभूत रूपमा हेर्दा अहिले पनि बाह्य क्षेत्र सुविधाजनक नै छ । मुख्यतः उच्च आयातका कारण बाह्य क्षेत्र नेगेटिभ देखिएको हो । यद्यपि, आयात पनि उच्च आर्थिक वृद्धिलाई सघाउने किसिमको छ । पाँच वर्षअघि पुँजीगत वस्तुको आयात १२ प्रतिशत थियो, अहिले १७ प्रतिशत पुगेको छ । ठूला–ठूला मेसिनरी, हवाईजहाज, डोजर, औद्योगिक कच्चा पदार्थलगायत सामग्रीको आयात उच्च छ । यसले उत्पादकत्व बढाउँछ, ग्रोथलाई सघाउँछ । 

अर्थतन्त्र डामाडोल भएको छैन, सजगचाहिँ हुनुपर्छ
 रामशरण खरेल, 
सल्लाहकार, अर्थ मन्त्रालय

हाम्रो अर्थतन्त्रको बाह्य क्षेत्र बाहिर भनिएजस्तो डामाडोल भएको छैन । चिन्ताजनक पनि छैन, तर सजगचाहिँ हुनुपर्छ । अर्थ मन्त्रालय यस विषयमा सचेत छ । विश्वमै प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह २२–२३ प्रतिशतले घटेको छ, जसको असर नेपालमा पनि देखिएको छ । यद्यपि, एफडिआई प्राप्ति र परियोजना पाइपलाइनमा छन्, केही समयममा एफडिआई बढेको देखिनेछ । विदेशी ऋण तथा अनुदान केही कम भएको छैन, शोधभर्ना हुन बाँकी भएको हो । उच्च आयातका कारण व्यापार घाटा बढी देखिएको हो, तर आयातको ठूलो हिस्सा आर्थिक वृद्धिलाई सघाउने किसिमको छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार।

Ad