November 23rd, 2018

बीमा : बीमाको आबश्यकता, महत्व र इतिहास

बैंकिङ खबर / ‘बीमा’ शब्द फारसीबाट आएको शब्द हो । जसको अर्थ हुन्छ– ‘भावार्थ’ अर्थात ‘जिम्मेवारी लिनु ।’ तर विभिन्न विश्लेषकहरुले बीमालाई जोखिम हस्तान्तरणको रुपमा पनि व्याख्या गर्ने गरेका छन् । बीमा भनेको आर्थिक नोक्सान हुँदा दिइने क्षतिपुर्तिको ग्यारेन्टी हो । तर बीमा गर्दा बिमित र बीमकबीच सम्झौता हुन्छ । कसैलाई पनि भोली के हुँदैछ भन्नेबारे थाहा हुँदैन । तर अचानक भोली जे पनि हुन सक्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुन सक्छ । त्यही सम्भावित जोखिमको भरणपोषण गर्न गरिने एक प्रकारको सम्झौता बीमा हो । 
खासगरि बीमा दुई प्रकारमा बीमा गर्न सकिन्छ :

१. जीवन बीमा
बीमा समितिले बीमा भनेको व्यक्तिको आयुको आधारमा किस्ताबन्धी बुझाउने गरी कुनै खास रकम तिरेमा निजले वा निजको मृत्यु भएको अबस्थामा निजको हकवालाले कुनै खास रकम पाउने गरी गरिने करार सम्बन्धी कारोबार भनेर उल्लेख गरेको छ । जीवन बीमा पनि मुख्य गरी तीन वर्गका हुन्छन् ।

क) आजीवन जीवन बीमा
बीमा निश्चित अवधिका लागि गरिन्छ । आजीवन जीवन बीमामा निर्धा्रित अवधिसम्म बिमितले बीमाशुल्क भुक्तानी गर्दै जान्छ । बिमितको मृत्यु भएपछि निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्छ । यस्तो योजनामा बीमा अवधि सकिएपछि बिमितले बिमा शुल्क तिर्नुपर्दैन र मृत्यु नभएसम्म उसले रकम पनि फिर्ता पाउँदैन । यद्यपि बीमा अवधि अगावै बिमितको मृत्यु भएमा इच्छाएको व्यक्तिले एकमुस्ट रकम भने पाउँछ । यस्तो खालको योजना खरिद गर्दा बीमाशुल्क सस्तो पर्छ ।

ख) सावधिक जीवन बीमा
निश्चित अवधिसम्ममा बिमित जीवित रहेको अवस्थामा एकमुस्ट रकम प्राप्त गर्ने, यदि बिमितको मृत्यु भएको अवस्थामा निजले इच्छाएको व्यक्तिले एकमुस्ट रकम प्राप्त गर्ने योजना सावधिक जीवन बीमा योजना हो । यो योजनाअनुसार तोकिएको अवधिसम्ममा बिमितले बीमाशुल्क बुझाउनुपर्छ । बीमा अवधि समाप्त भएपछि बिमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्छ । बीमा अवधि समाप्त नहुँदै बिमितको मृत्यु भएमा बिमांक रकम र सो अवधिसम्म भुक्ता भएको बीमाशुल्कको बोनस रकम इच्छाएको वा हकवालाले प्राप्त गर्छ । त्यस्तै दोहोरो दुर्घटना लाभसमेत योजनामा समेटिएको भएमा दुर्घटना रकम पनि प्राप्त हुन्छ ।

ग) म्यादी जीवन बीमा
सीमित अवधिका लागि मात्रै यस्तो खालको बीमा गरिन्छ । बीमा अवधिसम्म बिमितले बीमाशुल्क भुक्तानी गर्छ । बीमा अवधिभित्रमा बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले बिमांक रकम र बोन प्राप्त गर्छ । तर बीमा अवधिभित्रमा बिमितको मृत्यु नभएमा रकम फिर्ता हुँदैन । यस्तो योजनाको बीमाशुल्क पनि कम हुन्छ ।

२. निर्जीवन बीमा
जीवन बीमा बाहेक चल–अचल सम्पत्ति जस्तै घर, उद्योग कलकारखाना, सवारी साधन आदीको बीमा निर्जीवन बीमा हो । यस किसिमका बीमा अन्तर्गत दुर्घटना, औषधी उपचार खर्च, तेस्रो पक्ष दायित्व, उत्पादन दायित्व, विदेश यात्रामा पर्ने जोखिम लगायातको बीमा हुन्छ । दुर्घटना, आगलागी, चोरीलगायत विभिन्न किसिमका प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षतिको क्षतिपुर्ति प्राप्त गर्न तथा जोखिमबाट हुन सक्ने सम्भाव्य नोक्सानीको क्षतिपूर्ति वा राहत पाउन बीमा गर्ने गरिन्छ । पछिल्लो समय सरकारले कृषिअन्तर्गत पशुबीमा पनि ल्याएको । भौतिक सम्पति, उत्पादनमुलक बाली तथा व्यवसायमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बीमाको क्षेत्र विस्तार भईरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]