बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जा स्वीकृत उद्देश्यभन्दा फरक काममा प्रयोग गरिएमा त्यसलाई सामान्यतया कर्जा दुरुपयोग भनिन्छ। बैंकले कर्जा प्रवाह गर्दा व्यवसाय विस्तार, उद्योग सञ्चालन, कृषि उत्पादन, घर निर्माण, सवारी साधन खरिद वा अन्य निश्चित उद्देश्यका लागि रकम उपलब्ध गराएको हुन्छ। तर ऋणीले उक्त रकम सम्झौतामा उल्लेख गरिएको प्रयोजनभन्दा बाहिर प्रयोग गरेमा बैंकले त्यसलाई कर्जा दुरुपयोगको रूपमा हेर्न सक्छ।
नेपालको बैंकिङ क्षेत्रमा पछिल्ला वर्षहरूमा बढ्दो खराब कर्जा र वित्तीय जोखिमका कारण कर्जा उपयोगको अनुगमनलाई कडाइ गरिएको छ। बैंकहरूले कर्जा प्रवाहपछि रकम कहाँ र कसरी खर्च भयो भन्ने विषयमा नियमित निगरानी गर्ने गरेका छन्। अनुगमनका क्रममा कर्जा दुरुपयोग भएको प्रमाण फेला परेमा ऋणीमाथि कारबाही हुन सक्छ।
सम्भावना र सपना पुरा गर्न बैंक वा वित्तीय संस्थाबाट कर्जा लिने परिपाटी अहिले सर्वसाधारणदेखि व्यवसायीहरूमा सामान्य जस्तै बनिसकेको छ। तर, योजनाबिना, वास्तविक क्षमता नबुझी, र आवश्यक अध्ययन नगरी लिइएको कर्जा भविष्यमा गम्भीर आर्थिक बोझ बन्नसक्छ।
कर्जाले दिने अवसर र चुनौती
कर्जा स्वयंमा नकारात्मक होइन। समयमै तिर्न सक्ने हिसाबले, स्पष्ट योजना, र लगानीबाट प्रतिफलको सुनिश्चितता छ भने यसले आयआर्जनको सशक्त माध्यम बन्न सक्छ। तर, आम मानिसहरूले व्यक्तिगत खर्च, वैवाहिक उत्सव, सवारीसाधन खरिद, या विदेशी शिक्षा जस्ता उद्देश्यका लागि कर्जा लिने गर्दछन्। यीमध्ये धेरैले न त सही योजना बनाउँछन्, न त तिर्ने क्षमताको ठोस मूल्यांकन।
साना व्यवसायीहरूको जोखिम
विशेष गरी साना व्यवसाय सञ्चालन गर्न खोज्नेहरू तयारीविना ऋण लिएर सञ्चालन सुरु गर्दछन्। बजारको अवस्था नबुझी, प्रतिस्पर्धाको मूल्यांकन नगरी, र व्यवसायिक सल्लाह बिना उठाइएको कर्जा व्यापार बन्द हुँदा दोब्बर भार बन्छ। यस्तो अवस्थामा तिर्न नसकेको कर्जाले कानुनी कारवाही, सम्पत्ति लिलामी, र मानसिक तनावसमेत निम्त्याउन सक्छ।
अनियन्त्रित उपभोक्ता कर्जा
नेपालमा पछिल्ला वर्षहरूमा उपभोक्ता कर्जाको मात्रा तीव्र रूपमा बढेको छ। घर, गाडी, मोबाइल, टुर प्याकेज जस्ता उपभोग्य वस्तुहरू कर्जामा किन्ने प्रवृत्तिले व्यक्तिगत अर्थतन्त्रमा अस्थिरता ल्याएको छ। ब्याजदरको उतारचढाव, आयश्रोतमा अनिश्चितता, र महँगीको बढ्दो प्रभावले कर्जा तिर्ने क्षमता घटाउँदै लगेको देखिन्छ।
कर्जाको सदुपयोग गरौं
नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जाको सदुपयोग गर्न आग्रह गरेको छ । व्यवसायको उन्नति र प्रवद्र्धनका लागि व्यावसायिक कर्जाको सदुपयोग गर्न आग्रह गरेको हो ।
राष्ट्र बैंकका अनुसार यस्तो कर्जा मेसिन खरिद, व्यवसाय स्तरोन्नति, अद्यावधिक, विस्तार तथा नयाँ व्यापारिक अवसर सिर्जना गर्नका लागि उपयोगी हुन्छ । तर, यस किसिमको कर्जा पर्याप्त योजना र तयारी बिना लिइएमा आर्थिक बोझ बन्न सक्ने सम्भावना रहेको जनाएको छ ।
‘व्यावसायिक कर्जा विलासिता होइन, प्रगतिको आधार हो,’ राष्ट्र बैंकले भनेको छ, ‘त्यसैले कर्जालाई सही ठाउँमा लगानी गरौं र आर्थिक अनुशासन अपनाउँदै आफ्नो तथा परिवारको वित्तीय छवि उज्यालो बनाऔं।’ कर्जा लिनुअघि आवश्यक योजना, व्यावसायिक जोखिमको मूल्याङ्कन र तिर्न सक्ने क्षमताबारे स्पष्ट समझदारी आवश्यक छ ।
के–के गरेमा दुरुपयोगको अभियोग लाग्छ ?
कर्जा दुरुपयोग हुने प्रमुख अवस्था भनेको व्यवसाय सञ्चालनका लागि लिइएको ऋण व्यक्तिगत खर्चमा प्रयोग गर्नु हो। उदाहरणका लागि उद्योग सञ्चालनका लागि लिएको रकम घरजग्गा खरिद, विलासी वस्तु किन्न, वैदेशिक भ्रमण गर्न वा अन्य व्यक्तिगत प्रयोजनमा खर्च गरियो भने त्यो दुरुपयोग मानिन्छ।
त्यस्तै, एउटा बैंकबाट व्यवसायका लागि लिएको ऋण अर्को बैंकको पुरानो ऋण तिर्न प्रयोग गर्नु पनि दुरुपयोगको दायरामा पर्न सक्छ, विशेषगरी बैंकलाई जानकारी नदिई वा स्वीकृति नलिई गरिएको अवस्थामा। यसलाई वित्तीय अनुशासनविपरीतको गतिविधिका रूपमा हेरिन्छ।
कर्जा लिएर सेयर बजार, घरजग्गा कारोबार वा अन्य जोखिमयुक्त क्षेत्रमा लगानी गर्नु पनि दुरुपयोग हुन सक्छ, यदि बैंकले त्यस प्रयोजनका लागि कर्जा स्वीकृत गरेको छैन भने। उदाहरणका लागि कृषि कर्जा लिएर सेयर खरिद गरियो भने बैंकले त्यसलाई कर्जा दुरुपयोगको रूपमा लिन सक्छ।
झुट्टा विवरण, नक्कली बिल, फर्जी कारोबार वा कृत्रिम वित्तीय विवरण पेश गरेर कर्जा प्राप्त गर्नु पनि गम्भीर दुरुपयोग मानिन्छ। कतिपय अवस्थामा ऋणीले व्यवसाय विस्तार भएको देखाउन नक्कली कागजात तयार गरी बैंकबाट बढी रकम निकाल्ने प्रयास गर्ने गर्छन्। यस्तो कार्य वित्तीय अनुशासन उल्लंघन मात्र नभई कानुनी अपराधसमेत हुन सक्छ।
धितो राखिएको सम्पत्ति बैंकको अनुमति बिना बिक्री गर्नु, हस्तान्तरण गर्नु वा पुनः अन्यत्र धितो राख्नु पनि दुरुपयोगको श्रेणीमा पर्न सक्छ। यसले बैंकको सुरक्षण अधिकारमा असर पुर्याउने भएकाले गम्भीर विषय मानिन्छ।
त्यसैगरी, कार्यशील पुँजी कर्जा लिएर व्यवसायमा प्रयोग नगरी अन्यत्र लगानी गर्नु, परियोजना कर्जा स्वीकृत भएको रकम परियोजनाबाहेकका क्षेत्रमा खर्च गर्नु वा बैंकलाई गलत जानकारी दिई रकम निकाल्नु पनि कर्जा दुरुपयोगका उदाहरण हुन्।
कर्जा दुरुपयोग प्रमाणित भएमा बैंकले ऋण तत्काल असुली प्रक्रियामा लैजान सक्छ। कर्जाको वर्गीकरण खराब कर्जामा हुन सक्छ, थप कर्जा सुविधा रोक्न सक्छ, ब्याज तथा जरिवाना बढाउन सक्छ र आवश्यक परे कानुनी कारबाहीसमेत अघि बढाउन सक्छ। गम्भीर प्रकृतिका घटनामा बैंकिङ कसुर तथा ठगीसम्बन्धी कानुनी व्यवस्था आकर्षित हुन सक्छ।
त्यसैले कर्जा लिँदा उल्लेख गरिएको उद्देश्यअनुसार नै रकम प्रयोग गर्नु, खर्चको अभिलेख राख्नु र बैंकसँग पारदर्शी सम्बन्ध कायम गर्नु अत्यन्त आवश्यक हुन्छ। कर्जा सही रूपमा उपयोग भएमा व्यवसाय विस्तार, उत्पादन वृद्धि र आर्थिक गतिविधि सुदृढ हुन्छ; दुरुपयोग भएमा भने ऋणी, बैंक र समग्र अर्थतन्त्र तीनै पक्ष प्रभावित हुन सक्छन्।




