बैंक शाखा व्यवस्थापन 

November 13, 2018

रमेश कुमार पोखरेल । व्यापारी, साहु र सुनारहरुआधुनिक बैंकका पूर्वज हुन् । यिनीहरुले एउटा कालखण्डमा मुद्रासंग सम्वन्धित थुप्रै कारोवार र अभ्यास गरे । धेरै समयको अभ्यास पछि मात्र चेक, ड्राफ्ट, रसिद जस्ता आधुनिक वित्तीय उपकरणहरुको विकास र विस्तार भयो । यस्ता उपकरणहरुको विकास संगै आधुनिक बैंक स्थापनाको आधार बनेको हो । आधुनिक बैंकिंग व्यवस्था अहिले उत्कर्षमा रहेको छ, यसले विश्वव्यापी मान्यता पाउनुका साथै अन्तर्राष्ट्रिय असल अभ्यासहरुबाट व्यवस्थित छ । 

बैंकिंग व्यवसाय मुद्राको कारोवार संग सम्वन्धित विशिष्ट प्रकृतिको व्यवसाय हो । बचतको क्षेत्रबाट निक्षेपको रुपमा मुद्रा संकलन गरी न्यून क्षेत्रतर्फ कर्जाको रुपमा प्रवाह गर्नु नै बैंकको प्रमुख काम हो । वित्तीय मध्यस्थकर्ताको रुपमा गरेको यस्तो कामबाट बैंकलाई रकम प्राप्त हुन्छ, जसलाई व्याज आम्दानी भनिन्छ । यस बाहेक बैंकले रकमान्तर, ग्यारेण्टी लगायतका अन्य वित्तीय सेवाहरुकोबिक्रीबाटआम्दानी गर्दछ । बैंकले गर्ने अधिकांश कामहरु शाखा मार्फत सम्पादन हुन्छन् र आम्दानीको श्रोत पनि शाखा नै हो । 

बैंकका शाखाहरुको संख्याले वित्तीय पहँुच र कारोवारको आयतन निर्धारण गर्दछ । शाखा संख्याले नै बैंक कति ठूलो छ भन्ने कुरा दर्शाउँछ । बर्तमान समयमा सूचना प्रविधिको विकास र बैंकिंग क्षेत्रमा यसको प्रयोगले परम्परागत रुपमा सञ्चालित शाखाहरुलाई चुनौती दिएको छ । सेवा प्रवाह गर्ने माध्यम र तौरतरिका परिवर्तन भएका छन् । यसै तथ्यलाई इगिंत गर्दै बील गेट्स ले बैंकिंग आवश्यक छ तर बैंक होइन भनेका छन् । शाखा संख्यामा कमी तथा सेवा प्रवाहको माध्यममा परिवर्तन भएपनि शाखा नै नरहने भन्ने कुरा पनि सम्भव छैन । सामान्यतः बैंक शाखाले तल उल्लेख गरे बमोजिमका कामहरु गर्दछन्ः

१. निक्षेप संकलन र भुक्तानी व्यवस्था : बैंकको सवैभन्दा ठूलो र दीगो वित्तीय श्रोत नै निक्षेप हो । ग्राहकहरुबाट लिइएको त्यो धन जसलाई फिर्ता गर्ने दायित्व बैंकमा हुन्छ, लाई निक्षेप भनिन्छ । निक्षेप आवधिक, चल्ती र यी दुबैका गुणहरुको मिश्राणबाट बनेको बचत गरी मुख्यतः तीनवटा हुन्छन् । बैंकले ग्राहकहरुको रुची, तरलताको अवस्था र रणनीति अनुसार यिनै निक्षेप प्रोडक्टहरुमा परिमार्जन गरी विभिन्न नाममा निक्षेप संकलनको काम गर्दछ । 

निक्षेप अर्थतन्त्रको विस्तार र संकुचनसंग सम्वन्धित हुन्छ । नेपालमा सरकारी खर्च, विदेशबाट प्राप्त रेमिटान्स, पर्यटन व्यवसायबाट प्राप्त आम्दानी, वस्तु तथा सेवा निर्यातबाट प्राप्त रकम निक्षेपका श्रोत हुन् । यस्ता श्रोतहरु बृद्दि भए तरलता सहज हुने र नभए असहज हुने गरेको छ । 

बैंक शाखाको प्रमुख काम पनि निक्षेप संकलन नै हो । बैंक शाखाले उचित मुल्य, परिमाण र संरचनालाई ख्याल गरी निक्षेप संकलन गर्दछ । निक्षेप प्रोडक्टहरुको प्रचार प्रसार, खाता खोल्ने, चेकको संकलन, भुक्तानीका विधि तथा प्रक्रियाहरु व्यवस्थित गरी सही व्यक्तिलाई भुक्तानी दिनेदेखि खाता बन्दसम्मको कार्य शाखाबाटै सम्पादन हुन्छन् । 

२. कर्जा व्यवस्थापन : कर्जा र निक्षेप एक अर्काका सन्तान हुन् । कर्जाको माग अर्थतन्त्रको विस्तार, आर्थिक गतिविधि, औद्योगिक एवम् व्यवसायिक वातावरण आदिबाट प्रभावित हुन्छ भने पूर्ति निक्षेपको स्थितिसंग सम्वन्धित हुन्छ । कर्जाका विभिन्न प्रयोजन र नाम भएपनि आवधिक र चालु गरी मुलतः दुई प्रकारका हुन्छन् । बैंकको वासलातको सम्पति तर्फ सवैभन्दा ठूलो हिस्सा ओगटेको  कर्जाबाट प्राप्त हुने व्याज नै बैंकको आम्दानीको प्रमुख श्रोत हो । कर्जाको श्रोत निक्षेप हो । निक्षेपकर्तालाई तोकिएको समयमा तोकिएको रकम भुक्तानी गर्न बैंक हरहमेसा तयार रहनु पर्दछ । त्यसैले बैंकले प्रवाह गर्ने कर्जा पनि गुणस्तरिय हुनु पर्दछ । तोकिएको समयमा फिर्ता हुने विश्वासिलो आधार हुनुपर्दछ । 
कर्जा लगानी, असूली, कागजात व्यवस्थापन, अभिलेख व्यवस्थापन, जन सम्पर्क, प्रतिवेदन, पृष्ठपोषण आदि काम बैंक शाखाबाट सम्पादन हुन्छन् ।स्थानिय स्तरको व्यवसायिक सम्भाव्यता, उचित ग्राहकको पहिचान, उनीहरुको वित्तीय आवश्यकताको यकीन, विभिन्न कोणबाट विश्लेषण, कर्जा स्वीकृतिका लागि सिफारिस तथा स्वीकृति, महत्वपूर्ण कर्जा कागजातहरुको व्यवस्थापन, कर्जाको लेखा व्यवस्था र असूली सम्मका कामहरु शाखाबाटै सम्पन्न हुन्छन् ।

३. रकमान्तर : ग्राहकहरुको अनुरोधमा विभिन्न वित्तीय उपकरणहरुको प्रयोग गरी एक खातामा भएको रकम अर्को खातामा र एक ठाउँमा रहेको रकम अर्को ठाउँमा रकमान्तर गरिदिने काम बैंकको अर्को महत्वपूर्ण काम हो । यसबाट बैंकले कमिसन प्राप्त गर्दछ भने विना लागतको तरलता उपलव्ध हुन्छ ।  यसमा बैंकका शाखाहरु प्रत्यक्ष रुपमा संलग्न हुन्छन् । चेक, ड्राफ्ट, वायर ट्रान्सफर, मोबाइल, इन्टरनेट जस्ता माध्यमबाट हुने रकमान्तर आन्तरिक र बाह्य अनि देश भित्र र अन्तरदेशीय जे पनि हुन सक्छ । 

४. सम्पति व्यवस्थापन : बैंक शाखा सञ्चालनको लागि विभिन्न प्रकारका सम्पतिहरुको प्रयोग गरिएको हुन्छ । त्यस्ता सम्पतिहरु जग्गा, भवन, फर्निचर फिक्स्चर्स, कम्प्युटर, कार्यालय उपकरणहरु हुन सक्छन् । सम्पतिको पहिचान, खरीद, उपयोग, मर्मत संभार, बिक्री सम्मका हरेक क्रियाकलापमा बैंकको उच्चतम हित कायम राख्दै  लेखा व्यवस्था दुरुस्त राखी संरक्षण गर्ने काम शाखा कार्यालयले गर्दछ । 

५. नगद व्यवस्थापन : बैंक शाखामा निक्षेपको रुपमा, सावाँ तथा व्याज असूलीबाट, अन्य आम्दानी र रेमिटान्स प्रयोजनको लागि नगद भित्रिन्छ भने शाखाबाट निक्षेपको भुक्तानी, कर्जा लगानी, विभिन्न प्रकारका खर्च र रेमिटान्सको भुक्तानी कार्यको लागि नगद बाहिरिन्छ । यसरी नगद भित्रिने र बाहिरिने कामबाट शाखाको ढुकुटीमा नगद बढी वा घटी हुन सक्छ । कारोवारको प्रकृति तथा आवश्यकता हेरी केही रकम शाखाकै ढुकुटीमा राखी बढी भएको नगद केन्द्रीय बैंक, आफ्नै बैंकको अर्को शाखा वा तोकिएको कुनै बैंकमा स्थानान्तर गरिन्छ भने कम भए ल्याउने काम गर्दछ । ढुकुटीमा रहेको हरेक रुपैयाको लागि व्याज, होल्डिंग कष्ट, बीमा लगायतका लागत समावेश हुने भएकोले उपयुक्त स्तर सम्म मात्र नगद राख्नु पर्दछ । फण्ड ट्रान्सफर नै नगद व्यवस्थापनको प्रमुख औजार हो । 

६. मानव संशाधन व्यवस्थापन : बैंक शाखामा प्रवन्धक, सहायक प्रवन्धक र आवश्यक संख्यामा टेलर, अफिसर कार्यरत हुन्छन् । सवै कर्मचारीहरुको सामूहिक प्रयासबाट मात्र शाखालाई अगाडि बढाउन सकिन्छ । शाखाको मानव संशाधन व्यवस्थापन कार्य सञ्चालन स्तरको हुन्छ । उपलव्ध कर्मचारीहरुको रुची, इच्छाशक्ति, क्षमता, दक्षता, नियत आदिको पहिचान गरी सोही अनुरुपको जिम्मेवारी दिएमा मात्र अधिकतम लाभ लिन सकिन्छ । शाखाको अनुशासन र कार्यवातावरण समेत अनुकुल बनाउने काम शाखा व्यवस्थापनले गर्दछ । शाखा व्यवस्थापनले उत्कृष्ट काम गर्ने कर्मचारीहरुको उचित मुल्यांकन गर्नुका साथै उपयुक्त अवसरहरुको लागि प्रयत्न गर्दछ । 

७. बजार व्यवस्थापन : स्थानीय स्तरमा भएका अवसर र चुनौतीहरु पहिल्याइ सोही बमोजिमको बजार रणनीति अख्तियार गरिन्छ । प्रतिस्पर्धीहरुले के कस्ता प्रोडक्टहरु के कति मूल्यमा बजारमा ल्याइरहेका छन्, तिनीहरुको प्रतिक्रिया कस्तो छ, आफूले कस्ता प्रोडक्टहरु के कति मूल्यमा कस्ता ग्राहकहरुलाई लक्षित गरी ल्याउने हो यकीन गरिन्छ । अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानिय बजारको विकास र प्रवृत्तिको अध्ययन विश्लेषण गरी उपयुक्त स्तरको व्यवस्थापकीय तहमा सुझाव तथा सिफारिस गरिन्छ । 

८. ग्राहक सन्तुष्टी : सेवा व्यापार गर्नेहरुले ग्राहकको सन्तुष्टीलाई उच्च प्राथमिकतामा राख्नु पर्दछ । उनीहरुले आशा गरेभन्दा उच्च स्तरको सेवा प्रवाह गर्न हर हमेसा तयार रहनु पर्दछ । बैंक शाखामा प्रवेश गर्ने ग्राहकहरुलाई मीठो बोलीले हार्दिकताका साथ स्वागत गर्दै उसलाई विशेष महत्व दिएको कुरामा विश्वास दिलाउनु पर्दछ । सजिलै संग गर्न सकिने कामलाई झन्झटिलो बनाउनु हुँदैन । कर्मचारीहरु समस्या खडा गर्ने नभई समाधानमुखी हुनुपर्दछ । सन्तुष्ट ग्राहकले लिएर जाने सन्देश नै बैंकको व्यवसायको आधार हो । यी कामहरु शाखाबाट सम्पादन हुन्छन् । 
९. लेखा व्यवस्था : बैंक शाखामा भएका विभिन्न वित्तीय क्रियाकलापका परिणामको रुपमा विभिन्न प्रकारका ब्लेखात्मक प्रविष्टी हुन्छन् । शाखा बैंकको लेखा केन्द्र हो । हरेकप्रविष्टी ठीक दुरुस्त भएको र हिसाव मिलान सही भएको कुरामा विशेष ध्यान पुर्याइएको हुन्छ । 

१०. प्रतिवेदन : शाखाले गरेका विभिन्न कारोवारबाट श्रृजना भएका विभिन्न प्रकारका विवरण तथा परिणमहरु माथिल्ला निकायहरुमा उपयुक्त समयमा शुद्धताका साथ सम्प्रेषण गरिन्छ । मौद्रिक तथा गैर मौद्रिक सूचनाहरु निर्णय प्रक्रिया र नीति निर्माणका लागि कच्चा पद्धार्थ हुन् । बैंकको समग्र अवस्थाको विश्लेषण गरी गुणस्तरिय निर्णयका लागि उपयोगी हुने यस्ता सूचनाहरु संवेदनशील हुने भएकोले प्रेषित गर्दा पनि संवेदनशील नै हुनु पर्दछ । शाखा कार्यालय यस कुरामा सचेत हुन्छ ।
बैंक शाखाका जनशक्ति

माथि उल्लेखित कामहरु गर्न शाखामा प्रवन्धक लगायत कार्यबोझको आधारमा विभिन्न कर्मचारीहरुको व्यवस्था गरिएको हुन्छ । बैंकमा काम गर्ने कर्मचारीहरु अन्यत्र काम गर्ने कर्मचारी भन्दा फरक हुन आवश्यक छ । अद्यावधिक ज्ञान, कडा मेहनत र लगन अनि इमान्दारिता बैंकका कर्मचारीमा हुनुपर्ने आधारभूत गुणहरु हुन् । बैंक शाखामा दैनिक र नियमित प्रकृतिका वित्तीय कारोवार गर्न सवैभन्दा धेरै संख्यामा टेलरको व्यवस्था गरिएको हुन्छ । बैंकको अग्र भाग काउण्टरमा रहने यी कर्मचारीहरुले ग्राहकहरुको निक्षेप स्वीकार गर्ने, भुक्तानी दिने, मुद्राको सटही गरिदिने लगायत नगदसंग सम्वन्धित सबै कामहरु गर्दछन् । यिनीहरु ग्राहक सहायता कक्षमा रही खाता खोल्ने, बन्द गर्ने, फर्म भर्न सघाउने लगायत ग्राहकहरुका प्रत्यक्ष वा फोन, इमेलबाट प्राप्त विभिन्न प्रकारका जिज्ञासा तथा प्रश्नहरुका जवाफ दिन तल्लिन हुन्छन् । उनीहरु बैंकको समग्र कारोवार र प्रोडक्टहरुका बारेमा जानकार हुन्छन् । 

ग्राहकबाट कर्जाका निवेदनहरु लिने, कागजी कामहरु पुरा गर्ने, फिन्ड भिजिट लगायत कर्जा कागजातको विश्लेषण र प्रशोधन गर्ने, कागजातको सुरक्षा, अभिलेख व्यवस्थापन, लेखा व्यवस्था र असूलीको काम कर्जा संग सम्वन्धित कर्मचारीबाट सम्पादन हुन्छन् । सूचना प्रविधि, प्रशासन, डाटा प्रविष्टि संग सम्वन्धित जनशक्ति समेत शाखा कार्यालयमा कार्यरत हुन्छन् ।

बैंक शाखामा प्रमुखको रुपमा शाखा प्रवन्धकको व्यवस्था गरिएको हुन्छ । प्रवन्धकले धेरै कुराको बारेमा सामान्य जानकारी राख्नु पर्दछ । उनीहरु लेखा प्रणाली र वित्तीय विवरणको बारेमा जानकार हुनुपर्दछ । ग्राहक सेवा र प्रोडक्टको विषयमा र मानव संशाधन व्यवस्थापन सम्वन्धी विषयमा समेत दखल भएको हुनुपर्दछ । शाखा प्रमुख भएको कारण शाखा भित्र हुने सवै प्रकारका कामहरु प्रति जिम्मेवार हुनुपर्दछ । शाखा प्रवन्धक सेल्स ओरियन्टेड हुनुका साथै बैंककासबै प्रकारका प्रोडक्टहरुका बारेमा समेत जानकार हुनुपर्दछ । प्रतिस्पर्धीका प्रोडक्टहरुको बारेमा पनि जानकारी राख्नु पर्दछ । भैरहेका प्रोडक्टलाई अद्यावधिक, संशोधन वा नयाँ प्रोडक्ट बनाउने विषयमा सम्वन्धित निकायमा पृष्ठपोषण दिनु पर्दछ । 

शाखा प्रवन्धकले आफ्ना कर्मचारीहरुलाई उत्प्रेरित र नेतृत्व प्रदान गर्न सक्नु पर्दछ । यसका लागि ऊ रोल मोडल हुनु पर्दछ । स्थानिय समुदायमा आफ्नो बैंकको प्रतिनिधित्व गर्न आवश्यक सञ्चार कुशलता हुन आवश्यक छ । बैंकका सवै कामहरुका बारेमा जानकार हुनु पर्दछ र कर्मचारीलाई कार्य सञ्चालन स्तरमा प्रशिक्षित गर्न सक्ने क्षमता राख्नु पर्दछ । श्रृजनशील र गतिशील हुनु पर्दछ । 

शाखामा भएका र हुने सम्पूर्ण कामको अन्तिम जिम्मेवारी प्रवन्धकको हुने भएकोले उसले आफ्ना सहायक वा कर्मचारीहरुलाई उनीहरुको रुची, क्षमता, दक्षता अनुरुपको जिम्मेवारी प्रत्योजन गरी प्रचलित नीति, प्रक्रिया अनुरुप कार्य सम्पादन गरेको कुरामा यकीन हुनु पर्दछ । कामहरु सुचारु रुपले सञ्चालन भएका छन्, सुरक्षा बन्दोबस्त उपयुक्त छ, शाखाको भौतिक अवस्था ग्राहक तथा कर्मचारी मैत्री छ भन्ने कुरामा प्रवन्धक सुनिश्चित हुनुपर्दछ । अनुकुल कार्य वातावरणको निर्माण, शाखामा सकारात्मक अन्तर बैयक्तिक सम्वन्धको स्थापना, असल अविभावकको भूमिका, जिम्मेवारी र अख्तियारी हस्तान्तरण, कर्मचारीको क्षमता, नियतको होसियारी पूर्वक अध्ययन, उत्प्रेरणाका विभिन्न उपकरणहरुको व्यवहारिक प्रयोग, कर्मचारीको संगठनात्मक एवम् व्यवहारिक समस्याहरुको पहिचान र समाधानको लागि प्रयत्न, राम्रा काम तथा प्रयासहरुको माथिल्लो निकायमा सञ्चार आदि गर्नु पर्दछ । 

बैंकको कार्य प्रक्रिया तथा नीतिको समग्र जानकारी, बैंकले प्रयोगमा ल्याएका सफ्टवेयर सम्वन्धमा सामान्य जानकारी, अनुगमन तथा मुल्यांकन सक्षमता आवश्यक हुन्छ । स्थानिय शाखामा दैनिक कार्य सञ्चालन  उपयुक्त ढंगले भएको छ, गा्रहक सेवाको स्तर राम्रो छ, प्रशासनिक क्रियाकलापहरु, बजार व्यवस्था, लगानी र सुरक्षा व्यवस्था मजबुत छ भनने कुरामा यकीन हुनु पर्दछ । शाखा बन्द गर्दा अर्को दिन शाखा खोल्नासाथ सञ्चालनको लागि तयार हुन्छ हुँदैन भन्ने कुरा निश्चित गर्नुपर्दछ । 

बैंक शाखामा उधारोमा निर्णय गर्ने वातावरण हुँदैन । दैनिक क्रियाकलापहरुमा आइपर्ने समस्याको कार्यस्थलमै तुरुन्त निर्णय गर्नुपर्ने हुन्छ । सूचनाहरुको संकलन, निर्णय प्रक्रियाका सकारात्मक र नकारात्मक पक्षको विश्लेषण गर्न थालेमा ग्राहकले बैंकलाई छोडिसकेको हुनेछ । निर्णय छिटो र सही हुनुपर्दछ, यसको लागि अनुभवको आवश्यकता हुन्छ । त्यसैले अनुभवी कर्मचारीहरुलाई मात्र शाखा प्रवन्धकको जिम्मेवारी दिइन्छ । 

सबल सञ्चार क्षमताले आफ्ना प्रोडक्टहरुको बिक्रीमा मद्दत गर्नुका साथै कार्य सम्पादनस्तर उन्नत बनाउन र तल,माथी, समानस्तरका कर्मचारीहरुसंग सम्वन्ध बढाउन समेत सहयोग पु–याउँदछ । प्रवन्धकले आफ्नो सञ्चार सीपलाई तिखारी राख्नु पर्दछ । बैंकिंग क्षेत्रमा भइरहेका नयाँ प्रोडक्ट तथा प्रविधिको विकासलाई नजिकबाट नियाली आफ्नो बैंकले भैरहेका सेवामा गर्न सक्ने सुधार र नयाँ सेवाको पहिचान र सम्भाव्यता सम्वन्धमा सम्वन्धित अधिकारीहरुलाई पृष्ठपोषण दिनु पर्दछ । बैंकिंग व्यवसाय जोखिमयुक्त व्यवसाय हो । काम गर्दा त्यसमा अन्तरनिहित जोखिमको बारेमा जानकारी हुनुपर्दछ । 

प्रवन्धक प्रक्रियामुखी मात्र भएर पुग्दैन । बैंकिंग एउटा व्यवसाय भएकोले परिणामले मात्र अर्थ राख्दछ । परिणाम वित्तीय विवरणमा झल्किनुपर्दछ । प्रवन्धकमा कुनै पनि कुराको तर्कपूर्ण विश्लेषण गर्न सक्ने, भविष्यलाई आँकलन गर्न सक्ने क्षमता हुनुपर्दछ । शाखामा हुने हरेक औपचारिक तथा अनौपचारिक विषयहरुको विस्तृत जानकारी हुनुपर्दछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *