
बेंकिङ खबर / नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवाको निरन्तरता कायम राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेको छ। राष्ट्र बैंकले जारी गरेको प्रेस विज्ञप्तिमार्फत रसुवालगायतका क्षेत्रमा आएको प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै सम्पर्कविहीन सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र तिनका परिवारजनप्रति सहानुभूति प्रकट गरेको छ।
विपद्बाट प्रभावित क्षेत्रमा बैंकिङ सेवा अविलम्ब सुचारु गर्न राष्ट्र बैंकले आवश्यक सहजीकरण गरिरहेको जनाएको छ। प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवाको निरन्तरता सुनिश्चित गर्न विद्युतीय माध्यमलगायत वैकल्पिक स्थानबाट सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ। त्यसैगरी, प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक वित्तीय स्रोत परिचालन गर्न बैंकले प्रोत्साहन गरेको जनाएको छ। विपद्को समयमा बैंक तथा वित्तीय संस्थाका ग्राहक, कर्मचारी तथा समुदायको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील रहन राष्ट्र बैंकले सम्बन्धित सबैलाई आग्रह गरेको छ। राष्ट्र बैंकले विपद्का कारण बैंकिङ पूर्वाधारमा क्षति पुगेका स्थानमा वैकल्पिक माध्यमबाट सेवा प्रवाहलाई प्राथमिकता दिन तथा प्रभावित नागरिकलाई आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशनात्मक आग्रह गरेको हो।