काठमाडौं । बाढीले बगाएर ल्याएको बैंकको सेफ फोडी त्यसभित्र रहेको रकम निकालेर बाँडेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनीहरूलाई करिब ९२ लाख रुपैयाँसहित पक्राउ गरेको हो। प्रहरीका अनुसार बाढीका कारण बैंकको सेफ बगेपछि त्यसलाई फोडेर रकम निकालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालका अनुसार घटनासम्बन्धी विस्तृत विवरणसहितको विज्ञप्ति जारी गर्ने तयारी भइरहेको छ। यसअघि रास्वपा सांसद आशिका तामाङले समेत बाढीले बगाएर ल्याएको बैंकको सेफ र त्यसबाट भएको रकम लुटपाटको विषय उठाएकी थिइन्। त्यसपछि प्रहरीले घटनामाथि अनुसन्धान अघि बढाएको हो।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।