October 31st, 2018

किसान माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद सेयर मंसिर २ देखि

बैंकिङ खबर । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले मंसिर २ गतेदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । पुस ८ गतेसम्म निष्काशन खुला रहने सेयरमा कात्तिक १२ गतेसम्म कायम  रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । 

किसान माइक्रोफाइनान्सले हाल कायम चुक्ता पूँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँको ५० प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरमा २ लाख ४० हजार दुई सय ५० कित्ता हकप्रद जारी गर्न लागेको हो । जसका लागि सिभिल क्यापिटल मार्केटलाई हकप्रद शेयर निष्काशनको बिक्री प्रबन्धक तोकिएको छ ।

हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय, मेरो शेयर तथा सिभिल क्यापिटल मार्केट सुन्धारा, किसान माईक्रोफाइनान्सको सम्पूर्ण शाखाहरु, तथा सिभिल बैंकको विराटनगर, पोखरा, नेपालगञ्ज, विरगञ्ज, नारायणघाट र बुटवल शाखा मार्फत आवेदन गर्न सकिने बिक्री प्रबन्धकले जनाएको छ ।

हकप्रद जारी गर्दा कम्पनीको पूँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्नेछ । माइक्रोफाइनान्सले गत आर्थिक बर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । एक करोड ३९ लाख ३५ हजार ५०० रूपैयाँ बोनस वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ८ करोड ६० लाख ९ हजार ५०० रुपैयाँ कायम हुनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]