बैंकिङ खबर । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले तीन लाख कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । सेयर निष्काशनका लागि संस्थाले एनआइबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
गणपतिले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड, जारी पुँजी १० करोड र चुक्ता पुँजी ७ करोड रहेको छ । सर्वसाधारणहरुलाई सेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पुँजी १० करोड हुनेछ ।
दुलेगौँडा तनहुँमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङमा २० वटा शाखा सञ्चालनमा ल्याएको छ ।